• ६ चैत २०८०, मङ्गलबार

ऐलानी जग्गामा विद्यालय र स्थानीयवासीको दाबी

blog

सर्लाही समाचारदाता

सर्लाही, भदौ २१ गते । सर्लाहीको उत्तरी भेगस्थित लालबन्दी नगरपालिका–१६, परवानीपुर चोकमा रहेको ऐलानी जग्गामा विद्यालय र स्थानीयले दाबी गर्दा विवाद बढेको छ। जग्गामा वर्षौंदेखि स्वामित्वको विषयलाई लिएर टकराव भइरहेको अवस्थामा अहिले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको फारम भर्ने बेला डिम जनता माध्यमिक विद्यालय वा स्थानीयवासीमध्ये कसले आफ्नो दाबी गर्दै फारम भर्ने भनेर विवाद उत्पन्न भएको हो। स्थानीयले आफूहरूले वर्षौंअघिदेखि त्यहाँ बस्दै आएकाले सो जग्गाको लालपूर्जाका लागि आफूहरूले फाराम भर्न पाउनुपर्ने माग गरेका छन्। 

विद्यालयको डिलमै रहेको ऐलानी जग्गामा स्थानीय अजय खड्का, जितबहादुर थापा, थमकुमारी भण्डारी, ज्ञानबहादुर खड्का, गोमा न्यौपाने, खुदिलविक्रम बस्नेत र इन्द्रबहादुर थापाका घर छन्। भूमि आयोगले १० वर्षदेखि निरन्तर बसोबास जसको छ, उसैले सो जग्गाको लालपूर्जाका लागि फाराम भर्न सक्ने भने पनि आफूहरूलाई सो जग्गा विद्यालयको रहेको भन्दै फाराम भर्नै नदिइएको स्थानीय अजय खड्काले बताउनुभयो। छेउछाउमा अरु जग्गा पनि ऐलानी रहेको र त्यसमा बसोबास गर्नेहरूलाई फाराम भर्न दिइएको तर आफूहरूलाई वडा कार्यालय पुग्दा फाराम भर्नै नदिएको खड्काले गुनासो गर्नुभयो। लालबन्दी नगरपालिकाको यसअघिको न्यायिक समितिले सो जग्गा विद्यालयको रहेको भन्दै घर भएकाहरूले त्यहाँ बस्न इच्छुक भए भाडा तिरेर बस्न सक्ने निर्णय गरेको थियो। 

सो निर्णयविरुद्धमा स्थानीयवासी सर्लाही जिल्ला अदालतमा पुगे। अदालतले न्यायिक समितिको निर्णयलाई उल्टाउँदै सो जग्गा ऐलानी रहेको फैसला सुनाएको थियो। स्थानीयले अदालतको फैसलाअनुसार ऐलानी जग्गा जसले भोगचलन गरेको हो, उसैले पाउनुपर्ने दाबी गरेका छन्। अहिलेको ऐनले पनि त्यही भन्ने उनीहरूको तर्क छ। स्थानीयले आफूहरूमाथि जनप्रतिनिधिले नै अन्याय गरेको दुःखेसो पोखेका छन्। गाउँमा एउटै प्रकृतिको जग्गामा अरु बस्न पाउने तर आफूहरूलाई बिल्लीबाठपार्ने नियतले सुकुम्बासीको फाराम भर्न नदिइएको उनीहरूको आरोप छ। 

लालबन्दी नगरपालिका–१६ का वडाध्यक्ष गणेशबहादुर थापाले स्थानीयले घर बनाएर बसेको जग्गा विद्यालयकै भएको दाबी गर्नुभएको छ। उहाँले आफूहरू सानै हुँदादेखि नै सो जग्गा विद्यालयकै रहेको देखेको तर्क गर्नुभयो। उहाँले विद्यालयको जग्गा भएकाले स्थानीयले भनेअनुसार जग्गाको लालपूर्जाका लागि उनीहरूलाई फाराम भराउन नसकिने बताउनुभयो। लालबन्दी नगरपालिका–१५ का वडाध्यक्ष गोरखबहादुर बलले धमाधम पक्की घर बन्न थालेपछि सो जग्गाबारे प्रहरीमा समेत उजुरी परेको र परवानीपुर प्रहरी चौकीमा सबै बसेर छलफल गर्दा स्थानीयहरू विद्यालयले गर्ने हरेक निर्णय मान्न तयार भएका बताउनुभएको छ। 

वडाध्यक्ष बलले पनि सो जग्गा विद्यालयकै भएको बताउनुभएको छ। यस्तै लालबन्दी नगरपालिकाको कार्यपालिका बैठकले पनि केही साताअघि सो जग्गा विद्यालयको रहेको भन्दै स्थानीयले भाडा तिरेको खण्डमा मात्रै त्यहाँ बस्न पाउने निर्णय गरेको पाइएको छ। 

लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारीले यसअघिकै जनप्रतिनिधिको पालामा सो प्रकारको निर्णय भएको र आफूहरूले पनि सोहीअनुसारको निर्णय गरेको बताउनुभएको छ। स्थानीयहरू फाराम भर्न पाउनुपर्ने माग गर्दै अहिले पनि लालबन्दी नगरपालिकाको न्यायिक समितिमा धाइरहेका छन्। लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिनले फाराम भर्न पाउनुपर्ने माग गर्दै स्थानीयहरू बारम्बार नगरपालिका कार्यालय आइरहेको जानकारी दिनुभयो। सात घरमध्ये केहीको त्यहाँमात्रै जग्गा रहेको र त्यहाँबाट उठाए समस्यापर्ने भन्दै गुनासो पोख्न आइरहेका उपप्रमुख पाख्रिनले बताउनुभयो। 

लालबन्दी नगरपालिकाका पूर्वनगरप्रमुख मानबहादुर खड्काले त्यसबेलाको न्यायिक समितिले विद्यालयको नाममा रहेको जग्गा भाडामा लगाउने निर्णय गरे पनि अदालतले निर्णय नै उल्टाइदिएको बताउनुभयो।