• ६ चैत २०८०, मङ्गलबार

आफ्नै संरचनामा महानगरपालिकाको डोजर

blog

रमेश पौडेल 

पोखरा, भदौ २४ गते । पोखरा महानगरपालिकाले महेन्द्रपुलस्थित ४० वर्ष पुराना आफ्नै संरचनामा डोजर चलाएको छ। व्यावसायिक प्रयोगका लागि बनाइएको भवन जीर्ण बन्दै गएपछि पोखरा आर्ट ग्यालरी, सार्वजनिक पुस्तकालय भवनलगायत ३२ वटा सटरहरू भत्काएको छ। 

महानगरपालिकाकै स्वामित्वमा रहेका यी दुईवटा भवन महानगर प्रमुख धनराज आचार्य र वडाध्यक्ष दीपेन्द्र मर्सानीसहितको टोलीले भत्काएको हो। उक्त भवनको माथिल्लो तलामा पुस्तकालय, अर्कोमा ग्यालरी र भुइँ तलामा सटरहरू थिए ।

महानगरले सटर खाली गर्न भन्दै ३५ दिने सूचना निकालेको थियो। सूचना प्रकाशित भएको ३६औँ दिनमा डोजर चलाएको हो। वडाध्यक्ष मर्सानीले सटर खाली गराउन व्यवसायीलाई गुलाफको फूलसमेत दिएर आग्रह गरिएको बताउनुभयो। भवन भत्काउने क्रममा कुनै विवाद भएन, मर्सानीले भन्नुभयो– स्थानीयको ठूलो जनमतले जिताएका जनप्रतिनिधिलाई मनैदेखि सहयोग गरेर भवन खाली गरिदिए व्यवसायीले। 

एक त सटर बिचौलियाको हातमा पर्दा महानगरले भाडा उठाउन सकेको थिएन भने सो भवन सेती नदीको मापदण्डमा परेको थियो। सटरबाट करिब दुई करोड रुपियाँभन्दा बढी राजस्व उठाउन बाँकी रहेको महानगरले जनाएको छ। 

सो भवन भएको स्थानमा सुन्दर पार्क बनाउने योजना छ। उक्त स्थललाई पार्क र पार्किङ स्थलको रूपमा उपयोग गर्ने योजना रहेको महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो। 

भवन ४० वर्षअगाडि बनेको भए पनि यसमा २०५६ सालमा पोखराको एक मात्र सार्वजनिक ग्यालरी बनाइएको थियो। आर्ट ग्यालरी र पुस्तकालयलाई पोखराको पृथ्वीचोकस्थित पुरानो ट्राफिक कार्यालयमा बन्ने नयाँ भवनमा व्यवस्थापन गरिने भएको छ। 

आफ्नै संरचना भत्काएर मापदण्डविपरीतका संरचना भत्काउन थालेको महानगरलाई मापदण्डविपरीत बनाइएका निजी भवन भत्काउन सजिलो हुने अनुमान गरिएको छ। तत्कालीन महानगर प्रमुख मानबहादुर जीसी नेतृत्वमा ०७५ चैतमा बसेको कार्यपालिका बैठकले ग्यालरी र पुस्तकालय भत्काएर नयाँ ठाउँमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो। तर कामको थालनी भने भएको थिएन। तत्कालीन समयमा महानगरले पोखरा–८, नयाँबजारस्थित प्रदेश सङ्ग्रहालयमा ग्यालरी र पुस्तकालय सार्ने बताएको थियो। प्रदेशको मातहतमा रहेको सङ्ग्रहालयले उक्त प्रस्ताव अस्वीकार गरेको बताइन्छ।