• ६ चैत २०८०, मङ्गलबार

चार लेन सडक निर्माणमा ढिलाइ

blog

गोकर्ण पौडेल 

तुलसीपुर, भदौ २८ गते । बबईदेखि तुलसीपुरसम्मको चार लेन सडक निर्माण कार्यको अवधि सकिएको एक वर्ष पुगेको छ तर सडक निर्माणको १० प्रतिशत मात्रै उपलब्धि देखिएको छ। 

२०७५ माघ १४ गते सम्झौता भई २०७८ जेठ ६ गतेभित्र सडक निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो। करिब २८ किलोमिटर रहेको यो सडकखण्डमा सहरी क्षेत्रमा चार लेन र अन्यत्र दुई लेन रहेको छ। भालुबाङ–बाग्दुला–भीमगिठे, चन्द्रौटा–कृष्णनगर, लमही–घोराही–तुलसीपुर सडक आयोजना कार्यालयका अनुसार एक अर्ब रुपियाँ बजेट लागतमा सम्पन्न गर्न आयोजना सुरु भएको थियो। 

भारतको तथ्य इन्जिनियरिङ कम्पनीले सडक निर्माणको जिम्मा लिएको थियो। उसले काम सुरु भएको एक वर्षभित्र सात प्रतिशत र बितेको एक वर्षभित्र तीन प्रतिशत मात्रै काम सम्पन्न गरेको छ। आयोजना प्रमुख अर्जुनकुमार बमले फेरि एक वर्ष समय अवधि थप्नका लागि प्रक्रिया अघि बढेको जानकारी दिनुभयो। तथ्य इन्जिनियरिङले सडक निर्माणका लागि सातवटा पेटी ठेकदार फेरेको छ। तथ्य इन्जिनियरिङको तर्फबाट अहिले श्रेष्ठ निर्माण कम्पनीले काम गरिरहेको छ। कम्पनीका प्रतिनिधि शेखर शर्माले २०८० साल असार मसान्तसम्म काम सक्ने दाबी गर्नुभयो। उहाँले दशैँसम्म खाल्टा पुर्ने र तिहार लगत्तै काम सुरु गरी अब सम्झौता अवधिमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । आयोजनामा बबईदेखि घोराही र घोराहीदेखि तुलसीपुर गरी दुई खण्डमा सडक निर्माण गर्ने ठेक्का सम्झौता छ।

बाइस जनाले ज्यान गुमाए

बबई–तुलसीपुर चारलेन सडक निर्माण सुरु भएपछि सडकमा परेका खाल्टाखुल्टीका कारण सवारी दुर्घटनामा परी २२ जनाको ज्यान गएको छ। नारायणपुरदेखि सर्रा, सर्रादेखि घोराहीसम्म सडकको दुवैतर्फ खनेका खाल्टा नपुर्दा दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ। घोराहीदेखि बबईमा पनि बनाइएको खाल्टा पुरिएको छैन। 

आयोजना सुरु भएदेखि २०७९ साल भदौसम्म उक्त सडक खण्डमा ५० भन्दा बढी सवारी दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाएका छन् भने ७८ जना घाइते भएका छन्।