• ६ चैत २०८०, मङ्गलबार

धामी नाचेर मनाउने अनन्ते पूर्णिमा

blog

हुम्ला समाचारदाता

हुम्ला, भदौ २६ गते । खार्पुनाथ गाउँपालिका–४ को छिप्रा गाउँमा तीन सय वर्ष पहिलेदेखि मनाउँदै आएको अनन्ते पूर्णिमा धूमधामका साथ मनाइँदै छ। पो पर्वमा विशेष गरी लुवासुर देवताका धामी नाचेर मनाउने गरिन्छ। 

शुक्रबार चतुर्दशीबाट सुरु भएको यो पूर्णिमा शनिबार लेकमाजामा दिनभर धामी नाचेर सम्पन्न भएको छ। त्रयोदशीका दिन लुवासुर देवताको जन्मदिन भएका कारण सो रात कुलपूजा गरिन्छ। दुई दिनसम्म धामी नाचेर मनाउने यो पर्व तीन सय वर्षअगाडिदेखि सुरु भएको अनुमान गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलको छ। यसको ऐतिहासिक र धार्मिक महŒवसमेत आफ्नै रहेको उहाँको भनाइ छ। उहाँका अनुसार उक्त वडाका मानिस पहिले वर्षभरि जिल्लाबाहिर रहे पनि यो पूर्णिमाको दिन गाउँमा आउनैपर्ने चलन थियो। 

पहिले यदि यो पूर्णिमाको दिन विशेष गरी चीनको ताक्लाकोट, भारत कुमाउ गढवाल, अल्मोडा, नैनीपाल काम गर्न गएको मानिस नआए उसको परिवारले काजकिरिया गर्नुपर्ने हुन्थ्यो। किनकि जिउँदो मान्छे जसरी पनि आउने भएका कारण उसको मृत्यु भएको मानिन्थ्यो। 

अझ यो पूर्णिमाको रोचक पक्ष त के छ भने धामीले जौ, उवा र चामलको दानालाई हातले माडेर अबिर, ल्वाङ र कालो रङको मुसो (स्थानीय भाषामा सिगपाती भनिन्छ) निकाल्ने गरिन्छ। त्यसैगरी धामीले जौको दाना मुखमा हालेर दूध निकाल्ने पनि गरिन्छ। त्यस्तै अँगेनोमा ताप्केमा उम्लेको दूध घन्टमा हालेर पिउने, अँगेनोमा तताएको त्रिशूलले जिब्रोलाई छुने गरिन्छ। यस्ता अनेक कलाहरू (भिद) धामीले देखाउने भएका कारण मानिसको बाक्लो उपस्थिति हुने गरेको छ। 

जिल्लामै लुवासुर देवतालाई नाम कमाएको देवताका रूपमा लिइन्छ। धामीले यो पूर्णिमामा नाच्नका लागि लगाउने कपडासमेत छुट्टै हुन्छ। त्यसमाथि फूलको माला लगाएर धामी नाचेको दृश्य निकै सुन्दर देखिने गर्छ। पर्वका कारण गाउँका मानिसले वर्षमा एकसरो नयाँ कपडा लगाउन पनि पाउँछन् र चुलोमा मीठो परिकार पनि पाक्ने गर्छ।