पानी पार्न २४ घण्टे किर्तन

गणेश पौडेल
पर्वत वैशाख २१ गते । बढ्दो गर्मीसँगै लामो खडेरी परेपछि पर्वतका किसानहरुले पानी पार्नका लागि अखण्ड भजनकिर्तन गरेका छन् ।

लामो समय खडेरी परेका कारण बालीनाली लगाउन समस्या भएपछि कुस्मा नगरपालिका ११ खरेहाका स्थानीयवासीहरुले २४ घण्टे अखण्ड किर्तन गरेका हुन् । खडेरीका कारण बालीनाली लगाउन समस्या भएको र लगाएको बालीनाली तथा तरकारी समेत सुकेर नष्ट हुन थालेपछि गाउँलेहरु भगवानको शरणमा पुगेका हुन् ।

स्थानीय भड्खोरे सामुदायिक वन उपभोक्ता समूह, खरेहा भजन मण्डली र ग्रामीण महिला समूह खरहेको संयुक्त आयोजनामा भगवान ईन्द्रको पूजाका साथै अखण्ड किर्तनको आयोजना गरेका हुन् । गाउँका किसानहरुले बाली लगाउने समयमा पानी नपरेपछि मंगलबार दिउँसो १२ बजेदेखि बिहिबार दिउँसो १२ बजेसम्म २४ घण्टा भजनकिर्तनको आयोजना गरिएको स्थानीय खेमनाथ शर्माले बताउनुभयो ।

भजन किर्तन र ईन्द्रको आरधाना गर्दा पहिला पहिला पनि पानी पर्ने गरेकाले अहिले पनि अखण्ड किर्तन गरिएको शर्माको भनाई छ । हामीले पहिला पहिला पनि पानी नपर्दा यसैगरि भजन किर्तन गरेपछि पानी पर्ने गरेको र अहिले पनि पानी पर्ने आशामा पुजाआजा र आराधाना गरेका उहाँले बताउनु भयो ।

किर्तनमा सदरमुकाम कुस्मा बजारका साथै चुवा, दुर्लुङ लगायतका स्थानीयवासीहरु समेत भेला भएर पानी पार्न आरधाना गरेका छन् । उनीहरुले भजन किर्तनका साथै १६ जना पण्डितहरु बोलाएर पानीका देवता ईन्द्रको समेत विशेष पुजाआजा गरेका छन् । यसरी पुजाआजा र भजन गर्दा पानी पर्ने र गाउँमा समेत कुनै अनिष्ट नहुने स्थानीय जीवनाथ शर्माले बताउनुभयो ।

भजनकिर्तनमा गाउँका बुढापाका, युवायुवती, महिला तथा बालबालिकालगायतको सहभागीता रहेको छ । लामो खडेरीका कारण पर्वत जिल्लाका विभिन्न गाउँका वनजङ्गलमा आगलागीका घटनामा समेत वृद्धि भएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना