• ६ चैत २०८०, मङ्गलबार

हात्तीले घर भत्काएपछि परिवारको बिचल्ली

blog

गौशाला नपा –१२ पुरानो कान्तिबजारमा जंगली हात्तीले भत्काएको घर । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, भदौ २४ गते । महोत्तरीको ग्रामीण भेगमा हात्ती पसेपछि स्थानीयवासी आतङ्कित भएका छन् । हात्तीको जोडीले बस्ती छाड्न नमान्दा गाउँमा त्रास कायमै छ । केही घर भत्काएर गएजस्तो गरे पनि फेरि फर्केर दुख दिनेगरेको पीडित गाउँलेले जनाएका छन् । 

गौशाला नगरपालिका-१२ स्थित पुरानो कान्तिबजारमा बिहीबार पसेको हात्तीले स्थानीय शम्भु रानामगर र शिवा पाण्डेको घरमा क्षति पुर्‍याएको  छ । राति सवा १० बजेतिर बस्तीमा पसेको हात्तीले गाउँलेको बाँसको घेरबार भत्काएर अन्नपात खाएका छन् । ज्यान जोगाउन गाउँमा भागाभाग भएको गाउँलेले बताएका छन् ।  

स्थानीय कान्तिबजार प्रहरी पोष्टका असई शम्भु सिंहका अनुसार प्रहरी र गाउँलेको प्रयासमा दुवै हात्ती गाउँको पूर्वी छेउमा रहेको उखुबारीमा पसेका छन् । हात्ती गए भन्ने लागेर गाउँहरू सुत्न गएपछि राती १ बजे फेरि हात्ती गाउँमा प्रवेश गरेका थिए । 

घरमा बस्नै नमिल्ने गरी घरमा पुनः क्षति गरेका छन् । बाँकी रहेका अन्नपातसमेत खाई, छरी नष्ट गरेपछि पीडित परिवार बिचल्लीमा परेका छन् । बनिबुतो गरेर छाक टार्ने अवस्थाका दुवै परिवार छिमेकीको घरमा शरण लिन बाध्य भएका छन् । 

‘न घर रह्यो न अन्नपात, कसरी गुजारा गर्ने ?’ रानाले पीडा पोख्नुभयो । यसअघि दुवै हात्तीले बर्दिबासका २ वडामा ९ घर र गौशाला नपाको वडा १० मा २ घरमा क्षति पुर्‍याएका  थिए । 

जङ्गली क्षेत्रमा पहिलेझैँ पर्याप्त खाना र पानी नपाउँदा हात्ती गाउँ पस्ने गरेको बनकर्मीको अनुमान छ । होहल्ला गरेपछि शुक्रबार बिहान हात्तीका जोडी बाँके खोलापारि सर्लाहीतर्फ लागेको प्रत्यक्षदर्शीको भनाई छ ।