परिवार चलाउने नै बालबालिका !

सन्तोष राउत
सोलुखुम्बु, वैशाख ३१ गते । घरको मुख्य मान्छे आमा तथा बुबा खेतीपाती लगाउन, पशु चौपायाको पालनपोषण गर्न, समाजमा भईरहने विभिन्न घटनाहरुमा सहभागी हुन र विकास निर्माणका कामहरु गर्नमै ठिक्क हुन्छ । उनीहरु फुर्सदिला कहिल्यै देख्दैनन् तर हातमा रकम भने कहिल्यै हात लाग्दैन । सामाजिक काम र घरधन्दामा मात्र व्यस्त यहाँका समुदाय घरमा चाहिने नुन खुर्सानी, तेल तथा खाद्यन्न लगायतको व्यवस्था गर्न बालबच्चामै निर्भर हुनु परेको छ ।

सोलुखुम्बुको कोशीपारिका गाविसहरु बुङ, छेस्काम र गुदेलमा यो अवस्था विद्यमान छ । गरीबी र अभावको पर्याय छेस्कामका बालबालिका हिड्नका लागि खुट्टा लाग्न साथ आफू अनुसारको डोको र तोक्मा बोकेर साहुको भारी खेप्न पुग्छन् । शुरुमा ओखलढेङ्गा तथा सल्लेरीदेखि छेस्कामसम्म भारी बोक्दै आएका उनीहरु हिजोआज गाडी आएपछि सोलुकै नेलेबाट भारी बोक्ने गर्छन् ।

आफ्नो तौलभन्दा तेब्बर तौलको भारी बोक्ने उनीहरुले पाँच दिनको अवधिमा पाँच सय रुपियाँसम्म कमाउँछन् । भारी बोक्न थालेको पाँच बर्ष वितिसकेको बताउने बुङका १४ बर्षीय मणिधन कुलुङ आफूहरुले भारी बोकेर नकमाए घरमा नुन तेल टुट्ने बताउँछन् , ‘हाम्रा बुबा आमा खेतीपातीमै व्यस्त, त्यहाँबाट भएको उत्पादन खानमै ठिक्क हुन्छ, हामीले भारी नबोके कहाँबाट आउँछ हामीलाई पैसा ?’
विद्यालय उमेरका यी बाल भारियाहरु अधिकाँशले विद्यालय छाडिसकेका हुन्छन् । पढे लेखेकाहरु पनि उनीहरु सँगसँगै भारी बोकिरहेको बताउने छेस्कामका राहुल कुलुङले भने ‘लाखौं रकम खर्चेर आईए, बीए पढेर पनि भारी नै बोक्नुपर्दोरहेछ भने हामीले किन पढ्ने ?’

पढाईमा खासै चासो नदिने यस भेगका बालबालिकाहरु आफै पनि परिवार कसरी सञ्चालन गर्ने प्रति चिन्तित देखिन्छन् । ९÷१० बर्षको उमेरपछि कतिले पढ्न पाए पनि धेरैजसोलाई भने परिवार सञ्चालन गर्ने दायित्व थपिन्छ । यस भेगका बालबालिकाहरुले यो दायित्व आफैले बोध गर्छन् किनकि यो उनीहरुका लागि संस्कार जस्तै भईसकेको छ ।

सँगैका साथीहरु विद्यालय पढ्न गएपनि पढ्न नपाएकोमा उनीहरुलाई रत्तिभर गुनासो छैन । उनीहरु यसै क्षेत्रमा रमिरहेका छन् । सोलुखुम्बुको बुङ, छेस्काम  र गुदेललाई सोलुको कर्णालीका रुपमा चिनिन्छ । सदरमुकामबाट २५ कोष टाढा यी गाविसहरुबाट सदरमुकाम आईपुग्न दुईदेखि तीन दिनको पैदल यात्रा गर्नुपर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना