पञ्चासे क्षेत्रमा भीषण आगलागी


गणेश पौड्याल
पर्वत बैशाख १६ गते । पर्वत कास्की र स्याङ्जाको संगमस्थल तथा जैविक विविधताले भरिपूर्ण मानिने पञ्चासे संरक्षित वनमा भिषण आगलागी भएको छ । बुधबार साँझदेखि लागेको आगो नियन्त्रणमा आउन नसकेको पछि त्यहाँ पाईने लोपोन्मुख जडिबुटी, तथा जनावरहरु संकटमा परेका छन् ।

पाँच हजार पाँच सय हेक्टरमा फैलिएको वनमा डढेलो लागेको हो । डढेलोबाट पञ्चासे वन क्षेत्रमा पाइने १२ प्रकारका वन, एकसय ५० प्रकारका औषधीजन्य बोट, एकसय १३ प्रजातिका सुनगाभा, आठ प्रकारका रेशादार वनस्पति, पा“चसय ८९ प्रकारका फुलफुल्ने वनस्पति लगायतका अमुल्य बनस्पतिहरु र जंगली जनावर तथा चराचुरीङ्गी समेत नष्ट भएका छन् ।

आगो लागेको थाहा पाउनासाथ जिल्लाबाट समेत टोली खटाउने तयारी भएको साथै कास्की र स्याङ्जा जिल्लाबाट समेत थप टोली मगाउने तयारी भईइरहेको पर्वतका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनुभयो ।

पञ्चासे क्षेत्रमा आगोलागेको थाहा पाएपछि आफ्नो मातहातका टोली गरिएको भएपनि पर्याप्त नभएकाले सेना, सशस्त्र प्रहरी र जनपद परिचालनको तयारी भइरहेको जिल्ला वन अधिकृत कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो ।

पर्वतमा गत एक महिना यता करिब ३० वटा सामुदायिक वनका साथै राष्ट्रिय वन र नीजि वनमा लागेको आगोका कारण करिब सात सय हेक्टर बन क्षेत्र सखाप भईसकेको छ । डढेलोबाट बनका साथै वनमा आश्रीत रहेका चराचुरुङ्गीका साथै वनस्पती र जनावहरु डढेर नष्ट बनेकाछन् । वनबाटै लागेको डढेलोका कारण ६ वटा घर र केही गोठ नष्ट बनेकाछन् ।

जिल्लाका ३ सय ७१ सामुदायिक वन मध्ये अधिकांशमा डढेलो लागेको भएपनि स्थानीय समुदायको सक्रियतामा प्रहरी, तथा वन रक्षकको पहलमा समयमै नियन्त्रणमा आएकाले ठूलो धनजनको क्षती नभएपनि अधिकांस वन भने डढेलोको चपेटामा परेका छन् ।

जिल्ला वन कार्यालयका अनुसार बिहीबारसम्म झन्डै ३० वटा सामुदायिक वनमा डढेलो लागिरहेको छ । ‘केही सामुदायिक वनमा सेना, प्रहरी, उपभोक्ता र कर्मचारी मिलेर आगो निभाइरहेका छन,’ जिल्ला वन अधिकृत ढकालले भन्नुभयो ‘यसबाट धनजनको क्षति छैन । जंगलको नाश र जैविक विविधता नष्ट भएको छ ।’

वनमा डढेलो लगाएपछि घाँस राम्रोसँग पलाउने, बन्यजन्तुको डर नहुने भएकाले सबैखाले वनमा डढेलो लगाउने क्रम बढेको सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका अध्यक्ष किसोर सापकोटाले बताउनुभयो । ‘भेडाबाख्रा चराउने, मदिरा सेवन गर्ने, बालबालिकालगायतले डढेलो लगाउने गरेको अनुमान छ,’ उहाँले भन्नुभयो, ‘वनमा डढेलो लगाउनेलाई कारबाही गर्ने कानुनी प्रावधान छ, तर लगाउने व्यक्तिको पहिचान हुन नसकेकाले समस्या भएको उहाँको भनाई छ ।
    

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना