• ६ चैत २०८०, मङ्गलबार

सङ्ग्रहालयमा छैनन् सुरक्षाकर्मी

blog

कविराज घिमिरे

हिले, भदौ २१ गते । अनेकौँ अमूल्य वस्तु सङ्ग्रह गरी प्रदर्शनको लागि राखिएको सङ्ग्रहालय सुरक्षाको लागि सुरक्षाकर्मीको व्यवस्था हुनुपर्ने हो तर धनकुटामा भने अमूल्य वस्तुको सुरक्षा मात्र सीसी क्यामराको भरमा छ। धनकुटास्थित प्रदेश सङ्ग्रहालयमा विभिन्न अमूल्य वस्तुसहित करोडौँ रुपियाँ बराबरका विभिन्न जातिगत गरगहना सङ्ग्रह गरिएको छ। 

यो सङ्ग्रहालय २०३९ सालमा निर्माण गरी ०५१ सालबाट सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको हो। ०५१ सालमा एक ग्यालरीमात्र थियो तर पछि २०६७ सालमा विभिन्न जातजातिको बहुमूल्य गरगहनासहित दोस्रो निर्माण गरियो। सुरक्षाको कारण देखाउँदै दोस्रो ग्यालरी लामो समयसम्म सञ्चालन गरिएन। विभिन्न निकायमा सुरक्षाकर्मीको माग गर्दा उपलब्ध हुन नसकेपछि २०७४ सालमा सीसी क्यामरा जडान गरियो र दोस्रो ग्यालरी पनि सर्वसाधारणको लागि खुला गरियो। 

पहिलो ग्यालरीमा साविकको पूर्वाञ्चल विकास क्षेत्रमा बसोबास गर्ने बातर, लेप्चा, मेचे, धिमाल, राजवंशी, लिम्बू, थारू, झागड, शेर्पा, सतार, आठपहरिया, राईलगायतका जातिको पहिरन, बाजागाजा, जातीय हतियारलगायतका वस्तु सङ्ग्रहित छन्। त्यस्त दोस्रो ग्यालरीमा ती जातजातिका बहुमूल्य गरगहना सङ्ग्रहित गरी प्रदर्शनमा राखिएको छ। ती बहुमूल्य गरगहना तथा अमूल्य वस्तुहरू सीसी क्यामरा र कर्मचारीकै मात्र सुरक्षाको भरमा राखिएको कार्यालय प्रमुख चन्द्र अधिकारी बताउनुहुन्छ। 

सङ्ग्रहालयमा सुरक्षाका लागि कार्यालयले कुनै पहल नै नगरेको भने हैन । दोस्रो ग्यालरी निर्माण गरिएसँगै सुरक्षाको आवश्यकता महसुस गरी पुरातत्व विभागको आर्थिक सहयोगमा एक हवल्दार र तीन प्रहरी जवानको लागि सेन्ट्री पोस्ट आवास भवनसहितको पूर्वाधार निर्माणसमेत गरिएको छ। 

पटक–पटक सुरक्षाकर्मीको माग गर्दासमेत पुरातत्व विभागले सुरक्षाकर्मी उपलब्ध गराउन सकेको छैन। सुरुमा पुरातत्व विभागअन्तर्गत रहेको यो सङ्ग्रहालय अहिले प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको मातहतमा पुगेको छ। जसको कारण सुरक्षाको प्रबन्ध मिलाउन थप समस्या भएको अधिकारीको भनाइ छ। “पटक–पटक माग ग-यौँ सेन्ट्री पोस्ट र सुरक्षाकर्मीलाई आवासको लागिसमेत व्यवस्था ग-यौँ तर कतैबाट सुरक्षाकर्मी पाइएन,” अधिकारी भन्नुहुन्छ। 

पुरातत्व विभागले होस् वा प्रदेश एक अन्तर्गतको सामाजिक मन्त्रालयले होस्, चाँडोभन्दा चाँडो प्रदेश सङ्ग्रहालयमा थप सुरक्षाको प्रबन्ध गर्न स्थानीयको माग रहेको स्थानीय रोशन श्रेष्ठ बताउनुहुन्छ।