• १५ चैत २०८०, बिहिबार

पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दै

blog

रेखीराम राना

पाल्पा, भदौ २२ गते । पहाडी जिल्ला पाल्पामा डेङ्गु सङ्क्रमण तीव्र गतिमा बढेको छ । पछिल्लो एक सातामा २३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । भदौ तेस्रो सातामा मात्रै २३ जना डेङ्गु सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसूदन भट्टराईले जानकारी दिनुभयो । 

तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा १० जना तथा लुम्बिनी मेडिकल कलेजमा १३ जना गरी २३ जनामा डेङ्गु सङ्क्रमण देखिएको हो । भट्टराईका अनुसार यो आवको साउनदेखि हालसम्म ४७ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ । पहाडी जिल्ला भएपनि पाल्पामा डेङ्गुको सङ्क्रमण बढिरहेको छ । 

जिल्लामा डेङ्गुको सङ्क्रमण बढे पनि परीक्षणका लागि मिट अभाव भएको छ । किट अभावले सरकारी अस्पतालहरूमा डेङ्गु परीक्षण हुनसकेको छैन । पाल्पा अस्पताल र रामपुर अस्पतालमा डेङ्गु सङ्क्रमणको जाँच हुन नसकेको अस्पतालहरूले जनाएका छन् ।