• ६ चैत २०८०, मङ्गलबार

सम्बन्ध विच्छेदका मुद्दा वृद्धि

blog

अर्घाखाँची समाचारदाता

अर्घाखाँची, भदौ २४ गते । अर्घाखाँचीमा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको छ । अपरिपक्व उमेरमा विवाह, प्रेम विवाह र वैदेशिक रोजगारीजस्ता कारणले सम्बन्धविच्छेदको मुद्दा सङ्ख्या वृद्धि भएको जनाइएको छ ।

सम्बन्धविच्छेद गर्नेमा ८० प्रतिशत ४० वर्षमुनिका दम्पती रहेका छन् । अर्घाखाँची जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका छन् । गत आर्थिक वर्ष २०७८/७९ मा जिल्ला अदालत ३४९ वटा मुद्दा दर्ता भएकामा २०६ वटा मुद्दा सम्बन्ध विच्छेदका रहेका अदालतका स्रेस्तादार महेश खनालले जानकारी दिनुभयो । उहाँका अनुसार अदालतमा आएका मुद्दामध्ये झन्डै ६० प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका छन् । 

सामाजिक सञ्जालको प्रयोगसँगै प्रेम विवाह, कलिलै उमेरमा विवाह, अपरिपक्व उमेर, वैदेशिक रोजगारी, पारिवारिक असन्तुलन, श्रीमान्– श्रीमतीबीचको असमझदारी, घरेलु हिंसा, यौन असन्तुष्टि, महिला सशक्तीकरणलगायतका विविध कारणले सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको स्रेस्तादार खनालको भनाइ छ । गत आर्थिक वर्षमा २०६ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा १६१ वटा मुद्दा फर्स्योट भएका छन् । बाँकी ४५ वटा मुद्दा फस्र्याेट प्रक्रियामा रहेको अदालतले जनाएको छ । 

अघिल्लो वर्षबाट बाँकी रहेका तथा यस वर्षका गरी ४७४ मुद्दामध्ये ३४८ वटा मुद्दा फर्स्योट गरिएको अदालतका सूचना अधिकारी टेकराज गैरेले बताउनुभयो । सूचना प्रविधिको अधिक प्रयोग, समाजमा बढ्दै गएको खुला यौन सम्बन्ध, घरपरिवारले छोराबुहारीको ख्याल नगर्नुजस्ता कारणले पनि सम्बन्धविच्छेद बढेको हो ।