• ६ चैत २०८०, मङ्गलबार

अवैध संरचना भत्काउने काम कसैले रोक्न सक्दैन : कामपा

blog

काठमाडौं, भदौ २१ गते । काठमाडौं महानगरपालिकाले अवैधरुपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने जनाएको छ । अहिले कामपाले कानुनविपरीत निर्माण भएको सम्पूर्ण संरचना अवैध रहेकाले नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरूप निर्माण नगरिएका दुवै संरचना भत्काउने काम निरन्तर गर्ने जनाएको हो । 

कानुनीरुपमा अवैध ठहर भएका सबै संरचना भत्काउने काम निरन्तर गरिनेछ त्यसका लागि कामपाले नक्साअनुरूप वैध, अवैध यकिन गरिरहेको छ कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भन्नुभयो । 

नक्सा विपरीतका संरचना, नक्सा पास नगरी निर्माण भएका संरचना र सार्वजनिक जग्गा मिचेर बनाएका सबै संरचना भत्काउने काम कामपाको कर्तव्यभित्र पर्छ उहाँले भन्नुभयो । यो कामलाई अभियानका रूपमा सञ्चालन गरिने र महानगरको ३२सै वडामा निर्माण भएका यस्ता कुनै पनि संरचना बाँकी राखिनेछैन, महानगर प्रमुख वालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले भन्नुभयो । संरचना निर्माणका सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरिने र गलत प्रमाणित भए थप कानुनी प्रक्रिया अघि बढाउन कामपाले ३५ दिने सार्वजनिक सूचना जारी गरेको र उक्त सूचनाको बेवास्ता गरिएकाले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने काम सुरु गरिएको हो ।

कहाँकहाँ भत्काइए अवैध संरचना ?

उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वर कम्प्लेक्स तथा काठमाडौं मलका अवैध संरचना, आरबी कम्प्लेक्सका करिब १४ वटा साना पसल र बानेश्वरमा रहेको अल्फा बिटामा पनि निर्माण विपरीत प्रयोग भएका संरचना भत्काइएका छन् । 

त्यस्तै, त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा राखिएको विद्युतीय विज्ञापन पनि महानगरप्रमुख साहको  निर्देशनमा हटाइसकेको छ । एक साताअघि वनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेको सात टहरा र तीन वटा भ¥याङ पनि कामपाले डोजर लगाएर भत्काइसकेको छ । 

त्यसैगरी, विगत दुई दिनमा कामपाले बालाजु नयाँ बसपार्क आसपास र कोटेश्वरमा गरी एक सयभन्दा बढी कानुनविपरीत निर्माण भएका संरचना भत्काएको छ । आइतबार कोटेश्वर प्रहरीचौकी नजिकैको ५० भन्दा बढी अवैध संरचना भत्काइएको थियो भने सोमबार पनि बसपार्कबाट गोङ्गबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५० भन्दा बढी अवैध संरचना भत्काइएको कामपाले जनाएको छ । यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र सडक मिचेर बनाइएका भर्‍याङ रहेको कामपाको भनाइ छ ।

अवैधरुपले बनाइएका संरचना घरधनीलाई नै भत्काउन वा निर्माण गरिएअनुसार प्रयोग गर्न लगाउन  ३५ दिने सूचना जारी गरिएको थियो । सार्वजनिक सूचना बेवास्ता गरेपछि ती संरचनामा डोजर चलाउन कामपा बाध्य भएको नगर प्रहरी पाण्डेको भनाइ थियो । अवैध संरचना हटाएसँगै हाल उपत्यकामा भइरहेको पार्किङको समस्या २५ प्रतिशतले समाधान हुनाका साथै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने कामपाले विश्वास  लिएको छ । हाल बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको कामपाले जनाएको छ । ती सबैलाई कानुनी दायरामा ल्याउने तयारी छ । 

कामपाको ध्यान असनका फुटपाथ पसलतर्फ

अवैध संरचना हटाउन निरन्तर लागिरहेको कामपाको ध्यान मङ्गलबार असन र इन्द्रचोकमा अस्तव्यस्तरुपमा सञ्चालन भइरहेका पसलतर्फ गएको छ । अहिले यस क्षेत्रका फुटपाथको व्यापार हटाउने कामसँगै अव्यवस्थित हुने गरेको पार्किङ पनि व्यवस्थापन गर्ने काम भइरहेको नगर प्रहरी प्रमुख पाण्डेले बताउनुभयो ।  सडक पेटीसम्म राखिएको केही सामग्री आज नै हटाए पनि फुटपाथमा राखेका भाँडाकुँडा, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्री भोलि बिहानसम्म हटाउन निर्देशन दिइएको उहाँको भनाइ थियो ।