• ६ चैत २०८०, मङ्गलबार

दार्चुला बाढी पहिरो अपडेट

पाँचको मृत्यु, घाइतेको उद्धार गर्न हेलिकप्टर परिचालन

blog

घाइतेहरुको सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिदै । तस्बिर सौजन्य : नेपाली सेना

लोकेन्द्रप्रसाद जोशी

दार्चुला, भदौ २५ गते । दार्चुलामा शुक्रबार रातिको अबिरल वर्षापछि आएको बाढी पहिरोमा परी अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । १० जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले पुष्टि गरेको छ । बाढी पहिरोबाट संयौं मानिस प्रभावित भएका छन् । घाइतेको उद्धारमा हेलिकप्टर परिचालन गरिएको छ । 

नेपाली सेनाको एयर एम्बुलेन्समार्फत पहिरोमा परी गम्भीर घाइते पाँच जनाको उद्धार गरिएको छ । सुर्खेतबाट आएको नेपाली सेनाको एयर एम्बुलेन्समार्फत नौगाड गाउँपालिका–१ सल्लाका गम्भीर घाइते ४५ वर्षीय बिरेन्द्र ठगुन्ना, ४० वर्षीय जयबहादुर ठगुन्ना, ३५ वर्षीया फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षीया रम्भादेवी ठगुन्ना र ३० वर्षीय देवसिंह ठगुन्नालाई उद्धार गरी दार्चुला सदरमुकाम खलंगा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एबम् प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिनुभयो ।

गम्भीर घाइते सबैको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । प्रहरी निरीक्षक मगरले भन्नुभयो, “घाइतेमध्ये बिरेन्द्र ठगुन्नाको अवस्था चिन्ताजनक छ । सल्ला गाउँमा घर माथिबाट पहिरो खस्दा उहाँहरु घाइते हुनुभएको हो ।” 

बाढी पहिरोमा परी मृत्यु हुनेमा नौगाड गाउँपालिका –१ सल्लाका अन्दाजी ३५ वर्षीया जानकी ठगुन्ना, १४ वर्षीया धनमती ठगुन्ना, नौगाड गाउँपालिका –२ दल्लेखका मोहनराम पार्की, महाकाली नगरपालिका –२ मैखोलीका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली नगरपालिका –१ का ४५ वर्षीया मानमती कार्की रहेको प्रहरी निरीक्षक गाहामगरले बताउनुभयो । 

बाढी र पहिरोमा परी बेपत्ता हुनेमा नौगाड गाउँपालिका –१ का ३५ वर्षीया चिमडी ठगुन्ना, सोही ठाउँका १५ वर्षीया महामरी ठगुन्ना, नौगाड –२ दल्लेकका ४० वर्षीय मनीराम लुहार, महाकाली नगरपालिका –४ का ४५ वर्षीय मोहन लुहार, सोही ठाउँकी ४० वर्षीया सरस्वती लुहार, महाकाली नगरपालिका –३ डुङरीका ५५ वर्षीय धनसिंह कार्की, उहाँका जेठा छोरा २० वर्षीय दिपक कार्की, १२ वर्षीय कान्छा छोरा दिनेश कार्की र महाकाली नगरपालिका –२ मुल्लाका ७५ वर्षीया मानमती साहु रहनुभएको छ । 

बाढी पहिरोले तीन दर्जन बढी घरमा क्षती पुगेको छ भने केही घर नदीमै बगेका छन् । महाकाली नगरपालिकाभित्र दुई वटा विद्यालय भवन र विभिन्न स्थानमा गरी दर्जनभन्दा बढी सवारी साधन बाढीले बगाएको छ । बेपत्ता र घाइतेको उद्धार र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ । सोही हेलिकोप्टरमार्फत धनगढीबाट राहत सामग्री लग्ने तयारी भएको छ ।

राहत वितरणका लागि मन्त्री दिलेन्द्रप्रसाद बडू नेतृत्वको टोली दार्चुला पुग्ने क्रममा रहेको बताइएको छ । सङ्घीय र सुदूरपश्चिम सरकारका साथै स्थानीय तहबाट समेत राहत र उद्धार कार्यका लागि पहल भइरहेको छ । तत्काल बाढी पहिरो प्रभावितलाई राहत र उद्धारका लागि विभिन्न राजनीतिक दलहरुले अनुरोध गरिरहेका छन् । 

उद्धार कार्यमा राजनीतिक दलहरुको सक्रियता देखिएको छ । नेकपा (एमाले) दार्चुला र एमाले निकट भ्रातृ सङ्गठनले रातिदेखि निरन्तर उद्धार कार्य गरिरहेको छ । पार्टी नेतृत्वको निर्देशन र स्वस्फुर्त रुपमा आफुहरु रातिदेखि उद्धारमा खटेको अनेरास्ववियुका नेता गोविन्द धामीले बताउनुभयो ।

नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री बडू, दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग वन तथा वातावरणमन्त्री मानबहादुर धामीलगायतले उद्धार र राहतका लागि काम गरिरहनुभएको छ । रेडक्रस, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली बाढी पहिरो प्रभावित क्षेत्रमा खटिएर स्थानीयसँगै उद्धारको कार्य गरिरहेको छ । 

नदी थुनियो

यसैबीच महाकाली र लास्कु खोलामा आएको बाढीपछि महाकाली नदी थुनिएको छ । लास्कु खोलादेखि नदी थुनिएर कलौनसम्म बाँध बनेको छ । थुनिएको नदी खुलाउन तथा जोखिममा रहेका स्थानीयको तत्काल उद्धार गर्न स्थानीयबाट माग भइरहेको छ । नदी थुनिएपछि दुहुँ र व्यास क्षेत्रबाट सदरमुकाम खलंगा आउने–जाने बाटो बन्द भएको स्थानीय समाजसेवी हरदेव जोशीले बताउनुभयो ।