• ७ वैशाख २०८१, शुक्रबार

ताप्लेजुङबाट भट्टराईसहित पाँच जनाको नाम सिफारिस

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ २३ गते । नेकपा (एमाले) ताप्लेजुङले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि केन्द्रीय सचिव योगेशकुमार भट्टराईसहितको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सचिव भट्टराईसहित पाँच जनाको नाम सिफारिस गरेको हो ।

एमाले ताप्लेजुङका उपसचिव एवम् प्रचार विभाग प्रमुख दीपेन पोमुका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिफारिस हुने अन्य चार जनामा पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बो, केन्द्रीय सदस्य द्वय पासाङ शेर्पा र टङ्क आङ्बुहाङ तथा प्रदेश कमिटी सदस्य रामप्रसाद सुवेदी रहनुभएको छ ।

प्रतिनिधिसभाका लागि सिफारिस हुनेमा भट्टराई ताप्लेजुङका वर्तमान प्रतिनिधिसभा सदस्य हुनुहुन्छ भने मेन्याङ्बो पूर्व सांसद, शेर्पा पहिलो संविधानसभाका सदस्य र आङ्बुहाङ २०७४ मा ताप्लेजुङ निर्वाचन क्षेत्र १ (ख) मा माओवादीबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ माओवादी छोडेर एमालेमा लागेपछि प्रदेश सांसद पद खोसिएको थियो । यस्तै सुवेदी पूर्व जिल्ला उपसभापति हुनुहुन्छ । 

प्रतिनिधिसभाको समानुपातिकतर्फ केन्द्रीय सदस्य उर्मिला थेबे, पूर्व राज्यमन्त्री ओङ्दी शेर्पा, लक्ष्मीबहादुर यक्सो, शिवकुमार गुरुङ र मिरा नेपालीको नाम सिफारिस गरिएको जिल्ला उपसचिव पोमुले जानकारी दिनुभयो । 

त्यस्तै, प्रदेशसभा १ (क) को प्रत्यक्षतर्फ वर्तमान प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङसहित ११ जनाको नाम सिफारिस गरिएको छ । अन्य सिफारिस हुनेमा जिल्ला उपाध्यक्ष सन्तोष खतिवडा, महेशकुमार गुरागाईँ, देउमान विष्ट, कुमार मादेन, भरतकुमार गुरुङ, हेमन्तकुमार उप्रेती, सुनिता थापा, नर्वदादेवी भण्डारी, गोपाल न्यौपाने र अनन्तबहादुर साँवा रहनुभएको छ । 

प्रदेशसभा १ (ख) मा प्रत्यक्षतर्फ पाँच जना सिफारिस भएकोमा प्रदेशसभा सदस्य होमकुमारी साँवा, जिल्ला उपसचिव मणिशङ्कर पोमू, गोपाल थोप्रा, त्रिवेणी चोङ्बाङ र चित्रगुप्त साँवा रहनुभएको छ । प्रदेशसभाको समानुपातिकमा भने १८ जनाको नाम सिफारिस गरिएको एमाले ताप्लेजुङले जनाएको छ । 

जसअनुसार प्रदेशसभा (क) र (ख) दुवैबाट निर्मला इजम, टीकादेवी सुबेदी, टीकादेवी दाहाल, बुद्धिमान परियार, छत्रबहादुर विक र हरिलाल ठकुरी सुनाम रहनुभएको छ । त्यस्तै, कोपिला नेपाली, सञ्चपाल मादेन, सूर्यबहादुर आङ्बुहाङ, मङ्गलसिंह केदेम र हिमालयविक्रम चाम्लिङ, गणेश कार्की ढोली, राजेश प्याकुरेल, धर्मराज घिमिरे, वीरबहादुुर माबोहाङ, राधाकृष्ण पौडेल, इन्द्र शेर्पा र रामकुमार विश्वकर्माको नाम सिफारिस भएको छ । 

आकाङ्क्षी धेरै भएपछि सङ्ख्या घटाउने अधिकतम कोसिस गरे पनि सम्भव नभएपछि बुधबार साँझ सबैको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिनुभयो ।