• ६ चैत २०८०, मङ्गलबार

बालबालिका जोखिमपूर्ण भवनमा

blog

चरीकोट समाचारदाता 

चरीकोट, भदौ २५ गते । दोलखा सदरमुकाम चरीकोटबाट करिब दुई किलोमिटर तल लामोसाँघु–जिरी सडकमुनि भूकम्पले जीर्ण बनेको भवन रहेको छ । बाहिरबाट हेर्दा चिटिक्क देखिने भवन भित्र हेर्दा भने ठाउँ–ठाउँमा चिरिएको छ । यसै भवनमा खोखिमपूर्ण तवरले गौरीशङ्कर बालगृह चलाइएको छ । 

बाल सङ्गठन दोलखाले जिम्मा लिएको भवन भूकम्पले जीर्ण बने पनि न अर्को नयाँ भवन बन्यो, न मर्मत नै भयो । नेदरल्यान्डस् अन्तर्राष्ट्रिय बालकल्याण सङ्गठन तथा नेपाल बाल सङ्गठनको संयुक्त सहयोगमा निर्माण गरिएको बालगृहको २०५३ साल कात्तिक ३० गते तत्कालीन कार्यवाहक प्रधानमन्त्री एवं श्रममन्त्री बलबहादुर राईले उद्घाटन गर्नुभएको थियो ।

जीर्ण भवनमा अभिभावकविहीन २५ जना बालबालिका जोखिमपूर्ण रूपमा बस्दै आएका छन् । बालगृहको भवन व्यवस्थित छैन, चर्किएको छ, झ्यालढोका फुटेका छन् । सोही कारणले हिउँदमा हावाहुरी र वर्षायाममा पानी चुहेर लड्ने डर छ । विदेशीको सहयोग रहँदा भने बालगृहका बालबालिकाको पठनपाठन निजी विद्यालयमा हुने गरेको थियो । 

बाल सङ्गठनका पूर्वअध्यक्ष राकेश श्रेष्ठले बालगृहमा बसेर अध्ययन गरेका विद्यार्थी डाक्टर, नेपाल सरकारको उच्च तहका कर्मचारी तथा राजनीतिक दलका पदाधिकारी बनेको बताउनुभयो । उहाँका अनुसार बालगृहमा नेदरल्यान्डस् सरकारले बालबालिकालाई विद्यालय लैजान ल्याउन गाडीसमेत दिएकोमा केही समयपछि सो गाडी बाल सङ्गठनको केन्द्रमा लगियो । बालगृहका बालबालिका अहिले सार्वजनिक विद्यालयमा पठनपाठन गर्दै आएका छन् । 

बालगृहको नाममा करिब ८० रोपनी जग्गा रहेको बताउँदै बालगृह दोलखाका प्रमुख ईश्वर दाहालले हुम्ला, जुम्ला, डोल्पालगायत जिल्लाका अनाथ तथा असहाय बालबालिका बस्दै आएको जानकारी दिनुभयो । “बालगृहमा खानेपानीको समस्या रहेको छ,” उहाँले भन्नुभयो, “आजभोलि वर्षाको समयमा केही सहज भए पनि हिउँदका बेला खानेपानी लिन आधा घण्टा टाढा र विद्यालय पुग्न बालबालिकालाई करिब एक घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ ।”