• ६ चैत २०८०, मङ्गलबार

जापानिज इन्सेफ्लाइटिसका बिरामी बढे

blog

भरतपुर समाचारदाता

चितवन, भदौ २४ गते । चितवनमा पछिल्लो एक महिनाको अवधिमा जापानिज इन्सेफ्लाइटिसका नौ जना बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईंका अनुसार साउन २० गतेदेखि भदौ २० गतेसम्मको अवधिमा अस्पताल आएका २२ जना शङ्कास्पद बिरामीको जाँच गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्ला केही दिनयता सङ्क्रमण फैलँदो क्रममा रहेको जानकारी पाएपछि मङ्गलबार नै जिल्लाका प्रमुख अस्पताललाई शङ्कास्पद बिरामी भेटिनासाथ जापानिज इन्सेफ्लाइटिसको जाँच गर्न स्वास्थ्य कार्यालयले निर्देशन दिइसकेको छ । 

प्रमुख चापागाईंका अनुसार पछिल्लो समयको अवस्थालाई दृष्टिगत गर्ने हो भने चितवनमा देखिएको यो महामारीकै रूप हो । जिल्लामा नौ जनामा प्रमाणित भएपछि समुदायमा दुई हजार सात सय जनामा सङ्क्रमण रहेको छ भन्ने अनुमान गर्न सकिने उहाँले बताउनुभयो ।

जापानिज इन्सेफ्लाइटिस गत साउन २० गते पहिलोपल्ट भरतपुर र माडीका बिरामीमा सङ्क्रमण पुष्टि भएको थियो । चालू आवमा नेपालमा ४५ जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ । त्यसमध्ये १९ जना बागमती प्रदेशका विभिन्न जिल्लाका हुन् । चितवन जिल्लामा शङ्कास्पद बिरामीको पहिचान गरी नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाउनुपर्ने बाध्यता छ ।