पानीको अभावले राजधानीवासी चिन्तित

सीता शर्मा/शिवा तामाङ

 

काठमाडौँ, वैशाख २६ गते ।  लामो खडेरीका कारण उपत्यकाका मुहान, इनार, धारा, कुवा र ढुङ्गेधाराजस्ता पानीका स्रोत सुक्न थालेपछि राजधानीवासी पानीको अभावमा पिरोलिएका छन् ।  उपत्यकावासीलाई खानेपानी उपलब्ध गराउने जिम्मेवारी लिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले सुख्खा मौसममा उपत्यकावासीको मागको २० प्रतिशतमात्रै पानी आपूर्ति गरेकाले पनि पानीको चरम अभाव सिर्जना भएको हो ।
केयुकेएलका अनुसार हाल उपत्यकामा दैनिक झन्डै ४० करोड लिटर खानेपानीको माग छ ।  त्यसमध्ये सुख्खायाममा दैनिक आठ करोड र वर्षातमा १५ करोड लिटरमात्र वितरण भइरहेको छ ।  निजी स्तरबाट सञ्चालित खानेपानी ट्याङ्कर व्यवसायी र जार तथा बोटल उद्योग व्यवसायीले दैनिक पाँच करोड लिटर पानी वितरण गर्दै आएको दाबी गर्छन् ।  केयुकेएलका प्रवक्ता मिलन शाक्यले पानीको धारा नपुग्ने ठाउँमा आफ्ना ट्याङ्करबाट पानी उपलब्ध गराइरहेको जानकारी गराउँदै केयुकेएलको प्राथमिकता भने धाराबाट वितरण गर्ने र धाराबाट नपुग्ने ठाउँमा मात्र ट्याङ्कर प्रयोग गर्ने हो भन्नुभयो । paani-
उहाँका अनुसार केयुकेएलसँग १२ वटा ट्याङ्कर छन्, माग भने दैनिक ५० ट्याङ्करसम्मको आइरहेको छ ।  उपत्यकामा वर्षेनि तीन हजार पाँचदेखि चार हजारको हाराहारीमा नयाँ धारा थप हुने क्रम जारी छ ।  हाल उपत्यकामा दुई लाख धारा छन् जसमा १७३ वटा मात्रै सार्वजनिक छन् ।  उपत्यकावासीको मागको अत्यन्तै न्यून पानी उत्पादन गर्ने त्यो पनि सबैतिर समान तरिकाले वितरण नगर्ने र चुहावटको समस्या त्यतिकै भएकाले उपत्यकामा पानीको चरम अभाव भएको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेल बताउनुहुन्छ ।  
उहाँले उपत्यकावासी उपभोक्तालाई उत्पादित पानी समान तरिकाले वितरण गर्ने र चुहावट नियन्त्रण गर्ने जिम्मा पाएको केयुकेएल जिम्मेवार नहुँदा सुख्खा मौसममा उपत्यकामा खानेपानीको अवस्था दिनप्रति दिन खराब हुँदै गएको बताउनुभयो ।  यता हाल उपत्यकामा दुई सय खानेपानी ट्याङ्कर व्यवासायी छन् ।  ती व्यवसायीले सात सयवटा ट्याङ्कर सञ्चालन गरिरहेका छन् ।  ट्याङ्कर व्यवसायी सङ्घसमेत तीनवटा छन् ।  खडेरीको मौका छोपी केही खानेपानी ट्याङ्कर व्यवसायीले दोब्बरसम्म रकम असुल्न थालेको उपभोक्ताले गुनासो गरिरहेका छन्
सुक्न थाले परम्परागत पानीका स्रोत
केयुकेएलका प्रवक्ता शाक्यले लामो खडेरीका कारण उपत्यकाका अधिकांश खानेपानीका स्रोत सुकेकाले पनि राजधानीवासीको पानीको मागको न्यूनतम आवश्यकता पनि पूर्ति गर्न नसकेको स्वीकार गर्नुभयो ।  
शाक्यका अनुसार उपत्यकामा केयुकेएलअन्तर्गत ३५ वटा मुख्य खानेपानीका स्रोत छन् जसमा तीस वटा स्रोतको अवस्था भने ज्यादै नाजुक छ ।  बाँकी पाँच वटा स्रोतबाट मात्र अघिल्ला वर्षहरूमा जस्तैगरी पानी आएको छ ।  अहिले उपत्यकावासीको खानेपानीको मागको अवस्था हेर्दा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आए पनि माग पूर्ति हुने दैखिँदैन तर पनि न्यूनतम माग पूर्तिका लागि धेरै राहत पुग्ने विश्वास गरिएको छ, उहाँले भन्नुभयो ।  
मुहान सुक्नुको कारण
भूर्गवविद् प्राडा सुरेशदास श्रेष्ठले सुख्खा वा खडेरीमा पानीका स्रोत घट्नु त्यति नौलो नभए पनि यसपटक मुहान सुक्नुले सबैलाई आश्चर्य पारेको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘वर्षाैँदेखि नसुकेका पानीका मुहान सुक्नुको कारणका विषयमा अहिलेसम्म कुनै अध्ययन नभए पनि गत वर्षको भूकम्पले गर्दा पानीको मुहानमा ठूलो धक्का पुगी बाटो परिवर्तन भएको हुनसक्ने अनुमान गरिएको छ । ’
अर्कोतर्फ हामीले आकाशबाट आएको पानीसमेत सोस्ने जमिन सबै ढलान गरेर ढलमा पठाउने र पानीका मुहान नजिक ठूल्ठूला ट्युबवेलबाट पानी तान्ने प्रचलन बढेको अनि जमिनमा पानी सकिएकाले पानीका मुहान सुकेको हुनसक्ने उहाँको भनाइ छ ।  
खानेपानीको समस्या समाधान
भूकम्पले गर्दा बाटो परिवर्तन गरेको पानीको मुहान पत्ता लगाउन असम्भव नभए पनि सजिलो पक्कै नभएको बताउँदै भूर्गभविद् श्रेष्ठले यसका लागि निकै गहिरो अध्ययन र ठूलो लगानीको आवश्यकता पर्छ भन्नुभयो ।  
उहाँले उपत्यकामा मेलम्ची ल्याउने लगायतका ठूल्ठूला आयोजनाका कुरा गरे पनि खानेपानीको दीर्घकालीन र भरपर्दो समाधान भनेको आकासे पानी पुनःभरणको कार्यक्रमलाई प्राथमिकता दिनु हो र निर्विकल्प उपाय पनि हो भन्नुभयो ।  अब एकदुई साता आकाशबाट जमिन गल्नेगरी पानी परेन भने खडेरीले विकराल रूप लिन सक्ने भन्दै श्रेष्ठले भन्नुभयो, ‘सुख्खा मौसममा उपत्यकाका उपभोक्ताको मागअनुसारको पानी उपलब्ध गराउन स्रोत पर्याप्त नहुने हुँदा उपभोक्ताले पानीको सक्दो सदुपयोग गर्नुपर्छ । ’


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना