• ८ वैशाख २०८१, शनिबार

स्थानान्तरणको विकल्प खोजिँदै

blog

कास्की समाचारदाता

कास्की, भदौ २२ गते । पोखराको ल्यान्डफिल्ड साइट क्षेत्रमा वर्षौंदेखि विचरण गरिरहेका पन्छीको स्थानान्तरण तथा सुरक्षित बसोबासको विकल्प खोज्न थालिएको छ । 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यसका लागि पूर्वीनवलपरासीमा सञ्चालनमा रहेको जटायु रेस्टुरेन्टको स्थलगत अवलोकन गर्नुभएको छ । सो रेस्टुरेन्ट सञ्चालनमा अपनाइएका अभ्यासको स्थलगत अवलोकन गरिएको हो ।  “सञ्चालनको अन्तिम तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको सुरक्षित अवतरणका लागि यस्तो उपाय खोज्न थालिएको हो । ल्यान्डफिल्ड साइट आसपासमा बसोबास गरिरहेका पन्छीहरूका कारण विमानस्थल सञ्चालनमा अवरोध हुने देखियो,” आचार्यले भन्नुभयो, “तिनीहरूलाई आवश्यक आहारा तथा सुरक्षित आवासका लागि स्थानान्तरण आवश्यक रहेको छ । यसको उचित व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सन्दर्भमा जटायु रेस्टुरेन्टको अवलोकन गरिएको हो प्रमुख आचार्यले भन्नुभयो । पोखरामा २०औँ वर्षलाई पुग्ने ल्यान्डफिल्ड साइट सञ्चालनमा ल्याए पनि विमानस्थलका कारण व्यवस्थापनमा समस्या भएको छ । 

“फोहोर कहाँ फाल्ने र कसरी व्यवस्थापन गर्ने भन्ने कुनै चिन्ता थिएन तर आज अवस्था फेरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि हाल सञ्चालनमा रहेको स्थानबाट ल्यान्डफिल्ड अन्यन्त्रै सार्नुपर्ने भएको छ, हामी उपयुक्त विकल्प खोजिरहेका छौँ ।” प्रमुख आचार्यले थप्नुभयो । ल्याण्डफिल्डको दिगो व्यवस्थापन गरी उपयुक्त निकास खोज्न आवश्यक छ । उहाँका अनुसार विमानस्थललाई सुरक्षित बनाउनका लागि पन्छीहरूको स्थानान्तरण पनि चुनौतीपूर्ण छ । 

“हाल अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा चिलहरूले घाम तापिरहेका हुन्छन् । आसपासमा कैयौँको सङ्ख्यामा गिद्ध र चराचुरुङ्गीहरू पनि आवतजावत गरिरहेका छन्,” प्रमुख आचार्यले भन्नुभयो, “तिनीहरूको व्यवस्थापनका लागि उपयुक्त विकल्पका रूपमा जटायु रेस्टुरेन्ट एक हुनसक्छ भन्ने हेतुले नवलपुरमा भइरहेको गिद्ध संरक्षण कार्यको अवलोकन गरिएको हो ।” नवलपुरमा गिद्धहरूको संरक्षणका लागि गरिएको कार्य प्रशंसनीय रहेको उहाँले सुनाउनुभयो । 

नेपालमा पहिलो पटक पूर्वीनवलपरासीको कावासोती नगरपालिकाअन्तर्गत नमुना मध्यवर्ती सामुदायिक वनमा जटायु रेस्टुरेन्ट स्थापना गरी गिद्ध संरक्षण अभियान सुरु गरिएको हो । हाल रेस्टुरेन्टमा सयौँ गिद्धहरू छन् । गिद्धहरू लोप हुँदै गएपछि नेपालमा पनि यसको संरक्षण कार्य सुरु गरेको जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका संयोजक एवं पन्छीविद् डीबी चौधरीले जानकारी दिनुभयो । 

अवलोकन टोलीमा प्रमुख आचार्यसहित पन्छीविद् मनशान्त घिमिरे, वातावरण महाशाखाका प्रमुख निर्मलमान सिंह भण्डारी, सरसफाइ शाखा प्रमुख कल्पना बराल, पोखरा महानगरपालिकाको ल्यान्डफिल्ड साइट हेर्ने कर्मचारी रेशम जीसीलगायतको सहभागिता रहेको थियो ।