हाम्रो नेपालमा - तीन वर्षदेखिको पानी भण्डारण गर्नुपर्ने !


गणेश पौडेल
पर्वत ,बैशाख ३१ गते । सामान्यतया धान, गहुँ, मकै, कोदो लगायतका खानेकुराहरु भण्डारण गरेर राख्नु स्वभाविक नै हो  तर यहाँको एक गाउँमा भने  तीन वर्षदेखिको पानी भण्डारण गरेर राख्नुपर्ने बाध्यता रहेको छ ।    

तीन वर्षदेखिको पानी : पर्वतको ठूलीपोखरीमा खानेपानीको समस्या समाधान गर्नका लागि भण्डारण गरेको पानी । 

 

जिल्लाको ठूलीपोखरी गाविसको वडा नं. ९ का युगनाथ पौडेलको घरमा पानीको अभाव टार्न तीन वर्षदेखि सयौं लिटर पानी भण्डारण गरेर राखिएको छ । घर वरिपरि पानी नभएपछि एक गाग्री पानीका लागि दुई घण्टाको पैदल दुरीबाट ल्याउनुपर्ने भएकाले अनिकाल टार्न पानीको जोहो गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।

‘घर वरिपरि पानी छैन’ पौडेलले भन्नुभयो ‘वर्षाको समयमा राखेको पानीले दुई तीन वर्षसम्म काम चलाउनु पर्दछ ।’ उहाँको जस्तै अन्य एक सय ५० घरहरुको अवस्था यहि नै हो । गाविसको माथिल्लो भागमा पानी नभएको र बाहिरबाट ल्याउन समेत सम्भव नभएपछि वर्षात्को पानी जम्मा गरेर राख्ने गर्छन् । पानीकै कारण अधिकांश परिवारहरु बसाईँ नै सरेका छन् भने गाउँमा रहेका बृद्ध बृद्धा तथा महिलाहरुले वर्षाको पानी जम्मा गरेर राख्ने र चर्को खडेरीमा उपयोग गर्ने गरेकाछन् ।

पानी ओसार्ने परिवार भएको घरमा पनि एक जनाले पानी मात्रै ओसार्दा दिन जान्छ भने परिवार नहुनेहरु र बृद्ध बृद्धाहरुले ज्यालामा बोकाउनुपर्ने बाध्यता रहेको छ । गाविसका करिब दुई सय घरधुरीमा हिउँद ,वर्षात्भरि नै पानीको समस्या हुने गरेको भएपनि लामो समयदेखि समस्या समाधान हुन सकेको छैन ।

पानीको चरम समस्या भएपछि २०५१ सालमा १४ किलोमिटर टाढा रहेको आर्थर गाविसको टुनीखोलाबाट पानी ल्याएको भएपनि एक महिना पनि पानी नआई योजना अलपत्र भएको पौडेलले बताउनुभयो । करिब डेढ करोड रुपियाँ खर्च गरेर ल्याएको पानी गाउँसम्म आईपुग्दा हराएपछि स्थानीयवासीहरु पानी खाने आश नै मारेर बसेका छन् ।

अहिले टुनिखोला आयोजनाका पाईपहरु आर्थर र खौला गाविसका विभिन्न ठाउँमा बेवारिसे फालिएको छ । टुनीखोलामा भएको पानी भन्दा ठूलो पाईप राखेपछि यस्तो समस्या आएको प्राविधिकहरु बताउँछन् । पछिल्लो समयमा जिल्लामा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाले गाविसलाई पानी र सरसफाई युक्त गाविस बनाउने भनेर काम गरेको भएपनि नाम मात्रैको खुल्ला दिशामुक्त गाविस घोषणा ग¥यो तर पानी नै नभएपछि बनाएका शौचालयहरु समेत प्रयोगविहीन बनेका छन् ।

अहिले पश्चिम नेपालले समेत ठूला आयोजना गर्न नसकिने भन्दै गाविसबाट उम्किने प्रयासमा रहेको छ । ‘छ वर्षदेखि पानी खुवाउने आशामा हामीलाई बेवकुफ बनायो’ स्थानीय शिवलाल परियारले भन्नुभयो–‘आशै–आशामा स्वर्गेवास जस्तो भयो ।’

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना