• ६ चैत २०८०, मङ्गलबार

सत्ता गठबन्धनमा सिट बाँडफाँटबारे छलफल जारी

blog

काठमाडौँ, भदौ २८ गते । सत्ता साझेदार पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूबीच आगामी प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धनका तर्फबाट उम्मेदवारीको सिट विभाजनबारे सोमबार पनि छलफल जारी रह्यो।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको शीर्ष नेताको बैठक दिउँसो २ बजेसम्म निरन्तर छलफल जारी रह्यो तर केही क्षेत्रमा सहमति नजुट्दा औपचारिक निर्णय हुन सकेन। दिउँसो ३ बजेपछि सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताहरूको बैठक बसे पनि निष्कर्ष आएन। 

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूबीच सिट बाँडफाँटको विषयमा छलफल भइरहेको छ। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दुईपक्षीय, त्रिपक्षीय र सामूहिक छलफल प्रारम्भ भएको जानकारी दिनुभयो। निर्णयको नजिक पुगेको बताउँदै उहाँले सहमतिकै आधारमा निर्णयको औपचारिक घोषणा हुने जानकारी दिनुभयो। उहाँका अनुसार एउटै सिटमा दुई–तीनपक्षको दाबी छ। त्यसलाई समाधान गरेर गठबन्धनका तर्फबाट एउटै उम्मेदवार बनाउने प्रयासमा बैठक केन्द्रित रहेको बताउँदै उहाँले भन्नुभयो, “अहिलेको आवश्यकता सबैले लचिलो हुने हो। दलहरूको अडानका सन्दर्भमा सूक्ष्म ढङ्गले नै विश्लेषण गरेर अघि बढेका छौँ।”

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल भएको बताउनुभयो। उहाँले भन्नुभयो, “शीर्ष तहको बैठकमा कार्यदलले धेरै कुरा मिलिसकेको र कतिपय कुरा मिल्न बाँकी रहेको रिपोर्टिङ भयो। त्यस आधारमा सोमबारको छलफलमा यी सबै विषय टुङ्गोमा पुग्ने निर्णय गरेका छौँ। अधिकांश विषय निर्णयमा पुग्छौँ।”

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलसहितका नेताहरू सिट बाँडफाँटमा सहमति जुटाउन प्रयासरत हुनुहुन्छ।