• ६ चैत २०८०, मङ्गलबार

विशेष प्रकृतिका विद्यालय सम्हाल्ने ‘हेडमिस’

blog

नवराज कट्टेल

विराटनगर, भदौ २४ गते । विराटनगर–३ स्थित विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयमा दिवा र रात्रिकालीन अध्ययन अध्यापन हुँदै आएको छ। कक्षा १–५ दिवा र ६–१० को साँझ ५ बजेदेखि राति ९ बजेसम्म पढाइ हुँदै आएको हो। 

दिनभरि मजदुरी गरेर बेलुका विद्यालय पढ्न चाहने विद्यार्थीका लागि रात्रिकालीन विद्यालय सञ्चालन गरिएको हो। अन्य विद्यालयसँग तुलना गर्न नमिल्ने विराट महेन्द्रको जिम्मा महिला प्रधानाध्यापक दुर्गा निरौलाले सम्हाल्दै आउनुभएको छ। यो विद्यालय रात्रिकालीन भएकोले ‘टिफिन टाइम’ भने छुट्याइएको छैन।

विराटनगर–५ मा रहेको विराट बहिरा आवासीय माध्यमिक विद्यालय प्रदेशस्तरमै फरक क्षमता भएका विद्यार्थी अध्ययन गराउने विद्यालय हो। विद्यालयमा १–१२ कक्षाअन्तर्गत ९–१२ मा प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङको पढाइ २०७२ सालदेखि सुरु भएको छ। यो विद्यालयबाट बहिरा र सुस्तश्रवण भएका १५ जना विद्यार्थीले यस वर्ष सिभिल इन्जिनियरिङतर्फको कक्षा १२ उत्तीर्ण गरेका छन्। देशभरका २२ जिल्लाबाट २३२ जना विद्यार्थी अध्ययन गर्दै आएको विराट बहिरा माविमा मीनु अधिकारीले २०६८ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। 

विराटनगर महानगरपालिकाभित्रका सात विद्यालयलाई महिला प्रधानाध्यापकले सम्हाल्दै आउनुभएको छ। व्यवस्थापनमा असजिलो र अप्ठ्यारो भएका यस्ता विद्यालय महिलाको जिम्मेवारीमा चलिरहेका छन्। उहाँहरूले सहजै चुनौतीसँग सामना गर्ने क्षमता देखाउँदै आउनुभएको छ।

“सजिलो र अप्ठ्यारो दुवै छन्,” विराट बहिरा आवासीय विद्यालयकी प्रअ अधिकारीले भन्नुभयो, “जागिर खानभन्दा सेवा गर्ने मनसाय राखेर यहाँ आउनुपर्छ।” विद्यालयको छात्रावासमा २१० जना आवासीय विद्यार्थी छन्। उनीहरूको दैनिकी व्यवस्थापन, छात्रा र छात्रबीचको हेलमेल र अन्तर्घुलनको सन्तुलन मिलाउन घरको काम बिर्सनुपर्ने चुनौती रहेको प्रअ अधिकारीको भनाइ छ। 

छात्रावासमा बस्ने बालबालिकाको रेखदेखमा विशेष सतर्कता अपनाउनुपर्ने भएकोले १० जना कर्मचारी विद्यालयको आन्तरिक स्रोतबाट राखिएको छ। विद्यालयमा शिक्षक र प्रशिक्षक गरेर २२ जना कार्यरत हुनुहुन्छ।  प्रअ अधिकारीका अनुसार फरक क्षमता भएका विद्यार्थीका लागि सरकारले प्रतिमहिना चार हजार रुपियाँ छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। त्यसबाहेक विद्यालयको भौतिक संरचना तथा छात्रछात्रा आवासीय भवन निर्माणका लागि प्रअको हैसियतमा अधिकारीले दाता र स्थानीय तहसँग सहयोग जुटाउन सफल हुनुभएको छ। 

विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयका प्रअ निरौलाको अनुभव पनि उस्तै छ। विद्यालयको सेवाक्षेत्र फरक छ। औद्योगिक कोरिडोरअन्तर्गतका विराटनगर, कटहरी, बूूढीगङ्गा र सुनसरीको दुहबीसम्मका विद्यार्थी अध्ययनरत विद्यालयलाई विशेष दृष्टिकोणले हेर्नुपर्ने भए पनि सरोकारवालाको चासो न्यून रहेको उहाँको गुनासो छ। आवश्यकता बुझ्न नसक्दा रात्रिकालीन पढाइबाट छात्राहरू वञ्चित हुँदै गएका छन्। छात्रालाई राति घरघरमा पु-याउने यातायात सुविधा दिन जरुरी रहे पनि त्यसको मर्म बुझ्न व्यवस्थापन समिति, शिक्षक र स्थानीय तह गम्भीर देखिएका छैनन्।

समस्याग्रस्त विद्यालय सम्हाल्ने जिम्मेवारी महिलाले लिएको भन्ने मर्म बुझ्न नसक्दा दैनिक आवश्यकता धान्न समस्या झेल्नुपरेको विराटनगर–१२ स्थित सयपत्री परोपकार आधारभूत विद्यालय प्रअ सीता दाहाल बताउनुहुन्छ। अतिविपन्न परिवारका बालबालिका अध्ययन गर्ने भएकोले दैनिक विद्यार्थीलाई विद्यालयमा उपस्थित गराउनै हम्मेपर्ने गरेको उहाँको भनाइ छ। कक्षा १–४ रहेको विद्यालयमा ९५ जना विद्यार्थी अध्ययनरत रहेका छन्। तीमध्ये कतिपय विद्यार्थी खाना खान नपाएकै कारण विद्यालय आउँदैनन्। 

पढाइ शृङ्खला टुटाएर विभिन्न घटनामा संलग्न बालबिज्याइँ आरोपमा बाल सुधार गृहमा बसेका बालबालिका विराटनगर–३ स्थित बाल सुधार गृह माध्यमिक विद्यालयमा पढ्दै आएका छन्। यस्ता बालबालिका दुई सयको हाराहारीमा अध्ययनरत विद्यालयको प्रधानाध्यापकमा फूलमाया प्रसार्इं हुनुहुन्छ। सञ्चालन र व्यवस्थापनमा चुनौती रहेको बाल सुधार माध्यमिकका बालबालिकालाई पढाइमा लगाउन कठिनाइ झेल्दै आउनुभएको छ। तीन वर्ष अगाडिदेखि सञ्चालनमा आएको विद्यालयमा कक्षा ४–१० सम्म अध्ययन अध्यापन हुने गरेको छ। बालबिज्याइँमा परेका बालबालिकाको शैक्षिक गुणस्तर उकास्न कठिनाइ भए पनि शिक्षाको महत्त्व बुझाउँदै पढाइप्रतिको मनोविज्ञान विकास गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो। 

विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले विशेष प्रकृतिका विद्यालयमा विषयगत ज्ञान जरुरीपर्ने भएकोले महिला प्रअलाई जिम्मेवारी दिइएको बताउनुभयो। उहाँले विशेष प्रकृतिका विद्यालय सामान्य विद्यालयभन्दा भिन्न हुने भएकोले तुलना गर्न नमिल्ने गरी जिम्मेवारी पूरा भइरहेको भन्नुभयो। 

महाशाखा प्रमुख खतिवडाका अनुसार विराटनगरमा माध्यमिकबाहेक शहीद आधारभूत, आधारभूत विद्यालय कोचाखाल र जनता बाल कल्याण आधारभूत विद्यालयमा पनि महिला प्रधानाध्यापक हुनुहुन्छ।