• ६ चैत २०८०, मङ्गलबार

मुक्तहलिया अझै समस्यामा

blog

धनगढी समाचारदाता

धनगढी, भदौ २१ गते । सरकारले उचित व्यवस्थापन नगर्दा आफूहरूले विभिन्न समस्या भोगिरहेको मुक्त हलियाले गुनासो गरेका छन्। १४औँ मुक्ति दिवसको पूर्वसन्ध्यामा सोमबार धनगढीमा आयोजित प्रदेशस्तरीय संवाद कार्यक्रममा आफूहरूको उचित पुनस्र्थापना हुन नसकेको बताउनुभएको हो। 

तत्कालीन सरकारले २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको थियो। मुक्ति घोषणाको १४ वर्ष पुगे पनि धेरैजसो मुक्त हलियाको समस्या जस्ताको त्यस्तै रहेको छ। सरकारले मुक्ति घोषणा गरेको डेढ दशक पुगे पनि उचित पुनस्र्थापना नहुँदा आफूहरू बिचल्लीमा परेको बाजुराका हिक्मत भुलले बताउनुभयो। आफूहरू साहुको घरमा फेरि अँधिया हलियाका रूपमा काम गर्न बाध्य भएको उहाँको भनाइ छ। 

“हिजो हाम्रा बाबुबाजे पूर्ण हलिया हुनुहुन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले हामी अँधिया हलिया छौँ।” सरकारले तयारीबिनै हलिया मुक्तिको घोषणा गर्दा अहिले मुक्त हलिया घर न घाटको अवस्थामा पुगेको हलिया अधिकारकर्मी हरि श्रीपाइलीले बताउनुभयो। सस्तो लोकप्रियताका लागि हलिया मुक्तिको घोषणा त गरियो, उहाँले भन्नुभयो, “तर उनीहरूको उचित व्यवस्थापन भएको छैन।” 

मुक्त हलिया समाज महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष ईश्वर सुनारले उचित व्यवस्थापन नभएपछि मुक्त हलिया पुनः हलिया बस्न बाध्य भएको बताउनुभयो। उहाँले मुक्त हलियाको दिगो र न्यायोचित पुनस्र्थापनाका लागि तीनै तहका सरकारसँग माग गर्नुभयो। 

कार्यक्रममा प्रमुख अतिथि रहनुभएका सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले मुक्त हलिया, मुक्त कमैया, कमलरीको समस्या समाधानका लागि सरकार लागिपरेको बताउनुभयो। समाज परिवर्तन गर्छु भनेर नेतृत्व गर्ने तर आफू बदलिन नचाहनेका कारण कैयौँ समस्या समाधान हुन सकिरहेका छैनन्, उहाँले भन्नुभयो। प्रदेश प्रमुख जोशीले मुक्त हलिया, कमैया र कमलरीको समस्या समाधानका लागि प्रदेश प्रमुखको कार्यालय र आफ्नो व्यक्तिगत तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो।