• ६ चैत २०८०, मङ्गलबार

महिलालाई सशक्त बनाउँदै साप्ताहिक हाट बजार

blog

वर्दिवासको शनिवारे हाटमा हरियो तरकारी बेच्दै ग्रामीण महिला । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दिबास, भदौ २५ गते । गौशाला १ रामनर चिनिमिल टोलकी ३० वर्षिया उषाकुमारी बर्दिबासको साप्ताहिक हाट लागेका दिन हरियो तरकारी बेच्न आउनु हुन्छ । बुधबारे हाटमा उहाँले आज १ मन मुला (४० केजी) र ६ पसेरी (३० केजी) बेच्न ल्याउनु भएको छ । 

बिक्रीमा राखिएका उहाँका आफ्नै खेतमा उत्पादित तरकारी हुन् । श्रीमान् रामसजन तरकारी उत्पादन गर्नु हुन्छ र उषाकुमारी नजिकका साप्ताहिक हाटमा लगेर बेच्नुहुन्छ । चाड पर्व नजिकिने क्रमसँगै तरकारीको माग बढेकाले शनिबार उहाँ तरकारी बेच्दै आउनुभएको छ । यस पटक राम्रो वर्षा नभएको र सिँचाइको सुविधा नपुगेकाले सोचेजस्तो तरकारी उत्पादन नभएको उहाँको भनाई छ । तरकारीको मूल्य राम्रो भएकाले घाटा नभएको उहाँले बताउनुभयो ।  

उषाको आमनेसामने बर्दिबास ३ पर्साइधापकी ३२ वर्षिया लक्ष्मी माझीले बारीको बोटमा फलेका एक बोरा कागती बेच्न ल्याउनु भएको छ । पर्साइधाप सिन्धुलीसँग जुटेको बर्दिबास नगरको सुदूर उत्तरवर्ती गाउँ हो । असार महिनाताका लक्ष्मीले जङ्गली तरकारी काली निगुरो, गुरखाको साग, झिमनी यही हाटमा बेच्नुभयो । 

त्यसबेला तरकारी बेचेर तीस चालिस हजार जति कमाई भएको बताउनुभयो । कागती प्रशस्त फलेकाले राम्रो मूल्य पाए नजिकिँदो दशैको किनमेलमा सघाउ पुग्ने उहाँको आशा छ । 

लक्ष्मीको दायाँ बायाँ बर्दिबास ४ टुटेश्वरकी पवित्रा आले र मञ्जु श्रेष्ठ, भवसीकी मिनादेवी, आशा पूर्वछाने पनि आफ्नै बारीमा फलेका कलिला फर्सी, मुन्टा, लौका, घिरौँला, हरिया खुर्सानी लगायतका तरकारीको पसल सजाएर बस्नुभएको छ ।

बर्दिबास हाटमा पसल थाप्नेमा तरकारी बेच्ने महिला व्यापारीको सङ्ख्या बढदोक्रममा छ । शनिबारे हाटमा हरिया तरकारीका १ सय ४८ साना पसल थापिएकोमा ८४ पसलका विक्रेता महिला हुनुहुन्छ ।  

स्थानीय जेष्ठ नागरिकका अनुसार दशक अघिसम्म पनि बजारमा महिला व्यापारीको पहुँच अहिलेजस्तो थिएन । सीमान्त गाउँपालिका समसी ४ स्थित पर्सादेवाडका ७८ वर्षीय विष्णु चौधरीको अनुभवमा विगत केही समयले बजार अर्थतन्त्रमा महिलाको सहभागिता बढाएको छ । 

खाद्यान्न व्यापारको सिलसिलामा २०२२ सालदेखि बर्दिबाससँग साइनो गाँस्नु भएका उहाँका अनुसार तराईका बजारमा त्यतिबेला महिला हत्तपत्त बजारमा देखा पर्दैन थिए । घुम्टो ओढ्ने प्रचलन थियो । बजार जानुपर्दा साथमा पुरुष संरक्षक हुन्थे । 

‘अब समाज धेरै अघि बढी सक्यो’ उहाँले भन्नुभयो, ‘महिला अब निर्धक्क बजार आउँछन्, सामान बेच्छन् र किनमेल गरेर घर फर्कन्छन्, कुनै छेकबार छैन ।’  जिल्लास्थित कृषि कार्यालयले प्रकाशित गरेको एक तथ्याङ्कअनुसार महोत्तरीका १५ वटै स्थानीय तहमा ७४ वटा कृषिउपज बजार छन् । अधिकांश बजार साताको दुई दिन लाग्ने गरेको छ । जिल्लाका सबै हाट बजारमा महिला व्यापारीको सङ्ख्या बाक्लिदैगएको छ । 

मधेस प्रदेशका सांसद शारदा थापाको भनाइमा यस्ता हाटबजारले गृहिणी महिलालाई समाजसँग जोड्ने काम गरेको छ । स्वावलम्बी र आत्मनिर्भर बन्न चाहने महिलाका लागि साप्ताहिक हाटबजार भरपर्दो माध्यम बनेको उहाँको बुझाई छ ।  तर राज्यको लगानीविना आत्मनिर्भरतर्फ उन्मुख यी महिलाका हितमा सरकारले ध्यान नदिएको उहाँको बुझाई छ ।