• ६ चैत २०८०, मङ्गलबार

देशलाई बलियो शक्तिको खाँचो छ : महासचिव पोखरेल

blog

पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेल । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, भदौ २६ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशलाई अहिले गठबन्धनभन्दा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, दाङ शाखाले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । देशको विकास र समृद्धिका लागि देशलाई बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको उहाँको भनाइ छ ।  

महासचिव पोखरेलले आउने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनले एमालेलाई बलियो शक्तिका रूपमा स्थापित गराउने विश्वास व्यक्त गर्नुभयो । ‘देशको विकासका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ । त्यसका लागि हामी तयारीमा जुटेका छौ’ महासचिव पोखरेलले भन्नुभयो, ‘आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले एमालेलाई बलियो शक्तिका रूपमा स्थापित गर्नेछ ।’ 

दलहरूसँग राष्ट्रको विकास र समृद्धिका लागि आफ्नो नीति, विचार, सिद्धान्त र कार्यक्रम हुने गरेको भए पनि गठबन्धनका नाममा नेपाली कांग्रेसले आफ्नो नीतिगत सामर्थ्य गुमाइसकेको टिप्पणी गर्नुभयो । ‘नेपालको पुरानो पार्टी कांग्रेस भए पनि गठबन्धनको नाममा आफ्नो नीति, विचार र सिद्धान्त गुमाइसकेको छ’ पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भन्नुभयो, ‘अहिले कांग्रेसले आफ्नो अस्तित्व रक्षा गठबन्धनका माध्यमबाट खोजिरहेको छ ।’ 

महासचिव पोखरेलले आगामी निर्वाचन गठबन्धन भर्सेज बलियो राष्ट्रिय शक्तिबीचमा प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । ‘आउने निर्वाचनको विशेष महत्त्व छ । यो पार्टीको हारजितको मात्र निर्वाचन होइन । परमादेश भर्सेज जनादेश पक्षमा लाग्ने शक्तिको  निर्वाचन हो’ महासचिव पोखरेलले भन्नुभयो ।

लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका पोखरेलले प्रदेशका संरचनाहरू स्थायी राजधानीमा ल्याउने नल्याउने वर्तमान सरकारमा निर्भर रहने चर्चा गर्नुभयो । ‘प्रादेशिक राजधानीका संरचना स्थायी राजधानीमा ल्याउने कि नल्याउने भन्ने सवाल वर्तमान सरकारमा निर्भर रहने कुरा हो’ महासचिव पोखरेलले भन्नुभयो, ‘पहिलो सरकार रहिरहेको भए अहिलेसम्म यो विषय टुङ्गो लागिसक्थ्यो ।’