• ८ वैशाख २०८१, शनिबार

पुँजीगत खर्च कम

blog

मुगु समाचारदाता

मुगु, भदौ २१ गते । मुगु जिल्लामा रहेका प्रदेश मातहतका कार्यालयले समयमै कार्यक्रम सञ्चालन नगरिदिँदा आव २०७८/७९ मा आधा मात्रै पुँजीगत खर्च भएको छ । 

कर्णाली प्रदेश सरकारका मन्त्रालयले जिल्लामा रहेका प्रदेश मातहतका कार्यालयलाई समयमै कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि नदिँदा विनियोजित पुँजीगत बजेटको ५५ प्रतिशत मात्रै खर्च भएको हो । 

यस जिल्लाको पश्चिमी भेगमा पर्ने सोरु गाउँपालिका–७ को लिब्रुखोला भालु सिँचाइ उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर शाहीले कर्मचारीको काम गर्ने तौरतरिका पुरानै हुँदा काम गर्न गाह्रो भएको बताउनुभयो । उहाँले सम्बन्धित निकायले समयमै सम्झौता गरी काम सम्पन्न भएपछि भुक्तानी गरिदिनुपर्ने माग गर्नुभयो । प्रदेश मन्त्रालयको कार्यविधिको ढिलाइका कारणले गत वैशाखमा मात्र योजनाको सम्झौता गरिएको थियो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख राजीव रिमालले प्रदेश मन्त्रालयको कार्यविधिको ढिलाइले सबै योजना समयमै सम्झौता हुन नसकेको र समयमै भुक्तानी पनि हुन नसकेको बताउनुभयो । “असारमा भुक्तानी हुन नसकेका योजनाको रकम अबको केही दिनमा भुक्तानी हुनेछ,” उहाँले भन्नुभयो । उपभोक्ता समितिले समयमै काम सम्पन्न गरे पनि नेटवर्कका कारण मसान्तभित्र भुक्तानी हुन नसकेको उहाँले जानकारी दिनुभयो । 

जनशक्ति अभावका कारण समयमै काम सम्पादन गर्न र उपभोक्ता समितिसँग समयमै योजना सम्झौता हुन नसकेको कृषि विकास कार्यालयका प्रमुख खेमराज शाही बताउनुभयो । उहाँका अनुसार जिल्लाका सबै प्रादेशिक कार्यालयमा यस्तै समस्याले गर्दा समयमै काम सम्पादन हुन नसकेको हो ।

प्रदेश लेखा नियन्त्रण कार्यालयका प्रमुख ज्ञानबहादुर वलीले आव २०७८/७९ मा प्रदेश मातहतका कार्यालयको चालू बजेटको ६१ करोड २८ लाख ७४ हजार रुपियाँ विनियोजन भएकामा ४५ करोड ८९ लाख ९३ हजार रुपियाँ खर्च भएको बताउनुभयो । उहाँले कर्मचारीको तलबभत्ता, कृषि र स्वास्थ्यलगायत क्षेत्रमा कुल बजेटको ७४ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । 

त्यसैगरी पुँजीगततर्फ एक अर्ब २३ करोड ९६ लाख ३५ हजार रुपियाँ विनियोजन भएकामा ६९ करोड १२ लाख छ हजार रुपियाँ मात्र खर्च भएको बताइएको छ, जुन कुल विनियोजित रकमको ५५.७५ प्रतिशत हो ।