डिजे साउण्डमा अंकुश लगाईदै


फूलचन्द मेहता
इनरुवा, वैशाख २७ गते ।  पुर्वी क्षेत्रमा  पछिल्लो समय देखासिखी रुपमा भारतवाट भित्रिएका डिजेको बढ्दो प्रयोगका कारण कोलाहलपूर्ण वातावरणको सिर्जना भएको र ध्वनी प्रदूषण समेत बढेको निष्कर्षसहित सुनसरी प्रशासनले निगरानी र नियन्त्रणको अभियान चाल्ने तयारी गरेको छ ।


स्थानीय स्तरबाट डिजेको बढ्दो विकृति र सामाजिक शान्ति खलबलिन पुगेको गुनासो आएपछि सुनसरी प्रशासनले डिजे साउण्ड प्रतिवन्ध गर्न सक्नेसम्मको निर्णय गरेको छ  । जिल्ला सुरक्षा समन्वय समितिको बैठकले डिजे साउण्ड व्यवस्थित गर्ने र अटेर गरे कार्वाही प्रकृया अघि बढाउने निर्णय तत्कालबाटै कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।


विवाह, वर्तमन्ध, चाडपर्व, मेला वा अन्य कुनै अवस्थामा डिजे साउण्ड प्रयोगमा ल्याएको पाइए प्रहरीले तत्काल सम्वन्धि व्यक्तिलाई नियन्त्रणमा लिई डिजे सहितका सामाग्री जफत समेत गर्न सक्ने छ । सुरुमा ठुलो आवाजमा साउण्ड नबजाउन  आग्रह गर्ने त्यसपछि अटेर गरे सम्वन्धित डिजे संचालक कार्वाहीको दायरा ल्याउने जनाएको छ ।


डिजे साउण्ड होस या अन्य ध्वनी निस्कने साधनहरु ठुलो आवाजमा बजाएको र त्यसले असर पुर्याएको भनी कसैले उजुर गरे सो उजुरीका आधारमा प्रहरीले सम्वन्धित व्यक्ति उपर कार्वाही प्रकृया अघि बढाउने बताइएको छ ।


सामान्य रुपमा बाजाका साथै साउण्ड सिस्टमहरु प्रयोगमा ल्याउन मिल्ने भएपनि कोलाहल पूर्ण वातावरणको सिर्जना हुने गरी डिजे साउण्डका सामाग्रीहरु प्रयोगमा ल्याउन नपाइने निर्णय गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले बताउनु भयो  ।
डिजे साउण्डको प्रयोग पछिल्लो समय सुनसरी तथा पुर्वी क्षेत्रमा  एकाएक बढेर गएको छ । भारतीय बजारमा निकै अघिदेखि प्रयोगमा रहेको डिजे सुनसरीसँग सीमा जोडिएका भारतीय सीमावर्ती भेगमा प्रयोगमा आउन थालेसँगै यसको प्रयोगमा निकै विस्तार भएको छ ।
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना