• ६ चैत २०८०, मङ्गलबार

विद्यालय नाटक महोत्सव सुरु

blog

काठमाडौँ, भदौ २४ गते । विराटनगरमा विद्यालय नाटक महोत्सव सुरु भएको छ। बुधबारबाट पहिलो दिन आयोजक आरोहण–गुरुकुल विराटनगरले नाटक ‘साँढे’ मञ्चन गरेर महोत्सवको सुरुवात गरेको हो। नाटक ‘साँढे’ राजनीतिक प्रवृत्तिमाथिको झटारो हो। देशमा चलिरहेको राजनीतिक हस्तक्षेपको उजागर हो नाटक ‘साँढे’ । ‘साँढे’ राजनीतिक दललाई गरिने एउटा व्यङ्ग्यात्मक शैलीको नाटक हो।

हिजो शासकीय प्रवृत्ति र आजको शासकीय प्रवृत्ति उही छ, स्वरूप मात्र बदलिएको हो। हामीकहाँ साँढे प्रवृत्तिका मान्छेहरू छन्। हाम्रो समाजमा घाँसमा छरिएको नुन खाने ‘साँढे’हरू दिनप्रतिदिन बढ्दै छन्। त्यसको विरुद्धमा मान्छेले कतै न कतैबाट रचनात्मक विद्रोह गरिरहेका छन्। नाटक यही कथावरपर घुमेको छ। 

नाटकमा विकास पराजुली, भरत कार्की, देवेन्द्र यादव, समीक्षा दाहाल, प्रदीप दाहाल, अजय सुवेदी, लकेश दङ्गाल, मन्तोष यादव, राजेश ठाकुर, रिया सिग्देल, प्रीति उपाध्याय, प्रतीक्षा न्यौपाने, अमन धमलालगायतले अभिनय गरेका थिए। गुरुकुलका विद्यार्थी अशोक गौतमको निर्देशन तथा सविन भट्टराई र देवेन्द्र यादवको सहनिर्देशनमा भीमनिधि तिवारीकृत साँढे तयार पारिएको हो।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा आगामी भदौ ३१ गतेसम्म हुने महोत्सवमा बिहीबारदेखि नियमित नौ विद्यालयका नौ नाटक मञ्चन हुनेछ। भदौ २३ गते मनकामना से.ई.बो. स्कुलले ‘उद्धारकर्ता विवेक’, भदौ २४ गते पूर्वाञ्चल विद्या सदन से.ई.बो. स्कुलले ‘अँधेरी नगरी’, भदौ २५ गते बूढानीलकण्ठ से.ई. स्कुलले ‘प्रत्यागमन’, भदौ २६ गते रञ्जनी एकेडेमिक ई. टिचिङ स्कुलले ‘चोर’, भदौ २७ गते सुम्निमा ई. स्कुलले ‘भविष्य निर्माण’ मञ्चन गर्नेछन्। 

त्यस्तै भदौ २८ गते मोर्डन एरा से.ई.बो. स्कुलले ‘कोही किन बर्बाद होस्’, भदौ २९ गते लक्ष्मीनारायण वेद विद्याश्रमले ‘सुसंस्कृतम्’, भदौ ३० गते कान्तिपुर से. स्कुलले ‘खुट्टीमा झुन्डिएको कोट’ र भदौ ३१ गते अन्तिम दिन श्री रविशङ्कर विद्या मन्दिरले ‘प्रेमको प्रतीक–भगवान् कृष्ण’ मञ्चन गर्नेछन्। 

यस्तै महोत्सवको दोस्रो दिन बिहीबार विराटनगरको श्री मनकामना से. ई. बो. स्कुलले शिक्षक कमल कुमार शाहीको लेखन तथा निर्देशनमा बनेको नाटक ‘उद्धारकर्ता विवेक’ मञ्चन गरेको थियो। 

नाटकले पृथ्वी जोगाउन विवेक नामका युवाले गरेको प्रयासलाई देखाउन खोजेको छ। विद्यार्थीमा सकारात्मक सोचको विकास तथा प्रकृतिको संवद्र्धनमा सघाउने अपेक्षाका साथ नाटक तयार पारिएको हो। नाटकमा आँचल खत्वी, शङ्कर साह, हर्षित अग्रवाल, देवराज साह, स्मृति पोखरेललगायतको अभिनय रहेको थियो।