• ६ चैत २०८०, मङ्गलबार

युएनडीपीको मानव विकास प्रतिवेदन

‘महामारीले मानव प्रगतिलाई मेटाउने आँधीबेहरी ल्यायो’

blog

युएनडीपीको प्रतिवेदन सामूहिकरुपमा सार्वजनिक गर्नुहुँदै ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसाल (बीचमा) सहित अन्य । तस्बिर : केशब गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २७ गते । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) ले प्रकाशित गरेको ‘मानव विकास प्रतिवेदन’ सोमबार सार्वजनिक भएको छ ।

अनिश्चित समय, अस्थिर जीवन : परिवर्तित विश्वमा हाम्रो भविष्य’ भन्ने नारासहित विश्वमा बढेको चुनौतीसहितको प्रतिवेदन युएनडीपीले सार्वजनिक गरेको हो ।

युएनडीपीका अनुसार विश्वव्यापी उथलपुथलले ९० प्रतिशत देशमा मानव विकासमा भएको प्रगतिलाई अप्रत्याशित रुपले उल्ट्याउने काम गरेको छ ।

असमानता, जलवायुजन्य विपद्, द्रुत प्राविधिक नवप्रवर्तन र सामाजिक अविश्वासका कारण झन् खराब बन्न पुगेको महामारीले मानव प्रगतिलाई मेटाउने आँधीबेहरी ल्याएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

लगातार दोस्रो वर्ष मानव विकासले उल्टो गति लिनले मानव विकासमा यस अघि कहिल्यै नदेखिएको स्तरमा धक्का परेको र दिगो विकासका लागि २०३० एजेन्डा सुरु गर्दा र २०१६ को पेरिस सम्झौता अवलम्बन गर्दाको स्तरमा फर्काउने काम गरेको छ ।


नयाँ अनिश्चितता र जटिलता

मानवताको सबैभन्दा ठूलो चुनौतीका रुपमा रहेको जलवायु र जैविक विविधता संकट, असमानता र राजनीतिक ध्रुवीकरणका साथै प्राविधिक उथलपुथल बढ्नुका साथै तिनले एक अर्कालाई मलजल गर्ने काम गरिरहेका छन् । यो कार्य मानिसले यस अघि कहिल्यै अनुभव नगरेको गति र स्तरमा भइरहेको छ ।

अन्तरसम्बन्धित अनिश्चितताहरुको अर्थ संकटहरुले एक अर्कासँग अन्तर्निहितरुपमा जोडिएका हाम्रा समाजमाथि विनाशकारी प्रभाव पारिरहेका छन् ।

युक्रेनमाथिको आक्रमणले एउटै पुस्तामा सबैभन्दा ठूलो बजार महँगी निम्त्याउनुका साथै विश्वव्यापी खाद्य असुरक्षा संकटले करोडौंलाई भोकै पार्ने खतरा मडारिरहेको छ । कोभिड–१९ महामारीले मानिसको स्वास्थ्य र मानसिक कल्याणमा क्षति पुर्याउनुका साथै अर्थतन्त्रलाई ध्वस्त पार्ने र लैङ्गिक असमानतालाई झन् बढाउने काम गरेको छ ।

मानिसहरु बढी दुःखी महसुस गरिरहेका छन् । पछिल्लो दशकदेखि बढ्दै गइरहेको तनाव, उदासी, क्रोध र चिन्ता हाल अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ । विश्वव्यापीरुपमा तनाव भएको बताउने मानिसको अनुपात ३५ प्रतिशतभन्दा बढी छ, जुन् एक दशकअघि भन्दा १० प्रतिशत बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।

हालको मानसिक स्वास्थ्य संकटले मानव विकासमा बाधा पुर्याउनुका साथै मानिसको स्वतन्त्रता र अवसरलाई सीमित गर्दछ ।

बालबालिका बढी प्रभावित

सबैभन्दा बढी ५० प्रतिशत बालबालिका प्रभावित छन् । उनीहरुले मानसिक, शारीरिक वा यौन हिंसाको सामना गर्नुपरेको छ । करिब ४५ करोड बालबालिका वा हरेक छ जनामा एकजना हाल द्वन्द्वग्रस्त क्षेत्रमा बसोबास गर्छन् । जसले आघातजन्य तनावसहित मानसिक स्वास्थ्यमा विनाशकारी परिणाम निम्याइरहेको छ ।

ध्रुवीकरण र विश्वासको कमीले अनिश्चितता, असमानता र असुरक्षासँग निम्त्याउँछ । राजनीतिक ध्रुवीकरण र अविश्वासले सामाजिक संवाद गर्ने हाम्रो क्षमतालाई कमजोर बनाउँछ र सामूहिक कार्यलाई रोक्ने काम गर्छ । अधिकांश व्यक्तिमाथि विश्वास गर्न सकिन्छ भन्ने कुरा सोचाइ राख्ने मानिसको संख्या विश्वभरि ३० प्रतिशतभन्दा कम छ, जुन अहिलेसम्मकै न्यून रहेको प्रतिवेदनमा उल्लेख छ ।

अनिश्चिततामा अवसर

आजको समयको मागबीचको बढ्दो बेमेल केही नयाँ गर्ने अवसर पनि हो । मानव विकासलाई थप बलियो बनाउँदा त्यसले हामीलाई हाम्रो भविष्यतर्फ अघि बढ्न गर्न र परिवर्तनको संवाहक हुन सक्ने मानिसको क्षमतालाई उजागर गर्न मद्दत गर्नेछ ।

मानवताको वर्तमान गतिहीनतालाई तोड्नैपर्छ र ध्रुवीकरणलाई निरुत्साहित गर्दै विश्वासको पुनः निर्माण गरी सबैलाई निर्णय प्रक्रियामा सहभागी हुने अवसर प्रदान गरेर नयाँ मार्ग तय गर्नुपर्छ ।

समुदायहरु आफ्नो भविष्यका लागि के चाहन्छन् भन्ने कुरा जान्न अनिश्चिततालाई चिरेर अघि बढ्नका लागि खुला र समावेशी संवाद आवश्यक छ । परिवर्तन, उदाहरणका लागि हरित रुपान्तरण अत्यावश्यक छ तर त्यसलाई सावधानीपूर्वक व्यवस्थापन नगरिएमा अस्थिरता निम्त्याउन सक्छ ।

मानिसहरूको सोच परिवर्तन गर्न प्रमाण मात्र पर्याप्त छैन । हामीले भावना, संज्ञानात्मक पूर्वाग्रह र संस्कृतिको भूमिका पहिचान गर्न मानव आचरणप्रतिको हाम्रो बुझाइलाई अझ फराकिलो बनाउनु पर्छ ।

शिक्षादेखि वित्तसम्म सार्वजनिक नीतिप्रतिका धेरै परम्परागत अवधारणाहरु विगतमा आधारित छन् । हामीले आकांक्षा गरे अनुसारको भविष्य हासिल गर्नका लागि संस्थाहरू आजको  विश्व अनुकूल बन्न आवश्यक छ । उनीहरूले नयाँ मूल्य मान्यता स्थापित गर्न नयाँ नीतिहरू बनाउनमा मात्र सीमित नरही त्यसभन्दा केही कदम अघि बढ्नुपर्छ ।

अनिश्चित समाजमा अघि बढ्न आफूलाई मद्दत गर्न हामीले मानसिक पीडा कम गर्ने, संकटहरू न्यून गर्ने र मनोवैज्ञानिक जुझारुपन विकास गर्ने काम गर्नुपर्छ । यसमा मानसिक स्वास्थ्य सेवाको पहुँचलाई उल्लेख्यरुपमा विस्तार गर्ने कार्य पर्दछ, जुन हाल थोरैका लागि मात्र सुविधाकारुपमा रहेको अवस्था छ ।

लगानी, बीमा र नवप्रवर्तनमा केन्द्रित नीतिहरुले मानिसलाई अनिश्चितताको सामना गर्दै अघि बढ्न सक्षम बनाउँछ ।

लगानी–नवीकरणीय ऊर्जा चरम प्राकृतिक प्रकोपहरुको पूर्वतयारीका लागि पृथ्वीमाथिको दबाब कम गर्नका लागि ।

वीमा–सामाजिक सुरक्षाको साथ – अनिश्चित संसारमा आइपर्ने आकस्मिक परिस्थितिहरुका लागि हाम्रो समाजलाई तयार राख्न ।

धेरै प्रकृतिका नवप्रवर्तन – प्राविधिक, आर्थिक, सांस्कृतिक– मानवताले सामना गर्ने अज्ञात चुनौतीको सामना गर्न ।

यदि हामीले साझा लक्ष्यहरुका लागि मिलेर काम गर्ने हो, भने हामीले धेरै कुरा हासिल गर्न सक्छौं । असमानतालाई सम्बोधन गर्दै जनताको स्वतन्त्रता र अवसरहरूमा वृद्धिमार्फत् हाम्रो मानव क्षमतालाई उजागर गरी हामीले यस्तो भविष्यको सिर्जना गर्न सक्छौँ, जहाँ अनिश्चितताहरुका अतिरिक्त मानिस र पृथ्वी दुवै फस्टाउन सक्ने छन् । हामी यहाँबाट कतातिर जान्छौं भन्ने कुरा हामीमाथि निर्भर गर्दछ, युएनडीपीको प्रतिवेदनमा भनिएको छ ।