• ६ चैत २०८०, मङ्गलबार

भुस्याहा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण अभियान

blog

भुस्याहा कुकुरको स्थायी बन्ध्याकरण गर्दै प्राविधिकहरू । तस्बिर– तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, भदौ २५ गते । गुल्मीमा भुस्याहा कुकुरहरुको आतङ्क बढेपछि कुकुरहरुलाई बन्ध्याकरण गर्ने अभियान सुरु गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिकाबाट भुस्याहा कुकुरहरुको बन्ध्याकरण गर्ने अभियान सुरु गरिएको हो । गाउँपालिकाको दुई लाख बजेटबाट बन्ध्याकरण गर्ने अभियान थालिएको छ ।

रुरुक्षेत्र गाउँपालिकाले सामुदायिक कुकुर व्यवस्थापन गर्ने उद्देश्यले बन्ध्याकरणमार्फत नियन्त्रण गर्ने अभियान थालेको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो । कुकुरहरुले बालबालिका झम्टिने, रातिको समयमा यात्रा गर्न पनि असहज पारिदिने र दुर्घटनासमेत निम्त्याएकाले स्थायी बन्ध्याकरण गरिएको ज्ञवालीले बताउनुभयो ।


कुकुरका समूहहरूमा अत्यधिक धेरै हुने, कृषकका घर–घर गएर साना पशु चौपायालाई आक्रमण गर्ने र मान्छेलाई समेत टोक्ने अवस्था आएपछि नियन्त्रण अभियान थालिएको उहाँले बताउनुभयो ।

कुकुरहरूमा बन्ध्याकरण गर्दा रेबिजविरुद्धको खोप दिएर गरिने भएकाले रेबिजको जोखिम पनि कम हुने, कुकुरहरूमा स्तन र पाठेघरको क्यान्सर कम हुने, कुकुरमा सङ्गिनी सुई लगाउने गरिएकाले उत्तम विकल्प स्थायी बन्ध्याकरण रहेको भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रमुख डा. भरत काफ्लेले बताउनुभयो ।

यसरी स्थायी बन्ध्याकरण गर्दा कुकुरहरूको आयु पनि बढी हुने, मोटाउने र स्वच्छ रहने उहाँको भनाइ छ । अहिले कम्तीमा ५० वटा कुकुरको बन्ध्याकरण गरिनेछ ।