• ६ चैत २०८०, मङ्गलबार

नब्बे वडामा कांग्रेस अभियान

blog

दैलेख समाचारदाता

दैलेख, भदौ २२ गते । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा विजयी हासिल गर्ने अभियानका साथ कांग्रेसले जनतासँग कांग्रेस अभियान थालेको छ। दैलेखका दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन जित्ने सङ्कल्पका साथ जिल्लाका ९० वडामा जनतासँग कांग्रेस अभियान सञ्चालन गरेको हो।

नेपाली कांग्रेसका नेता गणेश उपाध्यायले पार्टी केन्द्रको निर्देशन र कार्यक्रमअनुसार जिल्लाका सबै वडामा जनतासँग कांग्रेस कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले जिल्लाका ९० वडामा कार्यक्रम जनतासँगै कांग्रेस अभियान समापनसँगै दलित महिला लक्षित भेटघाट र क्रियाशील सदस्यसँग भेटघाट कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक बन्द सूचीमा नाम राखेपछि पुनः कार्यक्रम हुने र तेस्रो चरण भनेको प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार टुङ्गो लागेसँगै निर्वाचनका कार्यक्रम सञ्चालन हुने नेता उपाध्यायले बताउनुभयो। आगामी निर्वाचन जित्ने सङ्कल्प बोकेर जनतासँग कांग्रेस अभियान सञ्चालन गरे पनि जिल्लाका अधिकांश नेताहरू गठबन्धनका कारण समस्या रहेको बताउँछन्। कांग्रेस प्रमुख पार्टी भएको र एमाले विभाजन भएको बेला कुनै दलसँग गठबन्धन नगरेर निर्वाचन लड्नुपर्ने बेलामा केन्द्रबाट गठबन्धन हुँदा कुन क्षेत्र कुन दललाई पर्ने भन्ने समस्या देखिएको छ।

अघिल्लो निर्वाचनमा नेकपा (एमाले) र माओवादी केन्द्रको गठबन्धन हुँदा दैलेखका दुई प्रतिनिधि सभा र चार प्रदेश सभामा पराजित बेहोरेको कांग्रेसले यस पटक भने त्यसको बदला लिने गरी तयारी गरेको पार्टी सभापति मणिराम रेग्मीले बताउनुभयो। उहाँले दैलेखका दुई प्रतिनिधि सभाको टिकट कांग्रेसले नै राख्नुपर्ने माग पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको जानकारी दिँदै त्यसैअनुसार आफूहरू तयारीमा लागेको बताउनुभयो। पाँच दलीय गठबन्धन भएको खण्डमा कांग्रेसले दुई प्रतिनिधि सभा सदस्यमध्ये एक र चार प्रदेश सभा सदस्यमध्ये तीन प्रदेश सभा सदस्यमा दाबी गरिरहेको नेताहरूले बताएका छन्।