• १५ चैत २०८०, बिहिबार

निर्वाचनमा सिट बाँडफाँट गरेर अघि बढ्छौं : अध्यक्ष नेपाल

blog

काठमाडौं, भदौ २१ गते । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँट गरेर अघि बढ्न चाहेको बताउनुभएको छ ।

अध्यक्ष नेपालले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भए पनि सिट बाँडफाँटको विषय सम्भव हुन्छ वा हुन्न ? भन्ने प्रश्न उठ्ने गरेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘‘अहिले हामी विभिन्न पार्टीहरुसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेका छौं । यो तालमेल गर्दै अघि बढ्दै जाने क्रममा सिटको बाँडफाँड गर्न चाहिरहेका छौं । त्यो कति सम्भव छ, कति सम्भव छैन भन्ने बारेमा प्रश्न उठेको छ । हामीले यसलाई सम्भव तुल्याउन चाहिरहेका छौं ।’’

पार्टी निकट नेपाल दलित मुक्ति सङ्गठनको काठमाडौंमा मङ्गलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्नुहुँदै अध्यक्ष नेपालले आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर अघि बढ्न चाहिरहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष नेपालले आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई जिताउने गरी सङ्गठन परिचालनको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । त्यसका लागि पार्टीको हैसियत र सामथ्र्य वृद्धिका लागि सिङ्गो पार्टी पंक्ति परिचालन हुनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘‘सम्पूर्ण पार्टीका कार्यकर्ता साथीहरु, मुक्ति सङ्गठनका सबै नेताहरु, केन्द्रीय सदस्यहरु, तपाईहरुले प्रदेश कमिटी र जिल्ला कमिटी बनाउनुभएको छ भने उनीहरुलाई पनि परिचालन गर्ने काममा लाग्नुहोस् र नेपालको राजनीतिमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को हैसियत र सामथ्र्य वृद्धि गर्नका लागि तपाईंहरु सम्पूर्ण रुपमा समर्पित हुनुहोस् । पार्टी तपाईहरुको साथमा छ । तपाई हामी हातेमालो गर्दै नेपाली समाजलाई रुपान्तरण गर्ने काममा जुटौं ।’’

अध्यक्ष नेपालले चुनावलाई लक्षित गरेर बस्तीबस्तीमा पुगेर सङ्गठन निर्माण र परिचालनको काममा खटिन पनि सिङ्गो पार्टी पंक्तिलाई सचेत गराउनुभयो । त्यस अवसरमा अध्यक्ष नेपालले दलित समूदायमाथि अपहेलना गर्नेहरुलाई पार्टीको सदस्यता नदिने चेतावनी दिनुभयो ।