• ६ चैत २०८०, मङ्गलबार

इन्द्रजात्रा सांस्कृतिक पर्यटनको प्रमुख आकर्षण : पर्यटन मन्त्री श्रेष्ठ

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ । तस्बिर : गोरखापत्र

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ २२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले इन्द्रजात्रा नेपालको सांस्कृतिक पर्यटनको लागि प्रमुख आकर्षण रहेको बताउनुभएको छ । 

काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा सुरुवातको अवसरमा आज हनुमानढोका पुग्नुभएका मन्त्री श्रेष्ठले इन्द्रजात्रासँगै यहाँका अनगन्ती मूर्त–अर्मूत संस्कृति र सम्पदाहरूको प्रचार–प्रसारबाट पर्यटकलाई आकर्षण गर्न सकिने बताउनुभयो । मुलुकको सांस्कृतिक धरोहरको रूपमा रहेको इन्द्रजात्राको काठमाडौं उपत्यकामा मनाइने अन्य जात्रा र चाडपर्वमध्ये विशिष्ट स्थान रहेको उहाँले बताउनुभयो । 


नेपालका विभिन्न जातजातिका संस्कृति, संस्कार, परम्परा, जीवनशैली पर्यटक लोभ्याउने खालका रहेको बताउनुहुँदै उहाँले संस्कृति र सम्पदाहरूलाई पर्यटनसँग जोडेर स्थानीय जनताको जीवनस्तर उकास्ने आफ्नो कार्ययोजना रहेको बताउनुभयो । सांस्कृतिक सम्पदाको प्रवर्द्धनमार्फत पर्यटकलाई आकर्षित गर्ने र नेपालको समृद्धिमा यसलाई उपयोग गर्न सकिने उहाँको भनाइ छ । 

काठमाडौँको हनुमानढोका अगाडि विधिपूर्वक इन्द्रध्वजाको लिगों ठड्याइएपछि इन्द्रजात्रा सुरुवात भएको छ । आठ दिनसम्म वर्षा र सहकालका देवता इन्द्र पूजन एवं विभिन्न देवी देवतासँग सम्बन्धित नाचगान साथै कुमारी, भैरव र गणेश रथयात्रा गर्दै यो पर्व मनाउने गरिन्छ । जात्रा पर्व सञ्चालनका लागि प्रदान गरिने अनुदान समयसापेक्ष बनाउनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभएको थियो ।