• १५ चैत २०८०, बिहिबार

अवैध लागुऔषधसहित १५ जना पक्राउ

blog

अवैध लागुऔषधसहित १५ जनालाई सार्वजनिक गर्दै नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर । तस्बिर : सुजन गुरुङ

काठमाडौं, भदौ २१ गते । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले ठूलो परिणाममा लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ। 

मङ्गलबार विज्ञप्ति सार्वजनिक गर्दै ब्युरोले करिब ३० लाख बराबरको लागुऔषधसहित विभिन्न ठाउँबाट पक्राउ परेका १५ जनालाई सार्वजनिक गरेको हो। भदौ १६ गतेदेखि भदौ २० गतेको पाँच दिनभित्र ब्युरोको टोलीले उपत्यकाबाट खैरो हेरोइन दुई सय ८७ ग्राम, दुई सय ५२ एम्पुल र दुई किलो गाँजासहित १५ जनालाई पक्राउ गरेको ब्युरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विकास खनालले बताउनुभयो ।  

प्रहरीले लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा ललितपुर च्यासलका २७ वर्षीय कुमार तामाङ, ललितपुरकै २९ वर्षीय अनिस महर्जन र २७ वर्षीय धरमदेव रामलाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूले लागुऔषध एम्पुलको कारोबार गरेको आरोप लगाएको छ। 

त्यसैगरी प्रहरीले ललितपुरकै ३३ वर्षीय प्रताप कार्की, पाँचथरका २४ वर्षीय भुवन विक र २५ वर्षीय देङ्गहाङ्ग नेम्बाङलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध खैरो हेरोइन बरामद गरेको छ।  

सँगै प्रहरीले काठमाडौं गोकर्णेश्वर-९ को माकलबारीबाट काठमाडौँकै २५ वर्षीय उत्सव घिमिरे, भोजपुरका दोर्ची शेर्पा, भोजपुरका फुर्लामी शेर्पा, झापाका ३० वर्षीय अप्सरा खातुन भनिने अप्सरा राजवंशीलाई प्रहरीले लागुऔषध र नगदसहित पक्राउ गरेको हो। 

त्यसैगरी प्रहरीले काभ्रेपलाञ्चोकका २८ वर्षीय मनोज राई, काठमाडौंका ३० वर्षीय अङ्कितकुमार श्रेष्ठ र काठमाडौँकै ३० वर्षीय राहुल क्षेत्रीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो। 

प्रहरीले उनीहरूको साथबाट २७५ ग्रामको खैरो हेरोइन बरामद गरेको छ। जसको बजार मूल्य २६ लाख ७५ हजार रहेको प्रहरीले बताएको छ। प्रहरीले ५० हजारको एम्पुल, ७४ हजारको गाँजासहित कुल २९ लाख ९९ हजार मूल्य बराबरको लागुऔषध बरामद गरेको हो।