• ७ वैशाख २०८१, शुक्रबार

समुदायस्तरमा फैलिँदै डेङ्गु

blog

प्रदेश ब्युरो

बुटवल, भदौ २१ गते । लुम्बिनी प्रदेशको तराईका जिल्लामा समुदायस्तरमै डेङ्गु फैलिँदै गएको छ। केही दिनअघिसम्म दाङको घोराही क्षेत्रमा देखिएको डेङ्गुको सङ्क्रमण पछिल्लो समय तुलसीपुर र लमही क्षेत्रमा पनि देखिन सुरु गरेको छ।

घोराही समाचारदाता लीलाधर वलीका अनुसार दाङमा सबैभन्दा बढी डेङ्गुका सङ्क्रमित घोराही क्षेत्रमा पाइएका छन्। यो क्षेत्रमा भदौ १६ गतेसम्म करिब डेढ सय जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। घोराही उपमहानगरपालिकाअन्तर्गतका अस्पतालहरूमा परीक्षणको क्रममा १४८ जनामा डेङ्गु सङ्क्रमण देखिएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिनुभएको छ। “पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने डेङ्गुको जोखिममा घोराही रहेको छ,” शाखा प्रमुख घर्तीले भन्नुभयो, “त्यही भएकाले स्वास्थ्य सचेतनासँगै बिरामीलाई जथाभावी रूपमा औषधि प्रयोग नगर्नसमेत आग्रह गरेका छौँ।”

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका परीक्षणका क्रममा भदौ १९ गते आइतबारसम्म पोजेटिभको सङ्ख्या बढेर १३२ पुगेको छ। साउनको १ देखि ३१ गतेसम्म १०२ जनाको डेङ्गु जाँच भएकामा १६ जनामा पोजेटिभ देखिएको भए पनि भदौ महिनाको १९ दिनमा २६४ जनामा परीक्षण गर्दा ११६ जनामा 

सङ्क्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याब प्रमुख दामोदर शर्माले जानकारी दिनुभएको छ। उहाँका अनुसार परीक्षण गरेकामध्ये १४८ जनाको रिपोर्ट नेगेटिभ आएको छ। 

“पछिल्लो समय दैनिक १०/१२ जनामा डेङ्गुको सङ्क्रमण देखिइरहेको छ,” ल्याब प्रमुख शर्माले भन्नुभयो, “यो सङ्ख्या हेर्दा पछिल्ला दिनमा सङ्क्रमणको दर बढिरहेको छ।” 

निजी अस्पतालमा पनि डेङ्गुका बिरामी बढेको पाइएको छ। घोराहीकै नेसनल प्याथोलोजीमा ११ जना, मितेरी अस्पतालमा तीन जना, गोरखा अस्पतालमा १३ जना, बुद्ध अस्पतालमा ४३ जना र दीपज्योति अस्पतालमा २० जनामा डेङ्गु पोजेटिभ देखिएको छ। 

घोराहीमा मात्रै नभएर तुलसीपुर र लमहीमा समेत डेङ्गुका बिरामी बढेको पाइएको छ। स्वास्थ्य कार्यालय दाङले दिएको जानकारीअनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा नौजना डेङ्गु सङ्क्रमित बिरामी फेला परेका छन् भने लमही अस्पतालमा चार जना फेला परेको स्वास्थ्य कार्यालय दाङका ल्याब टेक्निसियन अधिकृत देवीलाल डाँगीले जानकारी दिनुभएको छ। 

जिल्लामा अघिल्ला वर्षहरूभन्दा यस वर्ष धेरैमा डेङ्गु सङ्क्रमण भएको देखिएको छ। स्वास्थ्य कार्यालय दाङका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ७१, आर्थिक वर्ष २०७७/७८ मा १५, आर्थिक वर्ष २०७८/७९ मा छ जनामा सङ्क्रमण देखिएको थियो तर यस आर्थिक वर्षको दुई महिना नपुग्दै सङ्क्रमितको सङ्ख्या २५० भन्दा बढी पुगेको छ। 

यसैगरी बाँके समाचारदाता गोविन्द शर्माका अनुसार नेपालगञ्ज उपमहानगरपालिकामा पनि समुदायस्तरमा डेङ्गुका बिरामी भेटिएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाका कीटजन्य रोग सम्पर्क व्यक्ति तेज वलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरस्थित बसपार्क नजिकैका एक व्यक्तिमा डेङ्गु भएको पुष्टि भएको छ। 

सोमबारसम्म नेपालगञ्जस्थित सरकारी र निजी अस्पताल तथा प्रयोगशालामा भएको परीक्षण अनुसार ११ जनामा डेङ्गु देखिएको छ। जसमध्ये नेपालगञ्जका चार जना, कोहलपुरका दुई जना वैजनाथका एक जना र बर्दियाका चार जना रहेका छन्। 

“११ जनामा डेङ्गु भेटिएको भए पनि गणेशपुरमा लामो समय सहरभन्दा बाहिर ननिस्केका स्थानीयवासीमा डेङ्गु भेटिएपछि समुदायका अन्य व्यक्तिमा सर्न सक्ने जोखिम बढेको छ,” नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले भन्नुभयो, “डेङ्गुबाट बच्न सचेतनासहित लामखुट्टेका लार्भा र फुल नष्ट पार्ने कार्यक्रम सुरु गरेका छौँ।” 

उपमहानगरपालिका–५, गणेशपुरस्थित बसपार्क क्षेत्रमा रहेका टायर, पानीका बोतलभित्र जमेको पानीमा डेङ्गु सार्न सक्ने लामखुट्टेका लार्भा प्रशस्त मात्रामा फेला परेको स्वास्थ्य महाशाखा प्रमुख चन्दले जानकारी दिनुभयो। 

स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय बासिन्दासहितको टोलीले सोमबारदेखि गणेशपुर क्षेत्रमा डेङ्गुबाट बच्न अपनाउनुपर्ने सचेतनाका लागि प्रचारात्मकसहित लामखुट्टेका लार्भा र फुल नष्ट गर्ने अभियान सुरु गरेको छ। 

एडिस जातको लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा प्रभावकारी हुने स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग सम्पर्क व्यक्ति दुर्गा गौतमले जानकारी दिनुभयो। एडिस लामखुट्टे जमेको सफा र थोरै पानीमा बस्ने भएकाले पानी जम्ने टिन, प्लास्टिकका डब्बा र बोतल, गमला, फूलदानी, कुलर पानीको ट्याङ्की, टायरलगायतमा पानी खाली गर्नुपर्ने गौतमले बताउनुभयो। वडा नम्बर ४ का वडाध्यक्ष गोपाल पुनले वडामा समुदायस्तरमा डेङ्गु देखिएपछि वडाभर सचेतना अभियान सुरु गरिएको जानकारी दिनुभयो।  

यसैगरी बर्दिया समाचारदाता मुकुन्द सुवेदीका अनुसार बर्दियामा डेङ्गु रोग फैलिँदै गएको छ। जेठ महिनायता मात्रै २७ जना डेङ्गुका बिरामी फेला परेका छन्। स्वास्थ्य कार्यालय बर्दियाले ज्वरो आएर जाँच गराउन अस्पताल पुगेकामा परीक्षण गर्दा २७ जनामा डेङ्गु रोग देखिएको जनाएको छ।

जिल्लाका सबैजसो पालिकामा यो रोगका बिरामी फेलापरेका छन्। ज्वरो आएर उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज र बर्दिया अस्पतालमा पुगेकामा डेङ्गु पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनुभयो। उहाँले एकै क्षेत्रमा धेरै जनामा डेङ्गु रोग पुष्टि भएको क्षेत्रमा ‘खोज र नष्ट गर’ भन्ने अभियान सुरु गरिएको उहाँले बताउनुभयो।

गत वैशाख मसान्तसम्म बर्दियामा ७९ जनामा डेङ्गु पुष्टि भएको थियो। स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी गुलरिया नगरपालिकामा डेङ्गुका बिरामी फेला परेका थिए। 

बर्दिया अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुभाष पाण्डेले डेङ्गु रोगको लक्षण तीनदेखि १४ दिनको अन्तरमा देखिने बताउनुभयो। डाक्टर पाण्डेले कडा ज्वरो आएमा वा शङ्का लागेमा डाक्टरको सल्लाह र जाँचबिना जथाभावी औषधि सेवन नगर्न आग्रह गनुभयो।