• १६ चैत २०८०, शुक्रबार

सरकारले छिट्टै भ्रमण दशक घोषणा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ

blog

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय पर्यटन सम्मेलन–२०२२ लाई सम्बोधन गर्नुहुँदै पर्यटन मन्त्री जीवनराम श्रेष्ठ । तस्बिर : पर्यटनमन्त्रीको सचिवालयबाट

काठमाडौं, भदौ २१ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले छिट्टै नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेको बताउनुभयो । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम)ले मङ्गबार काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय पर्यटन सम्मेलन–२०२२ लाई सम्बोधन गर्नुहुँदै पर्यटन मन्त्री श्रेष्ठले सो जानकारी दिनुभएको हो ।

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको दीगो विकासका लागि सरकारले सन् २०२३ देखि २०३३ को दशकलाई ‘नेपाल भ्रमणा दशक’को रुपमा मनाउन आवशयक तयारी अगाडि बढेको बताउनुभयो ।

पर्यटक आगमन बढाउन तथा पर्यटन उद्योगको विकासका लागि भ्रमण दशकको अवधारणा ल्याइएको मन्त्री श्रेष्ठको भनाइ छ । पर्यटन क्षेत्रको दिगो विकासका लागि भ्रमण वर्षभन्दा भ्रमण दशक आवश्यक भएकाले भ्रमण दशक कार्यक्रमलाई अघि सारिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि आफुले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना अघि सारेको पनि उहाँले बताउनुभयो । पर्यटन क्षेत्रको विकास र विस्तारका लागि गुणस्तरीय सिपयुक्त जनशक्ति उत्पादन गर्नुपर्ने उहाँको भनाइ छ । न्याथमले गुणस्तरीय सेवा प्रदान गरी सरकारी शैक्षिक संस्थाका रुपमा नमूना प्रस्तुत गरेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादनलाई सरकारले प्राथमिकता दिएको बताउनुहुँदै उहाँले पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी शिक्षालाई स्थानीय तहसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । होटल व्यवस्थापन र पर्यटक आतिथ्यसम्बन्धी शिक्षा र तालीम प्रदान गर्ने एक मात्र सरकारी निकायका रुपमा रहेको प्रतिष्ठानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणको व्यवस्था गर्ने छ ।

मुलुकका सबै जातजाति र भाषाभाषीका स्थानीय खानाका मौलिक परिकारको अनुसन्धान गर्ने कार्यक्रम पनि प्रतिष्ठानले अघि सारेको छ । विभिन्न जातीय आतिथ्य र स्वागत गर्ने परम्परागत संस्कृति र शैलीबारे पनि अध्ययन–अनुसन्धान अघि बढाउने प्रतिष्ठानले योजना बनाएको छ भने सार्क सदस्य मुलुक, बिमस्टेक र चीनका विद्यार्थीलाई लक्षित गरी अन्तर्राष्ट्रियस्तरको पढाइ सञ्चालन गर्ने योजना समेत अघि सारेको छ ।

पर्यटकीय जनशक्ति उत्पादनमा काम गर्दै आएको नाथमले स्थापनाको पचास वर्ष पुगेको अवसरमा पर्यटन सम्मेलन आयोजना गरेको हो । दुई दिनसम्म चल्ने सम्मेलनमा देश विदेशका पर्यटन क्षेत्रका विज्ञ, प्राध्यापक तथा व्यवसायीहरुले पर्यटन क्षेत्रका विभिन्न आयामहरुबारे छलफल गर्नेछन् ।