• ६ चैत २०८०, मङ्गलबार

बौराहा खोलामा पक्की पुल शिलान्यास

blog

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), भदौ २७ गते । कैलालीको घोडाघोडी नगरपालिकामा दुईवटा पक्की पुल बन्ने भएका छन्। वडा नम्बर २ को चितलपुर–जोकाहा बीचमा पर्ने बौराहा खोला र वडा नम्बर ८ को तारानगर–कल्जुकीको बीचमा पर्ने बौराहा खोलामा यसै वर्षदेखि निर्माण कार्य सुरु हुने भएको छ।

उक्त पक्की पुलको सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदले शनिबार शिलान्यास गरेपछि पुल निर्माण कार्यले औपचारिकता पाएको हो। शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री साउदले खोलामा पुल नहुँदा वर्षाको समयमा स्थानीयलाई आवागमनमा समस्या भएकाले पनि पुल निर्माण महत्वपूर्ण भएको बताउनुभयो। पक्की पुल निर्माण भएपछि यस क्षेत्रको विकासमा टेवा पुग्ने उहाँको भनाइ छ। आफ्नो क्षेत्रमा भएका जीर्ण काठे पुल विस्थापित गर्ने लक्ष्यका साथ यसै वर्ष थप अर्को पक्की पुलको निर्माण कार्य सुरु हुनेसमेत राज्यमन्त्री साउदले बताउनुभयो।

प्रदेश सरकारको सहयोगमा निर्माण हुने पुलको गुणस्तरका लागि नगरपालिकाले निगरानी गर्ने घोडाघोडी नगरपालिकाका प्रमुख खड्कबहादुर रावतको भनाइ छ। वडा नम्बर २, ६ र ८ जोड्ने मुख्य सडक भएकाले वर्षायाममा आवतजावत गर्न समस्या हुने गरेको स्थानीयले गुनासो गर्दै आएका थिए। पुल नहुँदा विद्यालय जाने बालबालिका सबैभन्दा बढी प्रभावित हुँदै आएका छन्।

 हाल खोलामा आवागमनका लागि काठे पुल निर्माण गरिएको छ। पहिले निर्माण गरिएको काठे पुल असार १४ गते रातिको अविरल वर्षाले चितलपुर–जोकाहा जोड्ने पुल बगाएपछि पुनः काठे पुल निर्माण गरिएको थियो। दीर्घकालीन समस्या समाधानका लागि पूर्वाधार विकास कार्यालय कैलालीद्वारा सात करोड १९ लाख २८ हजार ५८४ रुपियाँको लगानीमा पक्की पुल निर्माण सम्पन्न गर्न स्वाँर कन्स्ट्रक्सन प्राइभेट लिमिटेड अछामले ठेक्का सम्झौता गरेको छ। त्यसैगरी वडा नम्बर ८ को तारानगर–कल्जुकी जोड्ने पक्की पुल आठ करोड १७ लाख ६६ हजार ९७२ रुपियाँको लगानीमा ध्रुवतारा एनएस जेभी कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेको छ। दुवै पुल एक वर्ष छ महिनाभित्रमा निर्माण पूरा गर्ने गरी सम्झौता भएको जनाइएको छ।