सबैको साझा गोरखापत्र

gokul sarmaगोकुलप्रसाद शर्मा

गोरखापत्र कुनै जादुगरीबाट झुल्केको होइन । यसको जीवनमा पूरै एक शताब्दीको इतिहास रहेको छ । त्यसलाई केस्राकेस्रामा केलाउनु सम्भव छैन । यतिका वर्ष बाँच्न धेरै सङ्घर्ष गर्नुपर्ने हुन्छ ।
गोरखापत्र अस्तित्वमा आएको श्रेय राणा प्रधानमन्त्री स्वर्गीय देवशमशेर ज.ब.रा. लाई छ । सन् १८६२ मा जन्मेका देवशमशेरले जम्माजम्मी ११४ दिनको आफ्नो कार्यकालमा गरेका सुधारवादी कामले उनी शिक्षाप्रेमी, प्रजातन्त्रका हिमायती र सुधारप्रिय थिए भन्ने बुझिन्छ । उनैले सर्वप्रथम १९५८ साल जेष्ठ बढी ११ रोज २ मा गोर्खापत्र (हाल गोरखापत्र) को प्रकाशन थालेका हुन् ।
विक्रम संवत् १९३४ मा जन्मेका जयपृथ्वीबहादुर सिंह विक्रम संवत् १९४६ मा बझाङका राजा भए राजसी सुख त्यागेर जनताको हित हुने कामना उनी सानै उमेरदेखि संलग्न थिए । उनी नेपाली भाषाका हिमायती र नेपालका शुभचिन्तक थिए । उनले विभिन्न विषयका पुस्तक लेखेर प्रकाशित गराई उसबेला शैक्षिक क्षेत्रमा रहेको अभाव धेरै अंशमा पूरा गरिदिए । उनी मानवतावादी दर्शनका हिमायती र विश्वशान्तिका अग्रणी थिए । ‘गोरखापत्र’ मा मलजल हालेर त्यसलाई हुर्काइ पुष्पित र फलित तुल्याउने काम उनैले गरेकाले ‘गोरखापत्र’ सित उनको अटुट सम्बन्ध रहेको छ । उनको स्मृतिमा गोरखापत्र संस्थानले आफ्नो भवनको प्राङ्गणमा उनको मूर्ति स्थापित गरेको छ ।
‘गोरखापत्र’ लाई उन्नतिको पथमा अग्रसर गराउन थुप्रै मानिसका अमूल्य योगदान रहेको छ । यसको सम्पादनमा ख्याति प्राप्त व्यक्तिहरूले आफ्नो निःस्वार्थ सेवा अर्पित गरेका छन् । ‘गोरखापत्र’ का तत्कालीन सम्पादक नरदेव पाण्डे, प्रेमराज शर्मा पौडेल, बालकृष्ण सम, गोपालप्रसाद भट्टराई, बालमुकुन्द देव पाण्डे, गोकुल पोखरेल आदि ख्यातिप्राप्त छन् ।
एक शताब्दी बाँचेको ‘गोरखापत्र’ हाम्रो जीवनको अभिन्न अङ्ग भइसकेको छ । बाल, युवा, वृद्ध सबै उमेरका मानिसका लागि यो उत्तिकै उपयोगी छ । केही समयअघिसम्म ढिलो प्राप्त हुने ‘गोरखापत्र’ पत्रिका अब भने बिहानको चियाको घुट्को लिने समयअगावै हाम्रो घरदैलोमा टुप्लुक्क आइपुग्छ । मेरै पत्रिका उत्कृष्ट छ भनेर गर्व गर्ने तर चिप्लेकीराको लोसो गतिमा हिँड्ने कतिपय पत्रिकालाई ‘गोरखापत्र’ ले झापड हानेको छ ।
हामी विभिन्न पत्रिका पढ्छौँ । कोही धेरै विज्ञापन हसुर्न हावी छ भने कसैलाई अनावश्यक समाचार र स्तरहीन लेख रचना घुसाएर पाना भर्नुसित सरोकार रहन्छ । त्यस्तो अनुपयोगी र खल्लो पत्रिका कसैले पनि रुचाउँदैन । अरुलाई झुक्याइ आफ्नो दुनो सोझ्याउन कसैकसैले व्यापारिक चालको आश्रय लिन्छन् । कठोर र सङ्घर्ष, कठिन परिश्रम र सुझबुझको बलमा ‘गोरखापत्र’ आफ्नै बलबुतामा अडेको छ । यसले प्रकाशित प्रत्येक रचनाको रचयितालाई सुपथ पारिश्रमिक दिन्छ ।

उपयोगिता
हामी ‘गोरखापत्र’ यति विघ्न किन रुचाउँछौँ, सो कुरा यसको उपयोगिताले नै बताउँछ । अब रङ्गीन कलेवरमा छापेर यसले ठूलै प्रशंसा अर्जित गरेको छ । ‘गोरखापत्र’ ले अनेक सामग्री पस्केर हाम्रो बौद्धिक ज्ञान बढाएको छ । यसले के दियो भन्नुभन्दा के दिएन र भन्नुपर्ने हुन्छ । यसले नीरक्षीर विवेकको परिचय दिएर प्रतिमान स्थापित गर्नु यसको ठूलो विशेषता हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना