• ६ चैत २०८०, मङ्गलबार

हरिलाई काठमाडौं म्याराथन उपाधि

blog

म्याराथन उपाधि विजेताहरु पुरस्कार लिँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, भदौ २५ गते । १४औँ संस्करणको काठमाडौं म्यारागथन उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमालले जित्नुभएको छ । काठमाडौंमा शनिबार भएको म्याराथनमा हरिले निर्धारित दुरी दुई घण्टा ४० मिनेट ४० सेकेन्डमा पूरा गर्नुभयो । जुनेश खड्का दोस्रो हुनुभयो । जुनेशले दुई घण्टा ४२ मिनेट ५९ सेकेन्डमा दौड सक्नुभएको थियो । तेस्रो हुनुभएको  राजन चौधरीले निर्धारित दूरी दुई घण्टा ५५ मिनेट ४७ सेकेन्डमा पूरा गर्नुभयो । 

हाफ म्याराथनमा सुवास गुरुङ पहिलो हुनुभयो । उहाँले निर्धारित दुरी एक घण्टा १५ मिनेट २१ सेकेन्डमा पूरा गर्नुभयो । एक घण्टा २२ मिनेट २२ सेकेन्डमा दौड सक्दै नवराज बुढा दोस्रो र २ घण्टा २५ मिनेट ४७ सेकेन्डमा दौड सक्दै देवराज बस्नेत तेस्रो हुनुभयो । 

महिलातर्फ एक घण्टा २६ मिनेट ४० सेकेन्डमा दौड सक्दै रेखा विष्ट पहिलो हुनुभयो । लक्ष्मी थापा दोस्रो र निलिमा रावत तेस्रो हुनुभयो । उपाधिसँगै म्याराथन विजेता हरिले एक लाख, दोस्रो हुन सफल जुनेशले ५० हजार र तेस्रो हुनुभएका राजनले २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

हाफ म्याराथनको पुरुष र महिलातर्फको दुवै विजेतालाई समान ५० हजार, दोस्रोलाई २५ र तेस्रोलाई १० हजार रुपियाँ प्रदान गरियो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भएको म्याराथन काठमाडौंका विभिन्न रुट हुँदै पुनः त्रिपुरेश्वरमा आएर सकिएको थियो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, काठमाडौं म्याराथनका संस्थापक अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ लगायतले पुरस्कार प्रदान गर्नुभयो ।