• ६ चैत २०८०, मङ्गलबार

तारैतारले कुरूप बन्यो सदरमुकाम

blog

राजकुमार भट्टराई

खोटाङ, भदौ २७ गते । जिल्ला सदरमुकामसमेत रहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेल बजार कुरूप बन्दै गएको छ। जथाभावी बिछ्याइएको तारले बजार क्षेत्र कुरूप देखिन थालेको हो।   

बजारको बीचमा विद्युत्का पोल (खम्बा)हरू गाडिएका छन्। सोही पोलबाट विद्युत्को तार, नेपाल टेलिकमका तार र विभिन्न नेटका तारहरू छरपस्ट तरिकाले टाँगिएका छन्। जसले गर्दा दिक्तेल बजारका रूप बिग्रँदै गएको छ। बजार क्षेत्र रत्नपार्क (किराँत चोक)देखि हाडडाँडासम्म नै जथाभावी तारहरू टाँगिएका छन्। कतिपय ठाउँमा तारले तल सडकसम्म छुन लागेकाले सवारीसाधन आवतजावतदेखि सडकमा काम गर्नसमेत समस्या भएको स्थानीय विशाल राउत बताउनुहुन्छ। ‘यता हे¥यो तार, उता हे¥यो तार, यसले दिक्तेल बजारको सुन्दरतामा ह्रास आएको छ। यसको व्यवस्थापनमा सम्बन्धित निकायको ध्यान जाओस्’ स्थानीय गुनराज सैजुले भन्नुभयो। 

छरपस्ट तारको बोझले कतिपय विद्युत्का पोल बाङ्गिएका छन् भने कतिपय पोल भाँचिनसमेत लागेका छन्। तारको व्यवस्थापन नहुँदा जोखिम पनि उत्तिकै बढ्दै गएको स्थानीयवासी बताउँछन्। लामो समयदेखि बजारभरि छरपस्ट तार हुँदा पनि सम्बन्धित निकाय भने मौन बसेका छन्। 

यता, नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईका अनुसार निर्वाचित भएर आएको १५ दिनमै तार व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरण दिक्तेल र नेपाल टेलिकमको कार्यालय दिक्तेललाई पत्रचार गरिएको हो। तर, अहिलेसम्म ती निकाय तारको व्यवस्थापनमा नलागेको उहाँको भनाइ छ। विद्युत् प्राधिकरण दिक्तेलका प्रमुख विजय रेग्मी भने विद्युत्को भन्दा पनि टेलिकम र नेटको लापरबाहीले यो अवस्था आएको बताउनुहुन्छ। 

बजार क्षेत्रमा नभएको हैन विद्युत्का तार पनि छरपस्ट देखिएका छन् तर टेलिकम र नेटका तार धेरै र अव्यवस्थित तरिकाले टाँगिएका कारण ठाउँ–ठाउँमा पोलहरू नै भाँचिन लागेका छन्। टेलिकमले पुरानो तार हटाउने र नेटले पनि सीमित तार टाँग्ने हो भने समस्याको समाधान हुन्, प्रमुख रैग्मीले भन्नुभयो। नेपाल टेलिकमले टाँगेका पुराना प्रयोगविहीन तार पनि पोलमा रहेका छन्। केही समयपश्चात् फाइबर तार एउटा वा दुईवटा मात्र टाँगेर अन्य तार हटाइने टेलिकम कार्यालय दिक्तेलका प्रमुख खगेन्द्र बलम्पाखीले बताउनुभयो। 

मन्दिरमा टाँगिएको ध्वजाजस्तै सडकदेखि २० मिटर लामो पोलभरि तार, जथाभावी सडकमा सवारीसाधन पार्किङले अहिले दिक्तेल बजारको रूप हराएको देखिन्छ। बजारबीचको सडक ढलान कार्य सञ्चालन भइरहेकाले बजार कुरूप हुन थप मद्दत पुगेको छ। नगरपालिकाले केही वर्षअघि राखेको सडक बत्ती मर्मत सम्भार नगर्दा दिक्तेल बजारका सडक बत्तीसमेत धेरैजसो बल्दैनन्। बल्ने बत्ती पनि केही समय बलेपछि आफैँ बन्द हुने गरेका प्रत्यक्षदर्शीको भनाइ छ। नगरपालिकाले बजार क्षेत्रमा जडान गरेका सीसी क्यामरा पनि प्रयोगविहीन छन्।