• ६ चैत २०८०, मङ्गलबार

मधेसमा लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

blog

धनुषा,  भदौ  २६  गते । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दक्षिण कोरियामा रहेका युवालाई मधेसमा लगानी गर्न आग्रह गर्नु भएको छ ।

मधेसी समाज दक्षिण कोरियाले आज आयोजना गरेको दक्षिण कोरियाबाट तराईमा हुन सक्ने लगानी सम्भाव्यतासम्बन्धी भिजुअल अन्तरक्रियामा उहाँले कृषि, पर्यटन, उद्योग र शिक्षा क्षेत्रमा लगानीका बृहत् सम्भावना रहेकाले सो अवसरलाई सदुपयोग गर्न आग्रह गर्नुभएको हो । मुख्यमन्त्री राउतले लगानीको वातावरण निर्माण गर्न आफू जिम्मेवार भएर लाग्ने विश्वास दिलाउनुभयो ।

उहाँले भन्नुभयो, “आफ्नो माटोप्रति तपाईँहरूले देखाउनुभएको सद्भाव अनुकरणीय छ । मधेस सरकारको तर्फबाट तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु । आउनुस्, लगानी गर्नुहोस्, वातावरण हामी दिन्छौँ । समृद्ध मधेस निर्माणको बाटोमा यहाँको सहयोगको अपेक्षा हामीले गरेका छौँ ।”

प्रदेश सरकारले उद्योग ऐनमार्फत लगानीको वातावरण सुनिश्चित गरिसकेको उहाँले स्पष्ट पार्नुभयो । कार्यक्रममा दक्षिण कोरियामा रहेको एक सयभन्दा बढी युवाको सहभागिता रहेको थियो ।