• ६ चैत २०८०, मङ्गलबार

उत्तराधिकारी तयार होउन् : अध्यक्ष दाहाल (भिडियोसहित)

blog

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २२ गते । 
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले  पार्टीमा आफ्ना हजारौँ र लाखौँ उत्तराधिकारी तयार होउन् भन्ने आफ्नो सपना रहेको बताउनुभएको छ । बुधबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीमा राम्रो उत्तराधिकारीहरू तयार होउन् भन्ने आफ्नो सपना रहेको बताउनु भएको हो ।

उहाँले जनयुद्धको थालनीदेखि गणतन्त्रको समेत आफूले नेतृत्व गरेको भन्दै आफूले सबै चिज भएको बताउनु भयो । उहाँले पार्टीलाई एकताबद्ध गर्ने र क्रान्तिकारी परम्परालाई अगाडि बढाउने उत्तराधिकारी तयार हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा अर्थमन्त्रीसमेत रहनुभएका पार्टीका उपमहासचिव जनार्दन शर्माले विद्यार्थी सङ्गठनमा समस्या देखिएको भन्दै अध्यक्ष दाहालप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो । सङ्गठनमा समानान्तर गतिविधि गर्नेलाई अध्यक्ष दाहालले पुल्पुल्याएको भन्ने उहाँको भनाइ थियो ।

उहाँले नीति र नेतृत्वको रक्षा गर्नुपर्ने बताउनु भयो । जवाफमा अध्यक्ष दाहालले जनार्दन शर्मालाई रक्षा गर्न र हुर्काउन पनि आफ्नो मुख्य भूमिका रहेको बताउनु भयो ।

उहाँले शर्मालाई आफूले रक्षा र विकास गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘जनार्दनजीले जाँदाजाँदै भन्नुभयो, नीति र नेतृत्वको रक्षाका कुरा । म तपाईँहरूलाई के भन्न चाहन्छु भने जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका हो । उनको रक्षा गर्ने र विकास गर्ने कुरामा पनि ।’’

अध्यक्ष दाहालले थप्नुभयो, ‘‘म त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ । जनयुद्धको पनि नेतृत्व गरेँ । संविधानसभाको पनि नेतृत्व गरेँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पनि नेतृत्व गरेँ । मेरो लागि धेरै चिज भएकै छ । अब मेरो सपना के हो त, राम्रो उत्तराधिकारीहरू तयार हुन् । तिनले होल पार्टीलाई एकताबद्ध गरेर लैजाउन् । तिनले तमाम क्रान्तिकारीलाई सही स्कुलिङ गरुन् र हाम्रो विरासत, हाम्रो परम्परा, क्रान्तिकारीको परम्परालाई अगाडि बढाउन सम्पूर्ण उदारताको साथ ठूलो छाती लिएर सबै अगाडि बढुन् । हजारौँ र लाखौँ उत्तराधिकारी तयार होउन् । यही मेरो सपना छ । तपाई विद्यार्थी साथीहरूले एकताबद्ध भएर यो सपना पूरा गर्नका लागि सहयोग गर्नुस् । यही अपिल र आग्रह छ ।’’

अध्यक्ष दाहालले सडक, सदन र सरकारका तीनवटा नै मोर्चाबाट सङ्घर्ष गरेर मात्रै आन्दोलनका उपलब्धिको रक्षा गर्न सकिन्छ भन्ने विश्लेषण पार्टीको रहेको बताउनु भयो । उहाँले सडकको हिरो युवा र विद्यार्थीहरू भएको उल्लेख गर्दै उनीहरू सडकमा नआउँदासम्म देशले गति नलिने बताउनुभयो ।