• ६ चैत २०८०, मङ्गलबार

सङ्घर्ष जारी रहनेछ : अध्यक्ष दाहाल

blog

सहिद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले आयोजना गरेको स्मृति दिवस तथा स्मृतिग्रन्थ सार्वजनिकीकरण कार्यक्रममा बोल्नुहुँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर : केशव गुरुङ

काठमाडौं, भदौ २३ गते । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सङ्घर्ष जारी रहेको बताउनुभएको छ ।

शहीद सुरेश वाग्ले (वासु) स्मृति प्रतिष्ठान, नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको स्मृति दिवस तथा स्मृतिग्रन्थ सार्वजनिक करण कार्यक्रममा उहाँले वाग्ले र भीमसेन पोखरेल (वैरागी) को स्मरण गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।

अध्यक्ष दाहालले भन्नुभयो, “पार्टी र नेतृत्वमा फेरि भन्छु, उहाँ एभरेजभन्दा माथि हुनुहुन्थ्यो । पदीय दायित्व होइन, जिम्मेवारीबोध र क्षमताले नेतृत्व गर्नुहुन्थ्यो ।” सरलता, पारदर्शिता, इमानदारिता सरदरभन्दा माथि रहेर ती नेताहरूले नेतृत्व दिएको उहाँले स्मरण गर्नुभयो ।


अध्यक्ष दाहालले सहिद, बेपत्ता, घाइते र जनयुद्धका योद्धाको परिवारलाई अधिकार दिलाउने लडाइ जारी रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सम्झौता नभएको भए के हुन्थ्यो त्यो म भन्न चाहन्नँ । सम्झौता गरेर आएको हो । इतिहासको कुनै खण्डमा सुरु भएको क्रान्ति, अर्को समयमा सम्झौता हुन्छ नै ।” उहाँले देश र जनताको सहयोगका कारण त्यो समय माओवादीको सरकार बनेको पनि स्मरण गर्नुभयो ।

उहाँले अहिलेको गठबन्धनमा सङ्घर्ष रहेको र विगतमा वाम गठबन्धनमा रहँदा पनि सङ्घर्ष भएको बताउनुभयो । वासु र वैरागीप्रति श्रद्धासुमन व्यक्त गर्नुहुँदै उहाँले अहिले पनि सङ्घर्ष भएको अनुभूत भएको तर अन्तिम फैसला नभइसकेको बताउनुभयो ।

“सङ्घर्ष र सङ्घर्षका निम्ति प्रतिबद्धता व्यक्त गर्नु, मेरो ठाउँबाट त्यही गरिरहेको छु । अहिले पनि अस्थिरताको कारक हो भनेर प्रचण्ड सिद्ध्याउनुपर्छ भन्ने छ । सङ्घर्ष छोडेको भए, प्रतिक्रियावादीले त्यसो भन्न पाउँदैनथे । विचार, विमर्श धेरे खालका छन् तर अन्तिम कुरा सङ्घर्ष नै हो”, उहाँले भन्नुभयो ।