• ६ चैत २०८०, मङ्गलबार

सहज बनाउन सडक खाली गराउने अभियान

blog

तस्विर – महेशकुमार दास

महेशकुमार दास 

जलेश्वर, भदौ २६ गते । मनरासिस्वा नगरपालिकाले नगर क्षेत्रभित्र रहेको सडकहरूमा आवागमन सहज बनाउन सडक खाली गराउने अभियान सञ्चालन गरेका छन् । 

स्थानीयहरूले सडकमा जथाभाबी सरसमानहरू थुपार्नुका साथै घरपालुवा जनावर समेत सडकमै बाँध्ने गर्नाले आवागमनमा कठिनाइ हुँदै आएको गुनासोपछि नगर प्रमुख मोहन पाण्डेयको नेतृत्वमा सडक खाली गराउने अभियान सुरु गरिएको हो । 

मनरासिस्वा नगरपालिकाले एक साता अघि सार्वजनिक सूचना प्रवाह गरी नगर क्षेत्रभित्रका सडक खाली गर्न गराउन अनुरोध गरेको थियो । 

नगरपालिकाको सूचनाको अटेर गरी स्थानीयहरूले सडक खाली नगरेपछि नगरप्रमुख पाण्डेयले नगरपालिकाको १० जना कर्मचारी, सम्बन्धित वडाका अध्यक्ष, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त टोली बनाई सडक खाली गराउने अभियान सुरु गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले बताउनुभयो । 

“सूचना प्रकाशनपछि कानुनको पालना बराबर किसिमले हुनुपर्छ त्यसको लागि सम्पूर्ण नगरवासीलाई सडक खाली गरेर कानुनको पालना गर्नका लागि समय पनि दिइएको थियो । ” प्रमुख प्रशासकीय अधिकृत चौधरीले भन्नु भयो, “ दिइएको समयमा स्थानीयले सडक खाली नगरेपछि नगरप्रमुख मोहन पाण्डेयको नेतृत्वमा भदौ २४ गतेदेखि नगरपालिकासँग रहेको साधनश्रोत प्रयोग गरेर नगरभरका सार्वजनिक सडकहरू खाली गराउने अभियान सुरु गरिएको छ ।”


अधिकृत चौधरीका अनुसार सडक खाली गराउने अभियान अन्तर्गत मनरासिस्वा नगरपालिका वडा नं. –६ सरपल्लोस्थित सम्पूर्ण सडक खाली गराइएको हो । 

सरपल्लो गाउँको सडकमै थुपारिएको राखिएको घरायसी सरसामान, टायर गाडा, ट्र्याक्टर, पशु, ब्राखा, गाईबस्तु हटाएर सडक खाली गराइएको अधिकृत चौधरीले बताउनुभयो । 

नगरपालिकासँग रहेको दुई वटा ट्र्याक्टर, जेसिबी प्रयोग गरेर सडक मिचेर बनाइएको संरचना खाली गराउने काम पनि सँगसँगै भइरहेको उहाँले बताउनुभयो । १० वटा वडा रहेको मनरासिस्वा नगरपालिकामा प्रत्येक वडामा पहिलो चरणमा दुई दिने अभियान सुरु गरिएको जनाइएको छ । 

“यो अभियान हाम्रो नगरपालिका भित्रको १० वटै वडामा सञ्चालन हुनेछ र एक पटक हटाइसकेका सामानलगायत गाईबस्तु फेरि दोहोर्‍याएर सडकमा राखेको पाइएमा त्यस्ता सामान र गाईबस्तु नगरपालिकाले जफत गर्नेछ । ” मनगरसिस्वा नगरपालिकाको नगरप्रमुख पाण्डेयले भन्नुभयो । “कानुनको पालना गर्दै नगरपालिकाभित्र रहेका सबै वडाहरूभित्रको सार्वजनिक सडकहरूबाट आ–आफ्नो सरसामान टायरगाडा, ट्र्याक्टर, चार पाङ्ग्रे सवारीसाधान, पशु र परालहरू हटाएर हामीलाई सहयोग गर्नुस् ।”