• १२ वैशाख २०८१, बुधबार

हलिया मुक्त भएकाे १४ वर्ष पूरा

कतिपयले परिचयपत्र पाउन सकेनन्, कोही पुनः हलिया बने

blog

मुक्त हलिया महिलाहरु उचित व्यवस्थापन नभएको दुःखेसो पोख्दै । तस्बिर – डिलबहादुर सिंह

डिलबहादुर सिंह

डोटी, भदौ २१ गते । दासप्रथाको अवशेषको रूपमा रहेको हलिया प्रथा अन्त्य भएको घोषणा भएको १४ वर्ष पूरा भएको छ । सरकारले वि.सं. २०६५ साल भदौ २१ मा १२ वटा जिल्लाहरूमा बधुवा मजदुरका रूपमा रहेका हलियाहरुको मुक्तिको घोषणा गरेको थियो । तर हलिया मुक्तिको १४ वर्ष पूरा भएको भए पनि अझैसम्म मुक्त हलियाहरुको जीवनस्तरमा सुधार आउन सकेको छैन । 

अधिकारकर्मी गोरखबहादुर सार्की भन्नुहुन्छ, ‘मुक्तिको घोषणा भए पनि मुक्त हलियाहरुको जीवनस्तरमा सुधार आउन सकेको छैन । उनीहरूले हात मुख जोर्नकै लागि अझैँ सङ्घर्ष गर्नुपरेको छ ।’

मुक्त हलियाहरुको जीविकोपार्जनलगायतका विषयले प्राथमिकता पाउन नसक्दा अझैँ उनीहरूको जीवनस्तरमा सुधार आउन सकेको छैन ।

अझैँ पनि कतिपयले ‘हलिया परिचयपत्र’ समेत पाउन नसकेको राष्ट्रिय मुक्त हलिया समाजका सदस्य नरी चनाराको गुनासो छ । उहाँले भन्नुभयो, ‘हलिया रहेका कतिपय व्यक्तिहरू विभिन्न कारणले लगत सङ्कलन गर्ने क्रममा छुटेका छन् । परिचयपत्र नभएकाहरूले मुक्त हलिया पुनः स्थापना कार्यक्रमबाट लाभ लिन सकेका छैनन् ।’


सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका १२ जिल्लाहरुमा १६ हजार ९५३ मुक्त हलिया परिवार मध्ये १४ हजार २४२ परिवारले मात्र परिचयपत्र प्राप्त गरेका छन् ।

एक हजार ४९९ परिवार प्रमाणीकरण हुन बाँकी रहेको र ४४१ परिवार प्रमाणीकरण भए पनि परिचयपत्र प्राप्त गर्न नसकेको बताइएको छ । दुई हजार ७११ परिवार पुनःस्थापना हुन बाँकी छन् । एक हजार १०४ परिवारले मुक्त हलिया  पुनःस्थापना कार्यक्रम अन्तर्गतको दोस्रो किस्ता वापतको रकम प्राप्त गर्न सकेका छैनन् । 

प्रतिविद्धताअनुसार गम्भीरतापूर्वक पुनः स्थापना नभएकाले कतिपय मुक्त हलियाहरु पुनः हलियाको रूपमा बस्न बाध्य भएको डोटीको शिखर नगरपालिका –८ का रामबहादुर दमाइले गुनासो पोख्नुभयो ।

राष्ट्रिय मुक्त हलिया समाज महासङ्घले एक विज्ञप्ति जारी गर्दै मुक्त हलियाहरुको शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका विषयलाई समयमै पूरा गर्ने कार्यमा गम्भीर हुन माग गरेको छ ।