राष्ट्रिय पत्रकारिता दिवस, गोरखापत्र र अबको बाटो

sushil koiralaसुशील कोइराला

कुनै पनि राष्ट्रिय पर्व अथवा दिवसले त्यस युगको काल, पीडा र छट्पटीपछिको उद्वेगलाई प्रतिविम्बित गरेको हुन्छ । आजको दिवसको गर्भगृहभित्र पनि यस्तै समाजलाई डो¥याउन चेतनाको चिराग बालिएको दिनको सम्झना हुन्छ ।
आजको दिन, चेतनाको द्वीप प्रज्ज्वलित गराई अघि सर्ने केही चेतनशील नेपालीको अगुवाइले आफ्नो लक्ष्य र गन्तव्यलाई स्पर्श गरेको दिन हो ।
बनारसबाट गोर्खा भारत जीवन सम्पादन गरिरहेका युवा कवि मोतिराम भट्ट दरबारसँग निकट रहेका आफ्ना मामा पं. नरदेव पाण्डेमार्फत नेपालकै भूमिमा समाचारपत्र प्रकाशन गराउन झक्झक्याउने व्यक्तिमध्ये एक हुनुहुन्थ्यो । आफ्नै जीवनकालमा आफ्नै माटोमा समाचारपत्र प्रकाशन भएको उहाँले देख्न त पाउनुभएन तर उहाँको निधनपछि उहाँको चेतना मौलाएर समाज सुधारकहरुलाई यस क्षेत्रतर्फ अग्रसर हुन प्रेरणा भने दियो ।
अनुदारवादी राणा शासनको शोषण, दमन, अन्याय र उत्पीडनको उत्कर्षकालमा शासन सत्ताको पालो कुरेर बसेका त्यही विरासतका श्री ३ देवशमशेरले आफू प्रधानमन्त्री बनेको ६२ औँ दिनमा राज्यका गतिविधि जनतालाई सुसूचित गराउन तथा जनताले भोगेको असुविधा र व्यहोरेका अन्यायको जानकारी सरकारलाई होस् भन्ने अभिप्रायले “हाम्रा प्रशस्तिका कुरा नछाप्नु, अनौठा अनौठा कुरा छाप्नु” भन्ने पत्रकारिताको उच्चतम आदर्श भएको इस्तिहार जारी गरी आजकै दिन नेपालकै भूमिमा पहिलो समाचार पत्रको रूपमा गोरखापत्र प्रकाशनको प्रारम्भ गरी आफूलाई उदारवादी शासकको अग्रपङ्क्तिमा राख्न सफल भए ।
नेपालको आफ्नै पत्रकारितासम्बन्धी दिवस नभइरहेको सन्दर्भमा आफ्नै माटोमा पत्रकारिता बीजाङ्कुर भएको यही प्रारम्भ बिन्दुलाई राष्ट्रिय पत्रकारिता दिवसको मान्यता दिनु भनेको नेपाली पत्रकारिताको मूल प्रवाहको नेतृत्व गर्दै आएको गोरखापत्रको सम्मान गर्दै यसलाई चिरस्मरणीय बनाउनु पनि हो । तत्कालीन नेपाली समाजको शैक्षिकस्तर निकै कमजोर भएको बेलामा देश विदेशका खबरको तृष्णा जगाई मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, साहित्यिक, भाषिक कला एवंं सांस्कृतिकलगायतका क्षेत्रको उन्नयनमा यसले गरेको योगदान अविस्मरणीय छ । यो नेपाली समाजको सम्पूर्ण आयामको जिउँदो साक्षी हो । यसले सती प्रथाको दुर्दिन भोग्यो र मुक्ति देख्यो । यसले प्रजातन्त्रको उदय पनि देख्यो, विघटन पनि भोग्यो, प्रजातन्त्र प्राप्तिको उपद्रव पनि देख्यो, लोकतन्त्र प्राप्तिको विप्लव पनि हे¥यो । नेपालको आधुनिक इतिहासको झण्डै आधा कालखण्डको यसले वकपत्र गरेको छ । यो नेपाली राजनीतिक विकास र इतिहास मात्र होइन, नेपालको साहित्यिक, शैक्षिक, सांस्कृतिक, भाषिक र सामाजिक उत्थानको वाहक पनि हो ।
समयको प्रवाह र निर्वाह गर्नुपर्ने भूमिका सधैँभरि एकनास हुँदैन । हिजोको समयमा यसले निर्वाह गरेको भूमिका निश्चय नै अग्रगामी छलाङ थियो होला तर आज सन्दर्भ फेरिएको छ । आफूजस्तै प्रतिस्पर्धीसँग पौँठेजोरी खेल्दै आफ्नो अस्तित्व जोगाउनु छ । राज्यका नीति, कार्यक्रम र गतिविधिहरु देशका अति दुर्गम ठाउँहरुमा पु¥याउँदै त्यहाँका नागरिकलाई सूचनाको माध्यमबाट चेतनशील र सशक्त बनाई राज्यको भरलाग्दो टेको बनाउनुछ । समाचार एवं सूचनाको उपभोगले नै नागरिक आफ्ना हक, अधिकारप्रति सचेत एवं जागरुक भई उपभोगका लागि अग्रसर हुन्छन् र आफूलाई अझ प्रवलरूपमा प्रस्तुत गर्न सक्ने हुन्छन् । यसले एकातिर जनमतलाई एकीकृत गरी सार्वजनिक विचारलाई प्रखररूपमा अभिव्यक्त गर्दै राज्यपक्षका भनाइ र गतिविधिलाई पर्याप्त महŒव, स्थान र प्राथमिकता दिई समाचार सम्प्रेषणद्वारा दुर्गम भेगका ती सीमान्तकृत वर्गसम्मलाई उनीहरुको हक अधिकारप्रति सचेत गराउँदै सशक्त पार्नु परिरहेको छ भने अर्कोतिर व्यवसाय गरेर जीविका चलाउनु पर्ने विरोधाभासपूर्ण अवस्थाबाट पनि गोरखापत्र संस्थान गुज्रिरहेको छ ।
उद्योग व्यवसायीले आफ्नै निजी स्वार्थमा उपयोग गर्ने गरी विज्ञापन प्रायोजनको व्यवस्था गरेमा पनि जीविकाका लागि व्यापारीको वशीभूत हुने परिस्थिति छ । यदि व्यापारीको प्रस्ताव अस्वीकार गरौँ भने गुजारा नचल्न सक्छ, स्वीकार गरौँ यस क्षेत्रले निर्वाह गर्ने दायित्व स्वच्छ, कञ्चन र यथार्थ नहुन सक्छ । त्यसैले सरकार पक्षका भनाइ जनसमक्ष र निमुखाका आवाज सरकारसमक्ष पु¥याई राष्ट्रिय दायित्व निर्वाह गरिरहेको यो संस्था आर्थिकरूपबाट ग्रस्त र त्रस्त हुनु राम्रो होइन ।
उदारताबाट सत्तासीनहरुको गाथा नगाउने तर राज्यका गतिविधि जनसमक्ष र जनताका पीरमर्का सरकारसमक्ष पु¥याउने आदर्शबाट जन्मिएको गोरखापत्रलाई यसको शाख, प्रतिष्ठा र गरिमालाई ध्यान दिँदै व्यावसायिक परिणाममुखी र जनमुखी बनाउन अब अपरिहार्य भइसकेको छ ।
हिजो सत्तासीनहरुले लछारपछार पारी आफ्नो स्वार्थ अनुकूल उपयोग गरेको प्रसङ्गलाई नजिर बनाउँदै एकपछि अर्को शासकहरुले तिनै प्रवृत्ति दोहो¥याउँदा गोरखापत्रको हविगत टिठलाग्दो भएको हो । कालखण्डका ती घटनाले इतिहासका कुनै कुनामा घोसेमुन्टो लगाएकै होलान् । व्यवस्था प्रजातान्त्रिक भएन भनी सङ्घर्ष गरिएका ती दिनका कुरा कोट्याइरहनु भन्दा सत्तारोहण हुने बित्तिकै यसलाई थिलोथिलो पार्ने प्रवृत्ति रोक्न जरुरी छ । किनभने अब त लोकतान्त्रिक सरकार छ, प्रजातान्त्रिक संस्कार भएका राजनीतिक दलहरु छन् ती दलहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जीवन पद्दति र संस्कृतिकै रूपमा आम नागरिकमा अङ्गिकार गराउन अघि सरिरहेका छन् । यस्तो अवस्थामा भाषिक र सांस्कृतिक एकतालाई एउटै धागोमा उनेर राष्ट्रिय एकताको गहन जिम्मेवारीदेखि सामाजिक दायित्व वहन गर्दै आएको हाम्रो यो साझा धरोहरलाई समयानुकूल रूपान्तरण गर्न ढिलाइ गर्न हुँदैन ।
प्रत्येक राजनीतिक परिवर्तनसँगै यसको चर्चा हुन्छ र विस्तारै मथ्थर हुन्छ । चाहे देवशमशेरको पतन वि. सं. १९५९ मा होस् वा लोकतन्त्रको उदय २०६३÷६४ मा होस् त्यसबेला पनि यसको चर्चाले व्यापकता पाएको थियो । वि. सं. १९५९ को असारमा चन्द्रशमशेरले शासनको बागडोर सम्हालेपछि गोरखापत्रलाई उनको शासन मार्गमा अवरोध पु¥याउने काँडो ठानी पन्छाई नै दिए । तात्कालीन समयमा पनि देश विदेशमा राम्रै चासो उत्पन्न गराउन सफल गोरखापत्र बेलायतका कारण पुनः सुरु भयो । २०१७ सालको परिवर्तनले यसलाई कसरी अघि बढाउने भनी पुनः चर्चामा ल्यायो । त्यसबेलाको राजनीतिक कूपछि जनचेतनाको लहरलाई दबाउन सक्ने हिम्मत त्यसबेलाका शासकमा नभएरै यसलाई कसरी सञ्चालन गर्ने भन्ने विमर्शका लागि तत्कालीन प्रचार विभागका निर्देशक नारायणप्रसाद बाँस्कोटाको अध्यक्षतामा जनसम्पर्क अधिकृत पूर्णप्रसाद उपाध्याय, गोरखापत्रका प्रधान सम्पादक गोपालप्रसाद भट्टराई, व्यवस्थापक नानिबाबु आचार्य सदस्य रहेको गोरखापत्र विकास बोर्ड गठन भई सोही बोर्डको सिफारिसमा गोरखापत्र कर्पोरेशन ऐन–२०१९ जारी भई २०२० साल असार २५ गतेदेखि सार्वजनिक संस्थानको रूपमा परिणत भयो ।
तत्कालीन परिवर्तनपछि लागू भएको पञ्चायती व्यवस्था प्रजातान्त्रिक हो भनी यसैको समर्थनमा बल पु¥याउन मात्र यो ऐन जारी भएको प्रतीत हुन्छ किनभने व्यवस्था अझ उदार र प्रजातान्त्रिक छ भनी प्रमाणित गर्न प्रकाशन एवं पत्रकारितासम्बन्धी पहिलो कानुन गोरखापत्र ऐन–२०१९ को प्रस्तावनामा नेपाली जनताको सुविधा एवं आर्थिक हितका लागि गोरखापत्रको सञ्चालन एवं प्रकाशनलाई सरकारको नियन्त्रणबाट झिकी सर्वसाधारण जनतालाई बढी मात्रामा सरिक गराई प्रकाशनको स्तर उठाएर लोकप्रिय र प्रभावकारी बनाइने भनी स्पष्ट पारिए पनि यसका प्रावधानहरु कहिल्यै कार्यान्वयन भएनन् । किनभने यो ऐन पञ्चायतलाई प्रजातान्त्रिक देखाउन यसको पृष्ठपोषणका लागि ल्याइएको थियो ।
पञ्चायत कालभरि त यो कार्यान्वयन नगरिनु स्वाभाविकै थियो । २०४६ सालको प्रजातन्त्र पुनःस्थापनापछि पनि यसको चर्चा चाहिँ बेस्सरी चलाइयो तर कार्यान्वयनमा फेरि ध्यान पुगेन, चर्चा त्यसै सेलायो ।
हो, ऐनमा भएका केही प्रावधानहरु गृहकार्य बिना तत्काल लागू गर्न अव्यावहारिक भयो होला तर ऐन लागू भएको आधा शताब्दी बितिसक्दा पनि यसलाई यथास्थितिमा छाड्नु भनेको सत्तारोहणको पालो परेपछि यसलाई आफ्नो स्वार्थ अनुकूल उपयोग गर्न सहज पार्नका लागि हो भन्ने स्पष्टै बुझिन्छ ।
अब फेरि समय परिस्थिति र परिवेश बदलिएको छ । मुलुकको पछिल्लो घटनाले ल्याएको र अकल्पनीय परिवर्तनले धेरैको हिम्मत, साहस र विश्वास बढाएको छ । यही शताब्दीमा पनि राजतन्त्रका बारेमा नकारात्मक कुरा उठ्दैन कि भन्दाभन्दै आखिर राजतन्त्र हटाउन हाम्रै समाज अघि स¥यो । ६० को दशकमा आएका परिवर्तनका छालले पुराना प्रचलन र परम्परावादी परिपाटीलाई भत्काउँदै निर्विकल्प भनिएको राजतन्त्रका ठाउँमा गणतन्त्र स्थापित भइसक्यो भने परम्परादेखि एउटै ढर्रामा चलिरहेको गोरखापत्रको संरचनाको सुधारमा गणतन्त्र अनुकूल पार्न अब ढिलाइ गर्न हुँदैन । यस्तो जिम्मेवार संस्था समयानुसार प्राथमिकतामा पर्नुपर्छ । प्रत्येक परिवर्तनसँगै गठन भएका आयोग, समिति र कार्यदलले दिएका सुझावलाई समेत ध्यान दिई यसको व्यवस्थापन जरुरी छ । सामाजिक एवं राष्ट्रिय दायित्व राम्ररी निर्वाह गर्दै आएको गोरखापत्रले कहिल्यै बाटो बिराएको छैन । व्यावसायिक निष्पक्षता कायम गर्दै राज्य पक्षका भनाइलाई पर्याप्त महŒव र स्थान दिई दुर्गम भेगमा रहेका जनतालाई विकास निर्माण, हक अधिकारका बारेमा सुसूचित गराउँदै सामाजिक दायित्व पनि राम्ररी वहन गरेको छ ।
नेपाली पत्रकारिताको जननीको रूपमा रहेको यो साझा धरोहरबाट आगामी दिनमा अझ बढी लाभ लिन सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधान अनुकूल बनाउँदै अन्य लोकतान्त्रिक मुलुकमा सञ्चालन गरेका नमुना जस्तै बन्नु पर्छ । त्यो नमुना रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रलाई एउटै छातामुनि राख्ने कानुनी व्यवस्था अथवा राज्यको सशक्त छापा माध्यमको रूपमा छुट्टै अघि बढाउने नीतिगत व्यवस्था गर्न अब ढिलाइ गर्नुहुँदैन । किनभने यो पत्रकारिताको पर्याय हो, प्रेसको जननी हो । गन्तव्यका लागि एउटा गोरेटो कोर्नै पर्छ तर त्यो गोरेटो सङ्घीय लोकतान्त्रिक र आगामी पुस्ताका लागि फराकिलो राजमार्ग हुनुपर्र्छ ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना