• १३ वैशाख २०८१, बिहिबार

सोलुका अधिकांश दलद्वारा उम्मेदवार सिफारिस

blog

सन्तोष राउत

सोलुखुम्बु, भदौ २१ गते । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुबाट अधिकांश दलले प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेका छन् । 

नेपाली काँग्रेस सोलुखुम्बुले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ केन्द्रीय सदस्य आङगेलु शेर्पाको एकल नाम सिफारिस गरेको छ । यस्तै, समानुपातिकतर्फ केन्द्रीय सदस्य बलबहादुर केसीसहित आठ जनाको नाम सिफारिस गरेको जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाले जानकारी दिनुभयो ।

प्रदेश सभा ‘क’ मा प्रत्यक्षतर्फ पूर्व पार्टी सभापति विनोदकुमार बस्नेतसहित सात जना र समानुपातिकतर्फ १३ जनाको नाम सिफारिस गरिएको छ । प्रदेश सभा ‘ख’ मा प्रत्यक्षतर्फ प्रदेश सभापति कर्मा शेर्पासहित तीन जना र समानुपातिकतर्फ नौ जनाको नाम पठाइएको छ । 

त्यस्तै, नेकपा एमाले सोलुखुम्बुले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मानवीर राई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । समानुपातिकमा सूर्यकुमारी सुनुवार र दाडोमा शेर्पाको नाम सिफारिस गरेको जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो ।

प्रदेश सभा ‘क’ को प्रत्यक्षमा दुई जना र समानुपातिकतर्फ छ जनाको नाम सिफारिस भएको छ । प्रदेश सभा ‘ख’ को प्रत्यक्षमा चार जना र समानुपातिकमा पाँच जनाको नाम सिफारिस भएको छ ।

नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आङङिमा लामालाई एकल सिफारिस गरेको छ भने  समानुपातिकमा दुई जना सिफारिस गरेको छ । प्रदेश सभा ‘क’ बाट प्रत्यक्षमा दुई जना र समानुपातिकमा दुई जना सिफारिस गरिएको छ भने प्रदेश सभा ‘ख’ बाट प्रत्यक्षतर्फ दोर्जी सुशील शेर्पा र समानुपातिकतर्फ दुई जनाको नाम सिफारिस गरिएको जिल्ला सचिव डिल्ली राईले जानकारी दिनुभयो ।

जनता समाजवादी पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षमा केन्द्रीय राजनीतिक समिति सदस्य ल्हाक्पा शेर्पा र समानुपातिकतर्फ दुई जना सिफारिस गरेको छ । प्रदेशसभा ‘क’ मा प्रत्यक्षतर्फ तीन जना र समानुपातिकतर्फ तीन जनाको नाम पठाइएको छ । प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ तीन जना र समानुपातिकतर्फ चार जनाको नाम सिफारिस गरेको जिल्ला अध्यक्ष नरेन्द्र मगरले बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)ले भने केही दिनभित्र नाम सिफारिस गर्ने जनाएको छ ।