• १२ वैशाख २०८१, बुधबार

प्रमुख राजनीतिक दलहरू उम्मेदवार सिफारिसमा व्यस्त

blog

बागमती प्रदेश ब्युरो 

हेटौँडा, भदौ २२ गते । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ठूला दलहरूले प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बन्न इच्छुकको सिफारिस गर्ने क्रम अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारीका लागि दाबी गर्नेको नाम माथिल्लो पार्टी समितिमा सिफारिस गरिरहेका छन् । सिफारिसमा परेका पार्टीबाट औपचारिक रूपमा उम्मेदवार बन्ने दौडमा लागेका छन् ।

एमालेबाट प्रतिनिधि सभामा पाँच जनाको नाम सिफारिस

सिन्धुली समाचारदाताका अनुसार नेकपा (एमाले) सिन्धुलीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा जिल्ला कमिटीले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा चार जना र निर्वाचन क्षेत्र नं. २ मा दुई जनाको नाम सिफारिस गरेको प्रचार विभाग प्रमुख सञ्जय दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश सभा सदस्यका लागि प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को १ बाट सात जना, १ को २ बाट चार जना, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को १ बाट पाँच जना र २ को २ बाट पार्टी जिल्ला अध्यक्ष कुमारबहादुर कार्कीको नाम सर्वसम्मत सिफारिस भएको छ ।

एमाले र माओवादी केन्द्रको टुङ्गो लाग्यो 

दोलखा समाचारदाताका अनुसार दोलखामा नेपाल कम्युनिस्ट पार्टी एमाले र नेकपा माओवादी केन्द्र दोलखाले लामो छलफलपछि उम्मेदवारको नामावली सिफारिस गरेका छन् । 

नेकपा माओवादी जिल्ला समन्वय समिति दोलखाले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्कासहित छ र समानुपातिकतर्फ छ जनाको नाम माथिल्लो कमिटीमा पठाएको छ । प्रदेश सभा सदस्यका लागि क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ आठ र समानुपातिकमा ११ जना र क्षेत्र नं. २ मा प्रत्यक्षमा चार जना र समानुपातिकतर्फ नौ जनाको नाम सिफारिस गरेको छ । 

त्यसैगरी एमालेले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षमा पाँच जना र समानुपातिकतर्फ १६ जना, प्रदेश क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ चार जना र समानुपातिकमा ११ जना, प्रदेश २ मा प्रत्यक्षतर्फ पाँच र समानुपातिकमा १० जनाको नाम सिफारिस गरी पठाएको एमाले दोलखाले जनाएको छ ।  

चार पार्टीबाट सिफारिस

सिन्धुपाल्चोक समाचारदाताका अनुसार सिन्धुपाल्चोकबाट कांगे्रसले निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सदस्य उम्मेदवारका लागि कांगे्रस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई एकल रूपमा सिफारिस गरेको छ । प्रतिनिधि सभा सदस्यमा क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा पाँच जना सिफारिसमा पर्नुभएको छ । एमालेले निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमा पोलिटब्युरो सदस्य अरुण नेपालसहित चार जनाको सिफारिस गरेको छ । निर्वाचन क्षेत्र नम्बर २ का लागि एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङसहित तीन जनाको सिफारिस भएको छ ।  यस्तै नेकपा माओवादी केन्द्रबाट निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासहित तीन जना र निर्वाचन क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिस गरिएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचन क्षेत्र नं. २ मा पशुपतिशमशेर राणा जबरालाई प्रतिनिधि सभा उम्मेदवारमा गरेको छ । 

तीन पार्टीको सिफारिस

मकवानपुर समाचारदाताका अनुसार मकवानपुर जिल्लाबाट एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरेका छन् । एमाले मकवानपुर जिल्ला कमिटीले प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ का लागि केन्द्रीय सदस्यद्वय रामेश्वर राना र कृष्णप्रसाद दाहालसहित पाँच जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ का लागि बागमती प्रदेश कमिटीका महेश बर्तौलासहित तीन जनाको नाम सिफारिस गरेको एमाले मकवानपुरले जनाएको छ । प्रदेश सभाको प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्य क्षेत्र नं. १ को १ र १ को २ बाट सात–सात जना, निर्वाचन क्षेत्र नं. २ को १ बाट तीन जना र २ को २ बाट चार जनाको नाम माथिल्लो कमिटीमा पठाएको छ ।

यस्तै माओवादी केन्द्रले प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नं. १ बाट संविधान सभाका सदस्य प्रह्लाद लामिछानेसहित दुई जनाको र क्षेत्र नं. २ बाट पूर्वराष्ट्रिय सभाका सदस्य रामनारायण बिडारी र बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानको नाम सिफारिस गरेको माओवादी केन्द्र मकवानपुरले जनाएको छ । प्रदेश सभाको प्रत्यक्षतर्फ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को १ बाट तीन, १ को २ बाट दुई जना, निर्वाचन क्षेत्र नं. २ को १ बाट तीन, १ को २ बाट दुई जना गरी १० जनाको नाम सिफारिस भएको छ । यसैबीच राप्रपा मकवानपुरको जिल्ला समिति बैठकले पार्टीका केन्द्रीय सदस्य दीपकबहादुर सिंहलाई निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णयसहित सिफारिस गरेको छ । सिंह गत स्थानीय तह निर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेर हेटौँडा उपमहानगरपालिका नगरप्रमुखमा पराजित हुनुभएको थियो ।