• ६ चैत २०८०, मङ्गलबार

साल्ट ट्रेडिङ कर्पोरेशनले अपेक्षित रुपमा नाफा गर्न सकेन : सहसचिव रेग्मी

blog

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६०औं वार्षिकोत्सव कार्यक्रममा बोल्नुहुँदै उद्योग मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मी । तस्बिर : कबिता थापा

काठमाडौं, भदौ २७ गते । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले पछिल्लो समय साल्ट ट्रेडिङ कर्पोरेशनले अपेक्षित रुपमा नाफा गर्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

सोमवार कम्पनीको ६० औं वार्षिकोत्सवको अवसरमा बोल्नुहुँदै सहसचिव रेग्मीले सो कुरा बताउनुभएको हो । साल्ट ट्रेडिङले लगानी गरेका कतीपय उद्योगहरु बन्द भएको स्मरण गराउनुहुँदै संस्थाको व्यवसायीको कमजोरीका कारण पनि आफ्नो व्यवसायलाई विस्तार गर्न नसकेको स्पष्ट उहाँले पार्नुभयो ।


सहसचिवले कम्पनीको प्रतिस्पर्धात्मक क्षमतामाथि प्रश्न उठाउनुहुँदै व्यवसायलाई थप आधुनिकरण तथा सूचना प्रविधिसँग जोड्दै सकारात्मक चिन्तन बोकेर अगाडि बढ्न आवश्यक रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘केही वर्ष यता हेर्दा अपेक्षित रुपमा लाभांश लिन नसकेको स्थिति छ । विगत केही वर्षदेखि हाम्रो नाफा घट्दो छ । हामीले लगानीहरु गरेको उद्योग बन्द अवस्थामा छन् । कतिपय हाम्रो आफ्नै व्यवहारहरुको कमजोरीका कारण पनि व्यवसायलाई विस्तार गर्न सकेका छैनौँ । बजार प्रतिस्पर्धी बनेको छ । अन्य निजी क्षेत्रका संस्थाहरु हाम्रो स्वामित्वमा प्रतिस्पर्धात्मक प्रश्न चिह्न खडा भएको छ । यो हिसाबले पनि हामीले आफूलाई प्रतिस्पर्धी बनाउनुको विकल्प छैन । उच्च मनोबलयुक्त भएमात्रै हामी प्रतिस्पर्धी बन्नसक्छौँ ।’’

उहाँले आगामी दिनमा संस्थागत लक्ष्य प्राप्तिका लागि जुट्न कर्मचारीहरुलाई निर्देशन पनि दिनुभयो । सहसचिव रेग्मीले संस्थालाई आवश्यक पर्ने नीतिगत सहजिकरणका लागि भने सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले कर्मचारीको हकहीतको विषयमा उठाएका कतिपय आवश्यक मागहरु संस्थाको संस्थागत क्षमता विकास र विस्तारको लागि सहयोग गर्न तयार रहेका पनि बताउनुभयो ।


वार्षिकोत्सवको अवसरमा साल्ट ट्रेडिङ कर्पोरेशनले एस.टी.सी ब्राण्डका तोरीको तेल उत्पादन गर्ने तयारी गरेको जानकारी गराएको छ । दाल, चामल, नुन, चिनी, तेललगायत दैनिक उपभोग्य वस्तु तथा रासायनिक मलको सहुलियत र शुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरी तेल उत्पादन गर्ने तयारी गरेको छ ।

ट्रेडिङले हेटौँडामा रहेका नेपाल वनस्पति उद्योग सञ्चालन गरी एस.टी.सी ब्राण्डका तोरीको तेल उत्पादन गर्ने तयारी गरेको छ । उपोभोक्तालाई गुणस्तरीय तेल उपलब्ध गराउन चितवनलगायत तराई/मधेशका कृषकबाट तोरी खरिद गरी निकट भविष्यमा प्रशोधित तोरीको तेल उत्पादन गर्न लागेको जनाएको हो  ।