• ११ वैशाख २०८१, मङ्गलबार

दुई वर्ष पनि टिकेन सडक

blog

महेशकुमार दास

जलेश्वर, भदौ २२ गते । निर्माण सम्पन्न भएको दुई वर्ष नबित्दै माईस्थान–गौशाला–सम्सी सडक भत्किएको छ। यस सडक खण्डको निर्माणमा ठेकेदार कम्पनीले गुणस्तरहीन सडक निर्माण गरेकोले दुई वर्ष नबित्दै भत्किएको स्थानीयको आरोप छ। सो सडक खण्डको निर्माण ठेक्का पाएको ठेकेदार कम्पनीले तोकिएको मापदण्डअनुसार काम नगरी गुणस्तरहीन काम गरेको कारण निर्माण कार्य पूरा भएको केही दिनमै त्यहीँ बेला सडक खण्डको ठाउँ–ठाउँमा कालोपत्रेमा चिरा परेको थियो। “अहिले त यो सडक खण्डमा ठूलठूला खाल्टा भएर हिँड्न नसक्ने अवस्था भएको छ”, औरही नगरपालिका–५ का स्थानीय देवु रायले भन्नुभयो।  

“वर्षा हुँदा सडकमा रहेका खाल्टा खुल्टीमा दुई फिटसम्म पानी जम्ने गरेपछि पैदल हिँड्डुल गर्नसमेत कठिनाइ हुन थालेको छ”, स्थानीय रायले भन्नुभयो, “यो सडकको दुरवस्था हुनुको पछाडि निर्माण कम्पनीको बदमासी मुख्य कारण हो। गुणस्तरहीन काम गरेकै कारण निर्माण भएको दुई वर्ष पनि सडक टिकेन।”

“सडक बनाउँदा सरकारले सडक निर्माणका लागि अधिग्रहण गरेको जग्गाको मुआब्जा पनि दिएन र सडक पनि गुणस्तरीय बनाएन,” उहाँले थप्नुभयो। 

सम्सी–१, पर्सादेवाडका ज्ञानी साफीले हतारमा निर्माण सक्न ठेकेदारले कमसल र स्टिमेटअनुसारको सामग्री प्रयोग नगरेका कारण यस्तो हुनपुगेको बताउनुभयो। “सडक त बन्यो तर सडकको संरक्षणका लागि स्थानीय सरकारले पनि यसमा ध्यान दिनुपथ्र्यो। स्थानीय सरकार पनि यस सडकका विषयमा बेखबर भएपछि सडकको यो हविगत हुन पुगेको हो,” उहाँले भन्नुभयो। त्यति बेला स्थानीयहरूले सडकको गुणस्तरलाई लिएर विरोध जनाएका थिए तर वास्ता नगरी सडक निर्माण सम्पन्न गरियो। सडकको ‘बेस’ नै कमजोर तरिकाले निर्माण भएको दाबी उहाँको छ। 

“यस सडकमा ५४ फिट बेस तयारी गर्नुपर्ने थियो तर त्यसो भएन, ठेकेदारले सोझै अलकत्रा (कालोपत्रे) हालेर बेस बलियो नै नबनाई कालोपत्रे गरेका थिए,” औरही नगरपालिका–६, बैरियाका स्थानीय राजेन्द्र मल्लिकले भन्नुभयो, “गुणस्तरहीन कालोपत्रे टिक्नै सक्दैन, त्यसमाथि ठेकेदार कम्पनीले सडकको दुवै छेउबाटै नै पाँच फिटभन्दा गहिरो खाल्डो खनेर सडक भर्ने काम गरेकोले सडक झन् कमजोर भएको छ।”

सडक निर्माणकै क्रममा त्यति बेला हुलाकी सडकमा गएर सडकको गुणस्तर र छेउमा खनिएको खाल्डोबारे जानकारी गराउँदा पनि केही सुनवाइ नभएको गुनासो उहाँको छ। सडक बनाउँदा सडकको दुवै किनारामा नाला बिना सडक निर्माण गरियो जसका कारण सडकमा पानी जमेर खाल्डैखाल्डा बनेर सडकको बेहाल अवस्था भएको मल्लिकले तर्क गर्दै भन्नुभयो, “नाला बिनाको सडक कहाँ टिक्छ ?”

माईस्थान–गौशाला–सम्सी सडक खण्डको पर्सा देवाड र बैरियामा सडकको अवस्था जीर्ण बनेको छ। भारतीय परामर्शदाता कम्पनी राष्ट्रिय राजमार्ग एवं पूर्वाधार विकास निगम लिमिटेड –एनएचआईडीसीएल) को प्रत्यक्ष निगरानीमा सो सडकको निर्माण दुई वर्षअघि भएको थियो। पूर्व–पश्चिम राजमार्गलाई भारतीय सीमासँग जोड्ने माईस्थान–गौशाला–समसी २७ किलोमिटर सडक ठेकेदारले निर्माण अवधिभन्दा छ महिना अगावै काम सकाएर पुरस्कृत हुन सडकको गुणस्तरमा ध्यान नदिएको स्थानीयवासीको आरोप छ। 

बेसमा ठूलठूला ढुङ्गा राखेर रोलिङ गरेर हतारमा अलकत्रा राखी पिच गर्ने काम हुँदा स्थानीयले विरोध गरेका थिए। सडकको काम स्टिमेटअनुसार बनाउन माग गर्दै उपभोक्ताले ठेकेदार पक्षलाई ध्यानाकर्षणसमेत गराएका थिए। कालोपत्रे गर्ने सडकको बेसमा ४० डाउन गिट्टी राख्नुपर्छ। निर्माण कम्पनीको सम्झौताअनुसार सात मिटर चौडा सडकमा तीन सेन्टिमिटर मोटाइ भएको कालोपत्रे गर्नुपर्ने थियो। सडकको दायाँ–बायाँ दुई÷दुई मिटर ‘सोल्जर’ बनाउनुपर्ने सम्झौतामा थियो तर निर्माण कम्पनीले भने सो अनुरुप काम नगरेको सडकसम्बन्धी जानकारको भनाइ छ। 

सन् २०१७ फेब्रुअरी २७ गते सम्झौता भई काम सुरु भएको र २०१९ फेब्रुुअरी २६ मा काम सम्पन्न गर्ने गरी लामा डाँफे गोल्डेन गुड नामक ठेकेदार कम्पनीले ६४.६१ करोडको लागतमा सात मिटर चौडा कालोपत्रे र दुई मिटर सोल्डरसहितको २६.९४ किलोमिटर सो सडक निर्माणको ठेक्का पाएको थियो। ठेकेदार कम्पनीले आफैँ सो सडक निर्माण नगरी चौधरी कन्स्ट्रक्सनलगायत विभिन्न ठेकेदार कम्पनीलाई खण्ड खण्डमा पेटी कन्ट्रयाक्टमा काम दिएकोले समेत पेटी कन्ट्रयाक्टका ठेकेदारहरूले पैसा बचाउन गुणस्तरहीन काम गरेकै कारण सडक भत्किन पुगेको तर्क स्थानीयको छ। पूर्व–पश्चिम राजमार्गलाई भारतीय सीमासँग जोड्ने जिल्लाकै प्राचीनमध्येको यो सडक भारतीय ठेकेदार कम्पनी भिस्वा–वीभीएसआर जेभी सन् १९१० मा कामै नगरी भागेपछि दशकदेखि अलपत्र अवस्थामा रहेको थियो।