उपत्यकामा खानेपानीको समस्या उपभोक्ता चर्काे रकम तिर्न बाध्य

water-shortagesकाठमाडौँ, वैशाख ३० गते । सरकारले खानेपानी ट्याङ्कर व्यवसायीले खानेपानीमा कालोबजारी गरे वा नगरेको अनुगमन गर्न गठित समिति अनुगमन गरेको दाबी गरेको छ तर व्यवसायीले अभावकै निहुँमा उपभोक्ता लुट्न छाडेका छैनन् । सरकारद्वारा गठित अनुगमन समितिले प्रभावकारी रूपमा अनुगमन गर्न नसकेका कारण आम उपभोक्तामाथि व्यवसायीको लुट नरोकिएको हो । 

पछिल्लो केही समययता धारा र इनार सुकेपछि ट्याङ्करकै पानीमा भर परेका उपभोक्तासँग व्यवसायीले अस्वस्थ ‘बार्गेनिङ’ मात्र गर्दैनन् दोब्बरभन्दा बढी मूल्य असुलिरहेको उपभोक्ताले गुनासो गर्दै आएका छन् ।
ट्याङ्कर व्यवसायीले भने पाँचदेखि छ हजार लिटर पानीको मूल्य एक हजार छ सयदेखि एक हजार सात सय रुपियाँ र आठ हजार लिटरको दुई हजार र १२ हजार लिटरको दुई हजार पाँच सय रुपियाँ पर्ने जनाएको छ । यो मूल्यमा दूरीका आधारमा सय रुपियाँभन्दा बढी तलमाथि नपर्ने व्यवसायी बताउँछन् तर उपभोक्ताले पहिलेभन्दा अहिले दोब्बर तेब्बरसम्म मूल्य तिर्नुपरेको गुनासो गर्छन् ।
कीर्तिपुरका श्याम दाहालले डेढ महिना अघिसम्म फोन गरेको एक दिनभित्रै पानी ल्याइदिने व्यवसायी अहिले एक÷डेढ महिना पर्खनुपर्ने भनेर भुलाउने र छिटो चाहियो भन्ने बित्तिकै बढी रकमका लागि ‘बार्गेनिङ’ गर्नेगरेको अनुभव सुनाउनुभयो । पानी ल्याइदिन भन्दा १०÷१२ दिनसम्म झुलाए, पहिले तिर्दै आएको भन्दा दोब्बर बढी मूल्य तिर्छु भनेपछि बल्ल ल्याइदिए उहाँले भन्नुभयो ।
पहिले छ हजार लिटर पानी एक हजार सात सय रुपियाँमा ल्याउने गरेकोमा अहिले त्यही पानी ट्याङ्करले अभाव भन्दै १० हजार रुपियाँसम्म माग गरेको अनुभव पूर्व सहप्राध्यापक लालदेउसा राईले सुनाउनुभयो । उहाँले अहिले धेरैतिर ‘बार्गेनिङ’ गरेपछि एउटाले साढे तीन हजार रुपियाँसम्ममा एक ट्याङ्कर पानी ल्याइदिनेभएको छ । एक÷दुई दिन लाग्छ भनेको छ त्यही पनि कहिले ल्याउने हो कुन्नि भन्नुभयो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार हाल उपत्यकामा दैनिक झण्डै ४० करोड लिटर खानेपानी माग छ । त्यसमध्ये सुख्खायाममा दैनिक आठ करोड र वर्षात्मा १५ करोड लिटर मात्र वितरण भइरहेको केयूकेएलले जनाएको छ ।
उपभोक्ता अधिकारकर्मी रोशन पोखरेलले सरकारी निकायबाट मागको धेरै कम मात्र वितरण भइरहेको र माग अनुसार पानी पु¥याउन नसकेपछि निजी व्यवसायीले मनपरी मूल्य असुल्ने गरेको बताउनुभयो ।
यता अभावको मौकामा केही व्यवसायीले पहिलेभन्दा बढी मूल्य लिनेगरेको स्वीकार गर्दै उपत्यका खानेपानी स्रोत तथा ट्याङ्कर व्यवसायी सङ्घ अध्यक्ष विष्णु दाहालले बार्गेेनिङ गर्ने र धेरै पैसा लिनेलाई सरकारको नियमनकारी निकायले अनुगमन गरेर कारबाही गर्नुपर्ने बताउनुभयो ।
सबैले इमानदारीपूर्वक काम गर्छन् भन्ने छैन, जिम्मेवार निकायले फटाहालाई कारबाही गर्नुपर्ने र रातारात धनी हुन खोज्नेलाई कानुनको दायरमा ल्याएर कारबाही गर्न सक्नुप¥यो नि व्यवसायी भनेर सबैलाई एउटै डोकोमा हाल्न पाइन्छ उहाँले भन्नुभयो ।
अनुगमनको नेतृत्व पाउनुभएका काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले खानेपानी ट्याङ्कर व्यवसायीको अनुगमन भइरहेको तर सो क्रममा पहिलेभन्दा दुई÷चार सय रुपियाँ बढी लिए पनि दोब्बर तेब्बर मूल्य असुलेको नपाएको बताउनुभयो । उहाँले गएको बुधबारदेखि नै ट्याङ्करको अनुगमन गर्दै आएको भए पनि अनुगमन गरेको दैनिक अवस्थाका बारेमा जानकारी गराउने काम भने आउँदो आइतबारदेखि गर्ने जानकारी गराउनुभयो ।
अनुगमनका क्रममा ट्याङ्कर व्यवसायीले दिने खानेपानीको गुणस्तरको अवस्था र मूल्यबारेमा बुझ्ने काम भइरहेको जानकारी गराउँदै अनुगमन समितिका संयोजक राणाले अहिलेसम्म ट्याङ्कर व्यवसायीले बिक्री गर्ने पानीको मूल्य निर्धारण भएको छैन, गुणस्तरमा त्यत्तिकै समस्या छ, यसलाई सुधार गर्न नीतिगत सुधार लगायतका धेरै काम गर्नुपर्छ, त्यसैले समय पनि लाग्छ भन्नुभयो ।
उहाँका अनुसार काठमाडौँ उपत्यकाको खानेपानी ट्याङ्करको सबै अनुगमन गरेपछि यसका सुधारका उपायसहितको प्रतिवेदन तयार गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई बुझाउनेछ । उपत्यका खानेपानी स्रोत तथा ट्याङ्कर व्यवसायी सङ्घका अनुसार उपत्यकामा चार सय ट्याङ्कर छन् । ती ट्याङ्करमार्फत दैनिक पाँच हजार लिटर पानी उपलब्ध गराउँदैआएको दाबी व्यवसायीले गर्दैआएका छन् । उपत्यकामा खानेपानी ट्याङ्कर व्यवसायीले अभावको बहानामा मनपरी शुल्क लिनेगरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले अघिल्लो साता खानेपानी ट्याङ्कर अनुगमन समिति गठन गरेको थियो ।
खानेपानी व्यवस्थापन बोर्डको संयोजकत्वमा गठन भएको समितिमा घरेलु कार्यालयको प्रतिनिधि, वाणिज्य, आपूर्ति तथा हकहित संरक्षण विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र नापतौल तथा गुणस्तर विभागका एक÷एक प्रतिनिधि हुनुहुन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना